विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशको नाम कोशी नामकरणको विरोध गर्दै आएको प्रदेश नं. १ पुनः नामकरण संयुक्त संघर्ष समितिलाई वार्तामा बोलाएको छ ।

मन्त्री तिलकुमार मेन्याङ्बो लिम्बूको संयोजकत्वमा गठित वार्ता टोलीको आज बसेको बैठकले आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको हो । समितिमा मेन्याङ्बोसहित प्रदेश सरकारका मन्त्रीद्वय भक्तिप्रसाद सिटौला र बुद्धिकुमार राजभण्डारी सदस्य छन् ।

‘कोशी प्रदेश नामाकरण भएपछि नामकरणका विषयमा केही समयदेखि असन्तुष्टि र विरोधका घटना हुँदै आएकोले प्रदेश नामकरणका सम्बन्धमा असन्तुष्ट पक्षसँग वार्ता र संवादको माध्यमबाट समस्याको समाधान खोज्ने प्रयोजनका लागि प्रदेश सरकार, कोशी प्रदेश मन्त्रीपरिषदको मिति २०८०।०२।२४ गतेको निर्णय अनुसार निम्न अनुसार वार्ता समिति गठन भएको व्यहोरा जानकारी गराउँदछु,’ वार्ता समितिलाई उधृत गर्दै मुख्यमन्त्री कार्यालयका शाखा अधिकृत सुवास श्रेष्ठले आव्हान गर्दै पत्र लेखेका छन्, ‘साथै उल्लेखित वार्ता टोलीको मिति २०८०।०२।२९ गते बसेको बैठकबाट आन्दोलनरत संयुक्त संघर्ष समितिसँग वार्ता एवम् संवाद गर्ने निर्णय भए अनुसार वार्ताको लागि आव्हान गरिएको व्यहोरा आदेशानुसार अनुरोध छ ।’