केही नयाँ गर्ने प्रयत्न गरें, भ्रष्टाचारको गन्ध आएन

 जीवन आचार्य

आम निर्वाचनपछि मलाई निर्वाचित गर्नुहुने आम मतदाताहरुको न्यानो माया, सद्भाव र भरोसा बोकेर मैले नेकपा (माओवादी केन्द्र) को निर्णयबमोजिम प्रदेश सरकारमा पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी बहन गर्ने अवसर प्राप्त गरेको थिएँ । निर्वाचनका बेला जनतासँग प्रत्यक्ष संवाद गर्ने क्रममा हाम्रो प्रदेशलाई समृद्ध र नमूना प्रदेशका रुपमा विकास गर्ने हुटहुटीले मैले व्यक्त गरेका प्रतिबद्धताहरु पूरा गर्नुपर्ने मेरा सामु गहन जिम्मेवारी र चुनौतीहरु थिए । सोही जिम्मेवारीबोधले मैले जनताको अपेक्षा अनुरुप जिम्मेवारीमा रहुन्जेल अहोरात्र काम गर्ने प्रयत्न गरेको छु । जुन कुरा तपाईँहरुको स्मरणमा छ भन्ने विश्वास लिएको छु ।

मन्त्री पदको शपथ लिँदै गर्दा मेरा केही मान्यता र अठोट थिए । मैले भ्रष्टचारमा शून्य सहनशीलताको नीति अपनाउँदै पारदर्शी ढंगले काम गर्ने, आफ्नो पूर्ण समय मन्त्रालयका काममा लगाउने, अनावश्यक कार्यक्रम भन्दा जनतासँग प्रत्यक्ष जोडिने र योजनाबद्धरुपमा प्रदेशको विकासका लागि भूमिका निर्वाह गर्ने संकल्प गरेको थिएँ । म आफ्नो प्रतिबद्धता र संकल्पमा कति खरो उत्रिएँ या उत्रिन सकिन भन्ने मूल्यांकन गर्ने जिम्मेवारी यहाँहरुलाई नै छोड्न चाहन्छु ।

आज गर्वका साथ शिर ठाडो पारेर भन्न सकिन्छ, मैले नेतृत्व गरेको मन्त्रालयमा भ्रष्टाचारको कुनै पनि गन्ध आएन, आउन पाएन । यसका लागि हामी मातहतका सचिवालयका साथीहरु, जनसमुदायले प्रकट गर्नुभएको शुभेच्छा र कर्मचारी साथीहरु सबै धन्यवादका लायक छन् ।मेरा सुरुआती दिनहरु मन्त्रालयको काम कार्यवाहीको समीक्षामा बित्यो । यसका लागि मैले प्रदेशका सम्बन्धित कार्यालयको निरीक्षण, संचालन भइरहेका योजनाहरुको प्रगति, कर्मचारीको रिपोर्टिंग र जनगुनासो सुन्न हरेक ठॉऊ पुग्ने प्रयास गरें । के कारणले ढिलासुस्ति हुने रहेछ र के कारणले बजेटमा विनियोजन भएका कार्यक्रमहरु पनि कार्यान्वय हुन नसक्दा रहेछन् भन्ने कुरामा मैले बढी ध्यान केन्द्रीत गरेँ ।

सुरुआती अध्ययनपछि मैले केहि मन्त्रिस्तरीय निर्णय गरेँ । समग्र पर्यटन विकासका लागि आयोजनाहरु सम्झौता गर्न मन्त्रालयमै धाउनु पर्ने बाध्यताको अन्त्य गरि सम्बन्धित जिल्लामै रहेको वन डिभिजन कार्यालय मार्फत सम्झौता गर्न सकिने मन्त्रीस्तरीय निर्णय गरियो । जसका कारण केहि छिटपुट बाहेक प्रायः सबै योजनाहरु सम्झौता हुन सम्भव भए ।

व्यापक जनगुनासो, स्थानीय तहसँग बाझिएका ऐनकानुन र झन्झट, विभिन्न किसिमका संरक्षित वन उपभोक्ता समितिका गुनासाहरु र समग्र प्रदेशको राजश्वमा वृद्धि हेतु निकै मेहनतका साथ सार्वजनिक हुने चरणमा रहेको महत्वपूर्ण “वन नियमावली २०८०” पारित गर्ने संघारमा हामी थियौं । तर संयोग नै मान्नुपर्छ पछिल्लो राजनीतिक घटनाक्रमका कारण हामीले त्यो सार्वजनिक गर्नबाट बन्चित हुनपर्यो । प्रदेश सरकारलाई तयार अवस्थामा रहेको वन नियमावली पास गरेर यथाशिघ्र वन पैदावार र वनसँग सम्बन्धित समस्याहरुको हल गर्ने वातावरण निर्माण गर्र्नुपर्छ । यो मेरो आग्रह पनि हो ।

यस अवधिमा मन्त्रालय अन्तर्गतका विभिन्न कार्यालय तथा क्षेत्रगत प्रत्यक्ष अनुगमनसँगै प्रशासनिक सुधारका लागि संगठन सर्वेक्षण तथा व्यवस्थापन प्रतिवेदन निर्माण अन्तिम चरणमा पु¥याइएको छ ।

