पुण्य पी अधिकारी
तराईमा अत्यधिक गर्मी बढेको छ । जसका कारण अहिले स्थानीय सरकारहरूले आफ्नो अधिकार प्रयोग गरी सामुदायिक वा नीजि विद्यालयमा सार्वजनिक बिदा दिएका छन् । कतिपय स्थानीय तहले बर्खे बिदाबाट कट्टी हुने गरी बिदाको व्यवस्थापन मिलाएका छन् । अत्यधिक गर्मीका कारण ५० देखि ७० प्रतिशत बालबालिकामा भाइरल ज्वरो, रूघाखोकी, छिनमै ज्वरो आउने, झापापखाला तथा वान्ता जस्ता समस्या देखिएका छन् ।
अत्यधिक गर्मीका कारण जनजीवन नै प्रभावित छ । यस्तो अवस्थमा बालबालिकाको विशेष ख्याल राख्नु पर्ने बाल स्वास्थ्य विज्ञहरूले परामर्श दिएका छन् । बालबालिकाको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी बिहानी सत्रमा कक्षा सञ्चालन गर्न समेत स्थानीय सरकारहरुले अनुरोध गरेका छन् । कतिपय स्थानीय तहहरूले विद्यालयलाई सहज हुने गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्न र विद्यालय बिदाका लागि अनुरोध गरेका छन् ।
गर्मीको समयमा बालबालिकालाई सुरक्षित राख्नका लागि विद्यालय बिदाको अनुरोधलाई अटेर गर्ने विद्यालयहरुलाई स्थानीय तहरुले कारबाहीको गर्न थालेका छन् । स्थानीय सरकारले दिएको बिदालाई लिएर अहिले सामाजिक सञ्जालमा विरोध र समर्थनका उत्तिकै देखिन थालेका छन् । कतिपयले बालबालिकाको पढाई नै खत्तम भएको भन्दै विरोध गरेका छन् भने कतिपयले गर्मीको समयमा बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गरी दिइएको बिदामा समर्थन जनाएका छन् ।
कोभिडको समयमा दुई वर्ष बढी विद्यालय बन्द गरिए । त्यो बेला अभिभावकलाई बालबालिकाको पढाई छुटेको विषयले अहिले भन्दा कम नै सताएको थियो । अहिले तिनै अभिभावक गर्मीमा दिएको बिदाको उग्र विरोध गरीरहेका छन् । कतिपयले तत्काल भौतिक संरचना निर्माण गरी पठनपाठन गर्न आग्रह गरेका छन् ।
केही अपवाद बाहेक नीजि विद्यालयको भौतिक संरचना कमजोर नै छन् । तर बालबालिकाको चाप भने नीजि विद्यालयमा बढी छ । नीजि विद्यालयमा संरचना कमजोर भएका कारण अधिकांश विद्यालय जस्ताका पाता छाना भएका विद्यालय छन् । त्यस किसिमका विद्यालयमा बालबालिका गर्मीका कारण सबैभन्दा बढी प्रताडित छन् ।
बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गरी दिइएको बिदामा अभिभावकहरुले विरोध जनाउन त्यति उपयुक्त छैन । बिदाका कारण बालबालिकाको पढाइ प्रभावित विषयमा विद्यालय र अभिभावकहरुले साझा सममतिका आधारमा बालबालिकाको स्वास्थ्यलाई ख्याल गरी बिहानी सत्रमा कक्षा सञ्चालन गर्नु नै हालका दिनमा उपयुक्त हुने देखिन्छ ।