विराटनगर ।प्रतिनिधिसभामा सोमबार दिनभर बहसमा रहेको नागरिकता विधेयक र मुर्रा भैंसी (राँगा)को विषयलाई लिएर आज बसेको कोशी प्रदेशसभामा सांसदबीच दोहोरि चल्यो ।
प्रदेशसभाको बैठकमा माओवादी संसदीय दलको तर्फबाट विशेष समय लिएर बोलेका गणेश उप्रेती (सुशीलले) एमालेले नागरिकता ऐनको विषयमा सरकारको विरोध गरेर मधेशी जनताको भावनामा खेलवाड गरेको बताए । उनले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणबाट फर्किदा भैंसी उपहार ल्याएको भनेर व्यंग्य गरेको विषयमा पनि खेद व्यक्त गरे ।‘मधेशी अनुहार हुनेवित्तिकै राष्ट्रघाती देख्ने कस्तो नश्लीय चिन्तन हो ? राजा महेन्द्रको पालामा पनि यही खालको नागरिकता ऐन ल्याएको हो कि होइन ? केपी ओली प्रधानमन्त्री हुँदा अध्यादेशबाट यही विषय ल्याएको हो कि होइन ?,’ उनले प्रश्न गरे, ‘राष्ट्रघात र राष्ट्रवादको बहस चलाइनु खेदजनक छ ।’
१२ लाखभन्दा बढी नागरिकहरु नागरिकताबाट वञ्चित गरिएको भन्दै उनले भने, ‘उनीहरुको राष्ट्रवाद के हो ? उनीहरु कहाँका नागरिक हुन् ? उनीहरुको नागरिक बन्न पाउने अधिकारबाट वञ्चित गर्न पाइँदैन । तपाईले गर्दा ठिक हुने, तपाईले ल्याउँदा जनपक्षीय हुने । अर्को सरकारले ल्याउँदा राष्ट्रघात हुने ? यो कस्तो नश्लीय चिन्तन हो ? ।’
उनले संघीय संसदमा प्रधानमन्त्रीले बोलिरहँदा भएको दुव्र्यवहारप्रति पनि खेद व्यक्त गरे । उनले प्रधानमन्त्रीले बोलिरहँदा सभामुखले अर्को सांसदलाई बोल्न दिएर माइक काट्ने कहाँ अभ्यास छ ? भन्ने प्रश्न गरे । ‘मुर्रा राँगा ल्याउने मात्रै सहमति भएको हो ? तत्कालिन प्रधानमन्त्री केपी ओलीले राँगा ल्याउने पहुँच पनि राख्न सक्नु भएन । उहाँले त राँजा ल्याउने पहुँच पनि राख्नु भएन । अहिले प्रचण्डले ल्याउँदा किन टाउको दुखाएको ? के नदी बेचेर आउनु पर्ने ? पहाड बेचेर आउनु पर्ने ? नश्ल सुधारको लागि राम्रो कुरा लिएर आउँदा प्रसंशा गर्नुपर्नेमा किन खिसिट्यूरी गर्नु ?’, उनले भने, ‘महाकाली सन्धी गर्दा वार्षिक १२० अर्बको बिजुली बेच्छौं भन्ने जस्तो अहिलेको हावादारी सम्झौताहरु भएका छैनन् । नेपालको विद्युत् तेस्रो मुलुकमा पुग्ने भएको छ । यो राष्ट्रघात हो ? धेरै उपलब्धी भएपनि राँगा मात्रै देख्ने तपाईको मानसिकता कालो मानसिकता हो ।’
उप्रेतीले बोलेका उक्त विषयमा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बीचैमा नियमापत्ती गरे । तर, सभामुखले माओवादी सांसद उप्रेतीले बोलिसकेपछि मात्रै भण्डारीलाई बोल्न समय दिएका थिए ।
भण्डारीले नागरिकता ऐन कार्यान्वयनको विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेको र सर्वोच्च अदालतमा भएका विचाराधिन विषयमा संसदमा बोल्न नपाउने जिकिर गरे । भण्डारीले संघीय संसदभित्र के भयो भन्ने कुरा त्यही संसदको विषय भएको बताउँदै प्रदेशसभामा त्यहाँको बहसको विषयमा उठाउन नहुने बताए । ‘त्यहाँको विषय यहाँ बोल्न पाइँदैन । त्यो संघीय संसदको विशेषाधिकारको विषयलाई यहाँबाट हनन् गर्न पाइँदैन । त्यसकारण यो संविधानमा भएको व्यवस्था विरुद्धमा भएकोले रेकर्डबाट हटाउनु पर्छ,’ भण्डारीले अड्डी लिए ।
पुनः भण्डारीको कुरालाई खण्डन गर्दै काँग्रेसका सांसद केदार कार्कीले नागरिकताको विषय अदालतको विषय मात्रै नभइ जनताको विषय भएको भन्दै बोल्न पाउनु पर्ने दाबी गरे । ‘यो जनताको विषय हो । जुनसुकै बेला उठाउन पाइन्छ । माननीयज्यूलाई थाहा हुनुपर्छ । उहाँका नेता जनताको आन्दोलनको लागि कृषकको टाउको काटेर आउनु भएको हो । त्यस्ता नेता र पार्टीका सांसदले प्रदेशसभामा के बोल्ने के नबोल्ने भन्ने विषय सिकाउने ?,’ कार्कीले भने, ‘संसारको जुनसुकै ठाउँमा भएको कुरा पनि जनतालाई अहित हुन्छ भने संसदमा उठ्छ, उठाउनु पर्छ । अघिल्ला सांसदहरुको रेकर्ड हेरेर आउनु होस् । जुनसुकै कुरामा पनि उभिएर नियमापत्ती गर्नु आवश्यक छैन ।’
लगत्तै एमाले सांसद विदुरकुमार लिङ्थेपले आफ्ना नेतालाई लक्षित गरी कृषकको टाउको काटेर आएको नेता भनेको विषयमा आपत्ती प्रकट गरे । उनले व्यक्तिगत लान्छनाको कुरा नगर्न आग्रह गरे । ‘हाम्रो नेतालाई टाउको काटेर आएको भन्ने ? उहाँको नेता प्लेन अपहरण गरेर, पैसा लुटेर आएको कार्यकर्ता उहाँ माननीयज्यू हुनुहुन्छ । हाम्रो कुन नेताले टाउको काट्यो भन्ने प्रमाण छ ? यो रेकर्डबाट हटाउनु पर्छ,’ लिङ्थेपले भने ।
यद्यपि सभामुख बाबुराम गौतमले कुनै पनि विषय रेकर्डबाट हटाएको घोषणा गरेनन् भने हटाउनै पर्छ भनेर एमालेका सांसदले पनि अडान लिएनन् । आजको प्रदेशसभाको बैठकमा सभामुख गौतमले कार्यव्यवस्था परामर्श समितिको सदस्यमा जसपाकी सांसद निर्मला लिम्बूलाई राख्ने निर्णय सुनाएका थिए । त्यसपछि प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।