यसैगरी लामो समयसम्म ठूलो समस्याको रुपमा रहेको संघ फाजिल (पुल) दरबन्दीमा रहेका फरेष्टरहरुलाई प्रदेशमा समायोजन गर्ने प्रक्रिया अन्तिम चरणमा छ । जुन निकै मेहनतका साथ पु¥याइएको हो । सरकारले यसलाई पनि अन्तिम रुप दिनेछ भन्ने मेरो विश्वास छ ।
निर्माणाधीन वन निर्देशनालय भवन निर्माण सम्बन्धमा धरान उपमहानगर र वन निर्देशनालय धरानबीचको लामो समयदेखिको विवाद समाधानमा सहजीकरण गरि भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।

खेल पर्यटन मार्फत पर्यटन प्रवद्र्धन गर्न ऐतिहासिक तथा धार्मिक महत्व बोकेका दुई चर्चित पौराणिक स्थानहरु विराट राजाको दरवारदेखि बर्जु तालसम्म म्याराथन दौडको आयोजना गरि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा पर्यटनका लागि महत्वपूर्ण योगदान पुगेको छ ।
पर्यटन व्यवसायीसँगको वृहद् छलफलमा उठेका समग्र पर्यटन सुरक्षाको विषयमा प्रदेश सुरक्षा निकायका प्रमुखहरुसँग छलफल भएको छ र पर्यटन क्षेत्रको सुरक्षाको प्रत्याभूति गराउने सकारात्मक प्रयास गरिएको छ ।

यस अवधिमा संयुक्त राष्ट्रसंघीय संस्था एफएओमार्फत हिमाली र मध्य पहाडी जिल्लाको जैविक विधिता कार्यक्रमका लागि ४२ लाख अमेरिकी डलर भित्र्याउने सफलता प्राप्त भयो । तर, संयोग नै मान्नु पर्छ त्यो सम्झौता पत्रमा हस्ताक्षर गर्ने अवसरबाट भने म बञ्चित भएको छु । सरकारले त्यो आइसकेको अनुदान रकम केहि दिनभित्रै ल्याउने आवश्यक पहल गर्नुपर्छ । साथै केहि अन्तर्राष्ट्रिय दाताहरुसँग संघीय सरकार मार्फत आर्थिक सहयोगको पहल भएका छन् । ती सबै पहलहरुलाई निरन्तरता दिएर प्रदेशको विकासमा निरन्तर भूमिका निर्वाह गरिनेनै छ ।

मैले नेतृत्व गरेको मंत्रालयमा हरेक दिन केहि न केहि नयॉ गर्ने प्रयास पक्कै पनि हामीले गर्यौं । आशा गरेर आउनुभएका हरेकको कुरा सुन्ने र समस्या समाधानका लागि पहल गर्ने काममा कसर बाँकी राखिएन । यस अवधिमा हामीले प्राप्त गरेका प्रतिनिधि उपलब्धिहरु उल्लेख गरेपनि अरु धेरै योजनाहरु जसले प्रदेशको विकासमा आशा जगाउन सक्ने छन् ती योजनाहरु अगाडि बढ्ने तयारीमा छन् ।

प्रदेश सरकार आर्थिक रुपमा मजबुत हुनुपर्छ भनेर प्रदेश सरकारले लगानी गर्दा प्रदेश सरकारलाई रिटर्न आउने खालका योजनालाई प्राथमिकतामा हामीले राख्यौं जसका कारण धेरै भन्दा धेरै योजना लिएर प्रदेशबासीहरु आउने क्रम तीब्र थियो । यस्ता लाभदायक र केही महत्वकांक्षी सोच तथा योजनालाई सरकारले पक्कै पनि निरन्तरता दिनुपर्छ । सरकारलाई सुझावकै रुपमा मेरो आग्रह यसले समग्र प्रदेशको राजश्वको खातामा राम्रै रकम संकलन हुने छ ।

मन्त्रीको रुपमा मेरो कार्यकाल छोटो रह्यो, बदलिएको राजनीतिक परिस्थितिका कारण छोटो समयमै सरकारबाट बाहिरिएको छु तर मैले छोटो समयमा पनि केहि न केहि पक्कै गरेको छु भन्ने विश्वास लिएको छु । मलाई विश्वास गरेर जिम्मवारी दिने मेरो गौरवशाली पार्टी, मलाई योग्य ठानेर विश्वास गर्नुहुने मेरो क्षेत्रका आदरणीय मतादाता कसैको पनि शिर झुक्ने काम म बाट भएको छैन र आगामी दिनमा पनि हुने छैन भन्ने विश्वास दिलाउन चाहन्छु ।

यस दौरानमा मलाई साथ सहयोग गर्नुहुने, दैनिक काममा सहयोग समर्थन गर्नुहुने माननीय मुख्यमन्त्री, मन्त्रीज्यूहरु, मन्त्रालयका, सचिवालयका साथीहरु, कर्मचारी साथीहरु लगायत आफ्ना आफन्त ईष्टमित्र शुभेच्छुक सबै सबै प्रति म ऋणि छु । र, सबैप्रति आभार प्रकट गर्दै प्रदेशको समग्र विकासका लागि आगामी दिनमा पनि निरन्तर सक्रिय रहिरहने छु । धन्यवाद

बिहिबार, २५ जेठ, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर