इटहरी । सुनसरीको इटहरी प्रादेशिक रंगशालामा मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ नेपालको राष्ट्रिय खेल भलिबल भन्ने नाराका साथ यही जेठ २९ गतेदेखि ३२ गतेसम्म मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०८० हुने भएको हो । प्रतियोगिता रात्रिकालीन हुने कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेले बिहीवार इटहरीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

रंगशालामा फ्लड लाइट जडान गरिएपछि रात्रिकालीन प्रतियोगिता गराउन सहज हुनेछ । फ्लड लाइट जडान गर्न यसै वर्षबाट काम सुरु भएको थियो । रंगशालाको दुई वटा कुनामा लाइट जडान गरिएको छ । जडान गरिएको उक्त लाईटको राति परिक्षण समेत गरिएको छ ।रंगशालामा लाइट जडानका लागि कोशी प्रदेश सरकार खेलकुद बिकास बोर्डले चालु आर्थिक वर्षमा ८० लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो ।
कोशी प्रदेश खेलकुद बोर्डको आयोजना र जिल्ला भलिबल संघ सुनसरीको संयोजनमा हुने प्रतियोगितामा कोशी प्रदेश खेलकुद विकास बोर्ड, प्रदेश खेलकुद विकास परिषद् बागमती हेटौडा, प्रदेश खेलकुद परिषद लुम्बिनी, बुटबल, नेपाल पुलिस क्लब महाराजगंज, काठमाडौं, नेपाल आर्मी क्लब लगनखेल, काठमाडौं, नेपाल ए.पि.एफ, क्लब हलचोक, काठमाडौंले प्रतिस्पर्धा गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगितामा प्रथम हुने टिमले ३ लाख, द्वितीय हुनेले १ लाख ५० हजार पुरस्कार पाउनेछन् । त्यसैगरि सर्वोकृष्ट खेलाडीले ५५ हजार, वेष्ट स्पाइकर, ब्लकर, सर्भर, सेटर, डिफेण्डरले पनि १५ हजार पुरस्कार पाउने पत्रकार सम्मेलनमा बताइयो ।