विराटनगर । कोशी प्रदेश सरकारबाट बाहिरिने या नबाहिरिने भन्ने विषयमा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको बैठक अनिर्णीत बनेको छ ।
प्रदेशसभा सचिवालयमा आज बसेको बैठकमा सरकारको समर्थनबारे निर्णय लिने तयारी थियो । माओवादी प्रदेशसभा सदस्य गणेश उप्रेतीले दिएको जानकारी अनुसार दलको बैठकले भोलि प्रदेशका नेताहरूसँग आवश्यक छलफल गरेर मात्रै निर्णय गर्ने भएको हो ।
यद्यपि माओवादीले दलका नेता इन्द्रबहादुर आङ्बोको नेतृत्वमा वैकल्पिक सरकार निर्माणका लागि पहल समिति गठन गरेको छ । उक्त समितिले नयाँ सरकार गठनबारे अन्य दलहरूसँग छलफल गर्नेछ ।
यसअघि जसपाले पनि सरकारबाट फिर्ताको निर्णय गरिसकेको छ । एमाले, माओवादी, राप्रपा र जसपाको गरि ५९ सांसदको समर्थनमा कार्की गत पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । माओवादीको १२ र जसपाको १ सांसदले समर्थन फिर्ता लिए कार्की नेतृत्वको सरकार स्पष्ट अल्पमतका पर्नेछ ।
माओवादी केन्द्रबाट कार्की नेतृत्वको सरकारमा भौतिक पूर्वाधारमन्त्री दुर्गाप्रसाद चापागाईँ र पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्य सहभागी छन् । उनीहरू गत माघ ६ गते मन्त्री पदमा नियुक्त भएका हुन् ।
उता नेपाली काङ्ग्रेस कोशी प्रदेश संसदीय दलको गत जेठ ४ गते बसेको बैठकले केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलहरू माओवादी र जसपाले कोशी प्रदेश सरकारबाट फिर्ता आउन आग्रह गरेको थियो ।
यसैबिच माओवादी मन्त्री द्वय चापागाईँ र आचार्यले आजै मुख्यमन्त्री कार्कीलाई राजीनामा बुझाउने तयारी गरेका थिए । दलले तत्काल कुनै निर्णय नलिएपछि उनीहरूले मुख्यमन्त्री कार्कीलाई बुझाउन लागेको राजीनामा पत्र गोजीमै थन्किएको छ ।