विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहालमाथि कोलोमोसो दलेको घटनामा संलग्न नेपाल विद्यार्थी संघ (नेविसंघ) मोरङका सभापति सरोज पोखरेललाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरी प्रहरिले बुधबार विहान मोरङको बूढीगंगा क्षेत्रबाट पक्राउ गरेको हो ।

आवश्यक अनुसन्धान एवं कारबाही अघि बढाउन प्रहरीले उनलाई पक्राउ गरी सुनसरीतर्फ लिएर गएको छ । सुनसरी प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले कालोमोसो दलेको घटनाको नेतृत्वकर्ता पोखरेललाई पक्राउ गरिएको जानकारी दिए ।
‘विश्वविद्यालय सेवा आयोगका अध्यक्षमाथि १०–१५ जनाको समूहले कालोमोसो दलेको घटना सार्वजनिक भएपछि विभिन्न कोणबाट अनुसन्धान सुरु गरिएको छ । समूहको नेतृत्व गर्ने व्यक्तिलाई नियन्त्रणमा लिइसकिएको छ,’ ढकालले भने, ‘अन्य व्यक्तिलाई पनि पक्राउ गर्न प्रहरी टोली परिचालित छ । कालोमोसो दल्नेजस्तो अमानवीय घटनामा संलग्नविरुद्ध कानुन अनुसार कारबाही अघि बढ्छ ।’

विश्वविद्यालय सेवा आयोगको कार्यालयले घटनामा संलग्नविरुद्ध मंगलबार सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीमा किटानी जाहेरी दिएको थियो । पक्राउ परेका पोखरेलसहित ३ जनाको नाममा किटानी जाहेरी परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा १०–१५ जना संलग्न रहेको भनेर जाहेरीमा उल्लेख गरिएको छ । उदण्ड एवं अमानवीय घटनामा संलग्न सबैको पहिचान भइसकेको र खोजी तीव्र पारिएको जानकारी प्रहरीले दिएको छ ।

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष दाहालमाथि गत सोमबार बिहान ९ः३० बजेतिर कालोमोसो छ्यापिएको थियो । नेपाली कांग्रेसको भातृ संगठन नेविसंघको नाम लिँदै पुगेको समूहले इटहरी उपमहानगरपालिका–२ स्थित निवासबाट बाहिर बोलाएर दाहालको अनुहारमा मोसो खन्याइदिएको हो । कार्यालय जाने तयारी गर्दै गरेका बेला निवासमा पुगेर दाहालमाथि अमानवीय हिसाबको दुव्र्यवहार गरिएको प्रहरीको भनाइ छ ।

हुलहुज्जतसहित प्राज्ञिक व्यक्तित्वमाथि अमानवीय व्यवहार र अपमानजनक घटना गराइएको भन्दै नेविसंघको चौतर्फी आलोचना भइरहेको छ । सेवा आयोगको विज्ञापन रद्ध गर्नुपर्ने माग राख्दै आयोगको कार्यालयमा गत पुसमा नेविसंघको नाममा ताला लगाइएको थियो । कांग्रेसकै अगुवाईमा केही दिनअघि ताला खोलियो । दाहालमाथि मोसो दल्ने समूह भने आफूहरुलाई जानकारी नदिइकन र वार्तामा नबोलाइकन ताला खोलिएको भन्दै असन्तुष्ट थियो ।

सेवा आयोगले विद्यार्थी संगठनका नाममा राखिएको माग पूरा गर्ने अधिकार आफूसँग नभएको स्पष्ट पारिसकेको छ । तर, शैक्षिक एवं प्राज्ञिक थलोलाई अस्थिर बनाउने तथा अघि बढ्न नदिने हिसाबमा तालाबन्दी गर्ने र आयोगका अध्यक्षमाथि मोसो दल्नेसम्मका हर्कत विद्यार्थी संगठनका नामबाट भइरहँदा राज्य मौन रहेको भन्दै तीव्र विरोध भइरहेको छ । अमानवीय हर्कत गरेको भन्दै नेविसंघविरुद्धको आलोचना चुलिएको छ । यस्ता घटनाले दण्डहिनता मौलाउने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

सेवा आयोगका अध्यक्ष दाहाल कार्यालयमा नभेटिएपछि निवासमा पुगेर मोसो दलिएको दाबी नेविसंघले गर्दै आएको थियो । तर, नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति जारी गर्दै घटनाको जिम्मेवारी नेविसंघले नलिने स्पष्ट पारिसकेका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै उनले कालोमोसो दलिएको घटनालाई अमानवीय भनेका छन् । उनले गलत हर्कतमा संलग्न जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउन गृह मन्त्रालय र विश्वविद्यालय प्रशासनसँग माग गरेका छन् ।