सम्पादकीय
केही दिनयता गर्मी अचाक्ली बढेको छ । मनसुन सुरु हुन दुई साता भन्दा कम समय बाँकी छ । तर विगत वर्षहरुमा यसै अवधिमा हुने भन्दा गर्मी धेरै नै बढेको छ । विराटनगर लगायत तराई क्षेत्रमा पछिल्लो एक साता सरदर ४० डिग्री तापक्रम पुगेको छ । रात्रिकालमा पनि तापमान २८–३० डिग्री हुने गरेको छ । यसले आम सर्वसाधारणको जनजीवनलाई प्रभावित पारेको छ । साना बालबालिका पढ्ने विद्यालयहरु एक सातादेखि बिदा भएका छन् । दिउँसो सडकमा चहलपहल घटेको छ । गर्मीले व्यापार व्यवसायको दैनिकी विथोलेको छ । कृषि क्षेत्रमा पनि यसले प्रभाव पारिरहेको छ ।
गर्मीसँगै तातो हावा चल्ने क्रमपनि सुरु भएको छ । यस्तोमा मानव तथा पशुचौपायको जीवनमा नकारात्मक असर पुग्न सक्छ । स्वास्थ्यमा सावधानी अपनाइएन भने गर्मी मौसममा विभिन्न खालका स्वास्थ्य समस्याहरू देखिने सम्भावना धेरै हुन्छ । यो मौसममा हाइड्रेटेड रहनु अनिवार्य हुन्छ । शरीरमा पानीको मात्र कम भएर त्यसबाट अनेकौं स्वास्थ्य सम्बन्धी जोखिम निम्तिन सक्छ ।
त्यसैले गर्मीको असरबाट जोगिन हरेक व्यक्तिले हरसम्भव प्रयत्न गर्नुपर्छ । हलुका रङको लुगा लगाउने, कपासबाट बनेको लुगाले शरीरलाई चिसो राख्न मद्दत पुग्ने भएकोले त्यसको प्रयोग गर्ने, गाढा रङका र भारी लुगा नलगाउने, सकेसम्म सेतो रङका लुका लगाउने गर्दा घामको प्रकासबाट आउने तापलाई केही हदसम्म कम गर्न सकिन्छ ।
यो मौसममा हाम्रो शरीरबाट बढी पसिना निस्किने हुँदा शरीरमा पानीको मात्रा कम हुन गई डिहाइड्रेसनको समस्या हुन सक्छ । त्यसैले शरीरलाई हाइड्रेटेड राख्न धेरै पानी र तरल पदार्थ पिउन स्थानीय सरकारले सचेतनामूलक सूचनाहरु प्रकाशन गरी नागरिकलाई सचेत गराउनु पर्छ ।
चर्को गर्मीमा घरबाहिर जाँदा छालाको समस्या हुने, घाउ खटिरा आउने जस्ता समस्याहरु हुन्छन् । त्यसैले चर्को घाममा सकेसम्म घरबाट ननिस्किन र निस्किनै परेमा छाता ओड्न र टोपी लगाउन आग्रह गर्नुपर्छ ।
सूर्यको हानिकारक किरणहरूबाट आँखा र छालालाई जोगाउन चस्मा र घामबाट हुने क्षति जोगाउने क्रिमहरुको प्रयोग गर्नु उपयुक्त हुने चिकित्सकहरुले बताउने गरेका छन् । यस्ता उपायहरुको अवलम्बन गरे पनि गर्मीबाट हुने क्षतिलाई कम गर्नु पर्छ ।
यस्तो बेलामा फ्लूको सम्भावना हुने भएकोले त्यसका लक्षणहरुबाट पनि सावधान रहनु पर्छ भन्ने सचेतनामूलक जानकारी सार्वजनिक गर्नुपर्छ ।
गर्मीमा थकान हुने, गर्मी स्ट्रोक आदि समस्या हुनसक्ने भएकोले त्यसमा पनि ध्यान दिन आवश्यक छ । गर्मीले चक्कर लाग्ने, वाकवाकी लाग्ने, टाउको दुख्ने जस्ता समस्या पनि गराउने भएकोले चिकित्सकसँग परामर्श गर्ने र समस्या बढ्न नदिने तर्फ सबै सचेत रहन जरुरी छ ।
गर्मीका कारण बालबालिकामा शारीरिक र मानसिक तनाव बढ्न सक्ने भएकाले ख्याल गर्नु पर्ने वरिष्ठ बाल रोग विशेषज्ञ डा.अनिल थापा बताउँछन् । उनले बालबालिकामा छालासम्बन्धी रोगका साथै जन्डिस, टाइफाइड र झाडापखालाको समस्या पनि हुनसक्ने भएकोले ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।
बालबालिकाहरूलाई गर्मीको प्रभावको बारेमा ध्यान दिँदै पानी धेरै ख्वाउन र ज्वरो बढेर १०४ डिग्री पुगेमा खतरा हुने भएकोले यसतर्फ सचेत रहनु पर्ने चिकित्सकहरुको सुझाव छ । अधिक गर्मीले बालबालिकाको रक्तचाप पनि घट्न सक्ने भएकोले जीवन जल खुवाउँदा राम्रो हुन्छ भन्ने सन्देश प्रवाह गर्नुपर्छ ।