विराटनगर । विराटनगर घर भएकी २२ वर्षीया किशोरीलाई जवरजस्ती बलत्कारको प्रयास गरेको आरोपमा उच्च अदालत जनकपुरको विरगन्जका शाखा अधिकृत पक्राउ गरेका छन् । विराटनगर १ पोखरीया घर भएका ४८ वर्षीया नारायण प्याकुरेललाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका प्याकुरेलले मदिरा सेवन गरेर विराटनगरका एक जना २२ वर्षीया किशोरीलाई बलात्कारको प्रयास गरेको आरोप लागेको छ । उनले ती किशोरीलाई रातीको समयमा घरमा पुगेर एक हप्ता अगाडि बलात्कारको प्रयास गरेको आरोप लागेको हो । प्रहरीले प्याकुरेललाई बुधबार पक्राउ गरी जवरजस्ती करणी उद्योगमा पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।

जवरजस्ती करणी उद्योगमा पक्राउ परेका प्याकुरेल विवादित व्यक्ति हुन् । यसअघि पनि उनी विवादमा परेर कारवाहीमा परेका व्यक्ति हुन् । २०६३ सालमा सोलु जिल्लामा प्याकुरेल नासु हुँदा कारवाहीमा परेका थिए । त्यसबेलामा अदालतका कर्मचारीलाई दुव्र्यवहार गरेको आरोप लागेको थियो । त्यसपछि सर्वोच्च अदालतले कारवाही गरेर प्याकुरेललाई सोलु जिल्ला अदालतबाट मुगु जिल्ला अदालतमा सरुवा गरेको थियो ।

त्यसपछि उच्च अदालत राजविराजमा सरुवा भएको थियो । त्यहाँ पनि प्याकुरेलले उच्च अदालत राजविराजको प्रशासन शाखाको अधिकृत हरिशंकर महतोमाथि कुटपिट गरेका थिए । महतोलाई कुटपिट गरेपछि सर्वोच्च अदालतले प्याकुरेलको काज सरुवा उच्च अदालत विरगन्जमा गरेको थियो ।