सरकार ढल्ने निश्चित भएपछि कोशी प्रदेश सरकारले पहिचानवादीसँग वार्ता गर्न समिति गठन गरेको छ ।
मंगलबार नेकपा माओवादी केन्द्रले सरकार छाडेर समर्थन पनि फिर्ता लिएपछि एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढल्ने निश्चित भएको छ ।
फागुन १७ मा प्रदेशको कोशी नामकरण गरेपछि नामबारे कुनै छलफल नहुने बताउँदै आएका मुख्यमन्त्री कार्कीले सरकार ढल्ने भएपछि वार्ता समिति बनाएका हुन् । यसअघि सरकारमा सहभागी माओवादी केन्द्र र जसपाले वार्ताबाट समस्या समाधान गर्न र वार्ता समिति बनाएर अगाडि बढ्न आग्रह गर्दा कार्कीले अस्वीकार गर्दै आएका थिए ।
माओवादी केन्द्र र जसपाले प्रदेशका नागरिकको आन्दोलनलाई सुनुवाई गर्न नसकेको भन्ने कारण समेतका आधारमा प्रदेश सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि कार्कीले वार्ता समिति बनाएका हुन् । प्रदेशका खानेपानी तथा सिँचाइमन्त्री तिलकुमार मेयाङ्बोको नेतृत्वमा बुधबार तीन सदस्यीय वार्ता टोली गठन भएको सरकारका प्रवक्ता भक्ति सिटौलाले जानकारी दिए ।
समितिको सदस्यहरूमा कृषिमन्त्री सिटौला र सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी छन् । फागुन १७ मा प्रदेशसभा बैठकबाट प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर आन्दोलनमा छन् । आन्दोलनका क्रममा एक जनाको ज्यान गइसकेको छ भने झडपहरू नियमित रूपमा भइरहेका छन् ।
पहिचानवादीको आन्दोलनको कारण प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरु पहाडी जिल्लामा जानसमेत सकेका छ्रैनन् ।