इटहरी । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती कोशी प्रदेश समितिले प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । शनिवार मोरङको सुन्दरहरैंचा–४ गोकर्ण रिसोर्टमा सो कार्यक्रमको आयोजना गरिएको हो ।
कोसी प्रदेशका १४जिल्लाबाट भेला भएको कर्मचारीहरूलाई संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी, नेपाल सरकारका सचिव दामोदर रेग्मी, कोसी प्रदेश सरकारका मुख्य सचिव दीपक काफ्ले, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव नारायण अर्याल लगायतले प्रशिक्षण दिएका थिए ।
नेपाल सरकारका पूर्व मुख्य सचिव लीलामणि पौडेल प्रशिक्षण दिँदै निजामती ऐनमा सुधार गर्नु पर्नेबारे बताएका थिए ।
साथै कोसी प्रदेशसभा सदस्य गणेश उप्रेती, नेकपा माओवादी केन्द्र कोसी प्रदेश कमिटी उपाध्यक्ष विजय साम्पाङले पनि कर्मचारीहरूलाई प्रशिक्षण दिएका थिए । प्रशिक्षण दिने प्रशिक्षकहरूले कर्मचारीहरू इमानदार र पारदर्शी हुनुपर्ने बताएका थिए । कर्मचारीप्रति जनविश्वास घट्दै गइरहेकोले कर्मचारीमा शुद्धिकरण आवश्यक रहेको बताइएको छ ।
प्रशिक्षण कार्यक्रममा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय इटहरीका लेखा अधिकृत गिताचरी आचार्यले प्रतिवेदन प्रस्तुत गर्दै चाँडो भन्दा चाँडो संघीय निजामती ल्याउन माग गरेका थिए । कार्यक्रममा सहभागी कर्मचारीहरूले संघिय निजामती ल्याउन आलटाल गरिए व्यवस्था धरापमा पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए । उनीहरूले ऐन नहुँदा काम गर्न कठिन परेको भन्दै ऐनकै कारण व्यवस्था अघि बढाउन कठिन हुने बताएका हुन् ।
सो अवसरमा सेवा निवृत्त गोविन्द पौडेललाई सम्मान गरिएको थियो । कार्यक्रमको सभापतित्व नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती कोसी प्रदेश अध्यक्ष रुद्रप्रसाद सुवेदीले गरेका थिए भने संचालन सचिव अमर राईले गरेका थिए ।