विराटनगर । नयाँ कानुन अनुसार जन्मसिद्ध नागरिकका सन्तान तथा आमाको नामबाट नागरिकता वितरण सुरू भएकै दिन सर्वोच्च अदालतले नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न आदेश दिएपछि विराटनगरमा त्यसविरुद्ध प्रदर्शन भएको छ ।
नयाँ कानुन अनुसार झापामा आइतबारबाट नागरिकता वितरण सुरू भइसकेको थियो भने मोरङ र सुनसरी प्रशासनले नागरिकता वितरणका लागि तयारी गरिरहेको बताएका थिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले गएको बुधबार प्रमाणीकरण गरेपछि सरकारले राजपत्रमा सूचना प्रकाशित गरेको थियो । शुक्रबार गृह मन्त्रालयले सबै जिल्ला प्रशासनहरूलाई नागरिकता वितरण थाल्न परिपत्र गरेको थियो ।
यसरी जिल्ला–जिल्लाबाट नागरिकता वितरण सुरु भएकै दिन सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता ऐनलाई संशोधन गर्ने विधेयक यथास्थितिमा राख्न आदेश दिएको हो । सर्वोच्चको आदेशले आफूहरु थप पीडित हुने अवस्था सिर्जना भएको भन्दै एक सय हाराहारीमा सडकमा ओर्लिएका युवाले आइतबार साँझ मसाल जुलुस प्रदर्शन गरे । सडकसमेत अवरोध गरेका उनीहरुले तत्कालै नागरिकता दिनुपर्ने माग गर्दै सर्वोच्चको आदेशले आफूहरु थप पीडित बन्ने बताएका थिए

