विराटनगर । यात्रुवाहक बसमा आगजनी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । मोरङको उर्लाबारी नगरपालिका – ३ नयाँ मंगलबारे सडक खण्डमा यात्रुवाहक बसमा आगजनी गरेको आरोपमा प्रहरीले शनिवार पाँच जनालाई पक्राउ गरेको हो ।
जेठ २५ गते यात्रुवाहक बसले ठक्कर दिएर एक जना स्कुटर चालकको मृत्यु भएको थियो । सवारी दुर्घटनामा परी मृत्यु भएपछि आक्रोशित समूहको भिडले मे १ ख ३०७३ नम्बरको बस आगजनी गरिदिएका थिए ।
पक्राउ पर्नेहरूमा मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं.१ का १८ बर्सिया प्रज्वल भन्ने गोकुल भण्डारी, पथरी शनिश्चरे नगरपालिका वडा नं.४ सम्झना चोक बस्ने वर्ष २८ का जीवन थापा, पथरी शनिश्चरे नगरपालिका वडा नं.९ गिरि टोल बस्ने वर्ष २० को मानव भन्ने अनमोल राई, पथरी शनिश्चरे नगरपालिका वडा नं.२ नवज्योति बस्ने वर्ष २० को आयुस रिजाल र पथरी शनिश्चरे नगरपालिका वडा नं.२ देविगन्ज बस्ने वर्ष २० को गोरे भन्ने मोहन कुमार मगर रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
उनीहरूलाई आपराधिक उपद्रब कसुरमा मोरङ जिल्ला अदालतबाट आइतबार ७ दिनको म्याद थप भई थप अनुसन्धानको कार्य भई रहेको डिएसपी दाहालले बताए ।
उर्लाबारीको मंगलबारे स्थित सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख ३०७३ नम्बरको यात्रुवाहक बसले विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश नं.०१–०१–०१३ प २९० नं.को स्कुटरलाई अगाडीबाट ठक्कर दिँदा स्कुटर चालक झापा कमल गाउँपालिका वडा नं–२ बस्ने वर्ष ३३ का पवन सुबेदीको उपचारको क्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारे मृत्यु भएको थियो । प्रहरीले बस चालक झापा कनकाई नगरपालिका वडा नं.–३ बस्ने वर्ष ३२ का टंक प्रसाद सुबेदीलाई नियन्त्रणमा लिएर सवारी ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गर्दै आएको छ ।

