विराटनगर । विराटनगर दुग्ध वितरण आयोजना (डिडिसी) ले प्याकेजिङ्ग गरी बजार पढाएको पनिर म्याद गुज्रिएको भेटिएको छ ।अनुगमनको क्रममा आज विराटनगरको एक पसलबाट म्याद गुज्रेको पनिर फेला परेको हो ।
चिकित्सकका अनुसार म्याद सकिएको पनिर स्वास्थ्यको लागि हानिकार मानिन्छ । तर, डिडिसीले भने उपभोक्ताको स्वास्थ्यमाथि खेलाँची गर्दै म्याद गुज्रिएको पनिर बजारमा पढाउने गरेको भेटिएको हो ।
९ महिना अगाडी म्याद गुज्रिएको पनिर विराटनगरको महेन्द्र चोकमा रहेको पवित्र डेरीमा शुक्रवार भेटिएको छ । विराटनगर – ६ का टङ्क बरालले डिडिसीले उत्पादन गरेको पनिर राम्रो हुने विश्वासले प्रतिकेजी ४५५ रुपैयाँले दुई केजी किनेर घर लगे । घरमा कार्जे भएको कारणले अरू बेलाको भन्दा उनले धेरै परिमाणमा पनिर लगेका थिए । ‘घर लैजानै बित्तिकै पनिर फ्यात्त भयो । गन्ध पनि आउन थाल्यो । अरू बेलाको पनिर यस्तो हुँदैन थियो । त्यसपछि शङ्का लागेर मिति हेर्दा ९ महिना अगाडी म्याद गुज्रेको पनिर रहेछ,’ उनले भने ।
पनिरको उपभोग्य मिति तीन महिनाको हुने गरेको छ । डिडिसले बजार पढाएको पनिर ९ महिना अगाडी म्याद सकिएको भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका खाद्यन्य अनुसन्धान अधिकृत शङ्कर न्यौपानेले बताए । डिडिसीले बजारमा पढाएको पनिरको उत्पादन मिति २०७९ जेठ ३ गते रहेको छ । यसको सकिने म्याद २०७९ भदौ ३ गते हो । तर, उपभोग्य मिति सकिएको ९ महिना पछिसम्म पनि उपभोक्ताको स्वास्थ्य माथि खेलबाड गर्दै म्याद गुज्रेको पनिर पढाउने गरेको उपभोक्ता युवराज बरालले बताए । यसरी म्याद गुज्रेको पनिर बजार पढाउने डिडिसीलाई कडा कारबाही हुनुपर्ने उनले बताए । ‘उपभोक्ताको स्वास्थ्य माथि डिडिसीले खेलबाड गरेको छ,’ उनले भने, ‘हामीले गन्ध आएपछि थाहा पायौँ । नभए कार्जेमा आएका सयौँ मानिसले उपभोग्य मिति सकिएको पनिर खाएर बिरामी हुने थिए । त्यसैले यस्तो गम्भीर लापरबाही गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्दछ ।’
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख राजकुमार रिजालले म्याद सकिएको पनिर नष्ट गरी स्याम्पल कलेक्सन गरी नमुना परीक्षणको लागि ल्याबमा पठाएको बताए । ‘ल्याब परीक्षण रिपोर्टपछि अखाद्य भेटिए डिडिसीलाई कारबाहीको दायरमा आउनेछ,’ उनले भने, ‘यसको रिपोर्ट चाँडै आउनेछ ।’ लेबलिङमा कैफियत भेटिएकोले लेबल सम्बन्धीको कारबाही जिल्ला प्रशासन कार्यालयमा मोरङमा चलाउने उनले बताए । ‘अहिले लेबलिङको स्थानीय प्रशासन चल्ने गरेको छ । खाद्यसँग सम्बन्धित कैफियत भेटिए अदालतमा अभियोग लैजाने गरिएको छ,’ कार्यालय प्रमुख रिजालले भने ।

यता विराटनगर दुग्ध वितरण आयोजना प्रमुख परमेश्वर चौधरीले लेबलमा समस्या भएको बताए । ‘प्याकेजिङ्गको क्रममा पुरानो उत्पादन मिति लगाएको हो । यो भुल बस त्रृटी हुन गयो,’ उनले भने, ‘प्याकेजिङ गरेको पनिरमा हावा लिकेज भयो भने गन्ध आउने गर्दछ ।’ विराटनगर डिडिसीबाट हप्ताको २ सय केजी पनिर उत्पादन हुने गरेको कार्यालय प्रमुख चौधरीको भनाई छ । यहाँबाट उत्पादन हुने पनिर सुनसरी धरान, इटहरी, इनरुवा, मोरङको विराटनगर, उर्लाबारी, बेलबारीलगायतको सहरहरूमा बढी खपत हुने गरेको छ ।

