विराटनगर । नेपालमा यस वर्षको मनसुनबाट १२ लाख ५४ हजार भन्दा बढी नागरिक प्रभावित हुने अनुमान गरिएको छ ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले पूर्व सूचना तथा पूर्व कार्यका लागि देशका ३४ स्थानमा स्मार्ट साइरन जडान, विपद् सामूहिक उद्धार सवारी तथा (ए क्लास)एम्बुलेन्सहरू खरिद गरी सात वटै प्रदेश र काठमाडौँ उपत्यकामा एक–एकवटा एम्बुलेन्स रहने व्यवस्था मिलाइएको जानकारी दिए ।
त्यसैगरी भण्डारण गरिएका आपत्कालीन उपकरण र सामग्रीको जानकारी उपलब्ध हुने (गोदाम)स्रोत व्यवस्थापन प्रणाली र खोज तथा उद्धारमा संलग्न हुने स्वयंसेवकहरूको विवरण उपलब्ध हुने स्वयंसेवक व्यवस्थापन प्रणालीका बारेमा पनि उल्लेख गरे । स्वयंसेवक प्रणालीमा हालसम्म एक लाख ४२२ जना स्वयंसेवक सूचीकृत भइसकेको प्राधिकरणले जनाएको छ।
राष्ट्रिय कार्ययोजनामा सङ्घीय मन्त्रालय तथा निकायहरू र केन्द्रीय विषयगत क्षेत्रको मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्य योजना, जिम्मेवार मन्त्रालय तथा विभागहरू र सुरक्षा निकायहरूको जिम्मेवारीका साथै आपत्कालीन अवस्थामा विषयगत क्षेत्रको सम्पर्क विवरणहरू पनि उल्लेख गरिएको छ ।
प्राधिकरणका अनुसार कोशी प्रदेशमा ३,०१,१४३ घरधुरीका ६८,९११ नागरिक प्रभावित हुने अनुमान छ । यस्तै मधेस प्रदेशमा ४,०३,१८० घरधुरीका ९२,२६१, बागमती प्रदेशमा ९६,८५८ घरधुरीका २२,३९३, गण्डकी प्रदेशमा ६९,७४४ घरधुरीका १५,९६०, लुम्बिनी प्रदेशमा १,९९,८६२ घरधुरीका ४५,७३५, कर्णाली प्रदेशमा ३५,३३३ घरधुरीका ८,०८५ र सुदूरपश्चिम प्रदेशमा १,४७,०६० नागरिक गरी कुल १२ लाख ५४ हजार १८१ नागरिक प्रभावित हुने प्राधिकरणको अनुमान गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्षको मनसुनमा देशैभरि कम पानी पर्ने प्रक्षेपण गरिएको छ । सरदरभन्दा कम पानी पर्ने भएकोले विगत भन्दा न्यून तापक्रम हुने अनुमान पनि गरिएको छ ।
नेपालमा सामान्यतया जेठ अन्तिम साताबाट मनसुन प्रवेश गर्दछ । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमल राम जोशीले यस वर्षको मनसुन जेठ ३१ वा ३२ गते पूर्वबाट प्रवेश गर्ने सम्भावना रहेको बताए । नेपालमा मनसुन सरदर एक सय दिन क्रियाशील हुने गरेको छ ।
नेपालमा बाढी, पहिरो र भारी वर्षा प्रमुख मनसुनजन्य विपद् हुन् । यसका साथै मनसुनको अवधिमा झाडापखाला, हैजा जस्ता पानीजन्य रोग, सर्प दंश, डेंगु, मलेरियाजस्ता किटजन्य प्रकोप बढ्ने गर्छन् । नेपालमा मनसुनजन्य विपद्ले नै धेरै नागरिकलाई प्रभावित गर्छ र सबैभन्दा धेरै आर्थिक क्षति पनि निम्त्याउँछ ।
विगतका तथ्यांकअनुसार मनसुनबाट पहिरोको उच्च जोखिममा रहेका जिल्लाहरूमा इलाम, पाँचथर, धनकुटा, तेह्र्थुम, ओखलढुंगा, ललितपर, नवुाकोट, धादिङ, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, बागलुङ, प्यूठान, रोल्पा, रूकुम पश्चिम, दैलेख, अछाम र बैतडी छन् ।
बाढीबाट प्रभावित हुने जिल्लाहरूमा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, परासी, रुपन्देही, कपिलवस्तु, दाङ्, बाँके, बर्दिया, सुर्खेत, कैलाली र कञ्चनपुर छन् ।
मनसुनजन्य विपद् जोखिमको प्रभावकारी प्रतिकार्यका लागि सबै सुरक्षा निकाय अन्तर्गतका खोज उद्धार जनशक्ति र विभिन्न निकाय अन्तर्गत रहेका विपद् उद्धार तथा राहतसँग सम्बन्धित स्रोत साधन यन्त्र उपकरण सात वटै प्रदेशमा तयारी अवस्थामा राखिएको छ ।
बैठकले तातो हावाको लहरबाट प्रभावितहरूलाई सहयोग पुर्याउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सङ्घीय निकायहरू, प्रदेश सरकार, स्थानीय तह तथा संघसंस्थासँग आवश्यक समन्वय गर्ने जिम्मेवारी पनि तोकेको छ ।

