विराटनगर । विराटनगर–१४ स्थित साविकको विराट साइन्स कलेज रहेको स्थानमा सञ्चालित निःशुल्क ट्युसन सेन्टरका विद्यार्थीका लागि विराटनगर महानगरपालिकाले शैक्षिक सामग्री प्रदान गरेको छ ।
हाल मनमोहन प्राविधिक विश्वविद्यालयको सम्पर्क कार्यालय रहेको भवनमा शैक्षिक अभियन्ता धर्मप्रकाश मण्डलको अगुवाइमा स्थानीय विद्यार्थीहरुका लागि निःशुल्क ट्युसन पढाउने व्यवस्था मिलाइएको छ । मण्डलले वडा नम्बर ८ र १४ का विद्यार्थीहरुलाई लक्षित गरेर सुरु गरेको ट्यूसन सेन्टरमा हाल ४ सयभन्दा बढी विद्यार्थीहरु अध्ययन गर्ने गरेका छन् । महानगरपालिकाकी उपमेर शिल्पा निराला कार्कीले स्थानीय धर्मप्रकाश मण्डलको नेतृत्वमा स्थानीय विद्यार्थीलाई निःशुल्क ट्युसन पढाइरहेको थाहा पाएपछि महानगरका तर्फबाट विभिन्न शैक्षिक सामग्री प्रदान गरिएको जानकारी दिइन् ।
‘धर्मप्रकाश मण्डलले स्थानीय बालबालिकाहरुका लागि निःशुल्क ट्यूसन पढाइरहेको हामीले थाहा पायौं, उहाँहरुलाई हौसना प्रदान गर्न महानगरका तर्फबाट केही शैक्षिक सामग्री प्रदान गरेका छौं,’ उपमेयर कार्कीले भनिन
।
महानगरका तर्फबाट शैक्षिक सामग्रीसँगै विपन्न विद्यार्थीका लागि चप्पलका साथै डस्टबिनसमेत प्रदान गरिएको थियो । ७ जना विद्यार्थीबाट सुरु गरेको ट्यूसन सेन्टरमा हाल ४ सयभन्दा बढी विद्यार्थी अध्ययन गर्ने गरेको अभियन्ता मण्डलले बताए । कक्षा १ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीलाई ११ जना शिक्षकले निःशुल्क ट्युसन पढाइरहेको बताए ।
गत वैशाख १७ गतेदेखि सञ्चालित सेन्टरमा दिन प्रतिदिन विद्यार्थीको संख्यासमेत बढ्दै गएको बताए । निःशुल्क ट्युसन पढ्न पढ्न पाएपछि विद्यार्थीसमेत खुसी देखिएका छन् । महानगरका १९ वटै वडामा निःशुल्क ट्युसन सेन्टर सञ्चालनमा ल्याउने योजना रहेको अभियन्ता मण्डलले जानकारी दिए ।