विक्रम लुईटेल
अहिले दिनहुँजसो पुरस्कारहरू वितरण भइरहन्छन् । कहिले व्यक्तिलाई पुरस्कार वितरण हुन्छ, कहिले संस्थालाई । तर, पुरस्कार चाहिँ वितरण भइरहन्छ । मानौं पुरस्कार भनेको व्यक्ति रिझाउने एउटा मेलो जस्तै भएको छ ।एउटा सानो उदाहरण हेर्दा हामी कसरी पुरस्कार वितरण गर्छौ भन्ने कुराको ज्ञान हुन्छ र पुरस्कार कस्ताले पाउँछन् भन्ने पनि ज्ञान हुन्छ । कानुनमा व्यवस्था भए बमोजिम विराटनगर महानगरपालिकाले सुर्र्तीजन्य वस्तुको बिक्री वितरणमा रोक लगाउने निर्णय ग¥यो र केही अनुगमन पनि ग¥यो । तर, विराटनगरमा सुर्तीको पूर्ण रूपमा बिक्री वितरण र किनबेच बन्द भएको छैन । यस्ता चिजहरू विराटनगरमा अहिले जता पनि जतिपनि सहजै पाइन्छ । तर, महानगरले गरेको यो घोषणा पक्कै राम्रो चाहिँ हो । यसका लागि महानगरलाई धन्यवाद दिनुपर्छ । यसको कार्यान्वय पक्ष हेर्न अझै केही वर्ष कुर्नुपर्ने अवस्था छ ।
विराटनगरको निर्णय प्रभावकारी कार्यान्वयनमा नगएकै अवस्थामा नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले सुर्तीजन्य पदार्थ नियन्त्रण र बिक्री वितरण बन्द गर्न उत्कृष्ट काम गरेको भन्दै प्रथम पुरस्कार दियो । भनेपछि हाम्रा देशका ७५३ पालिकाले के गर्दैछन् भन्ने चित्र पनि देखिन्छ । पुरस्कारको विरोध गरेको होइन् । सुरूआत गर्ने घोषणा गर्ने बित्तिकै पुरस्कार पाएपछि पुरै कार्यान्वय भयो भने के पाउने होला ? यसबाट उब्जिने एउटै मात्र प्रश्न के हो भने हाम्रा सरकारी संयन्त्रले पुरस्कार कसरी दिने रहेछन् ? पुरस्कारका यस्ता अनेकौं किस्सा र उदाहरणहरु छन् जुन राज्य वा गैरराज्य पक्षले दिने गरेका छन् ।
राष्ट्रपतिबाट दिने तक्मासमेत हामीकहाँ विवादित हुने गरेको छ । किन भन्दा हाम्रो निर्णय गर्ने शैली सही, पारदर्शी र उचितढंगका छैनन् । त्यसैले विवादहरू आइरहन्छ । कतिपय पुरस्कारका बारेमा कार्यक्रममा पुगेपछि मात्र पुरस्कृत व्यक्तित्वलाई थाहा हुन्छ । झन् पत्रकारलाई दिने पुरस्कार त यति छन् कि गनिसाध्य छैन । कहिले काहीँ आफंैलाई लाग्छ मैले पुरस्कार लिँदैछु कि बक्सिस् । पुरस्कार पनि यस्ता छन् कि न त्यसको कोष हुन्छ न निरन्तरता । जीवनमा कुनै योगदान नै नगरेका व्यक्तिका नाममा समेत पुरस्कार राखेर ती व्यक्तिहरूलाई हरेक वर्ष पूज्नु पर्ने अवस्था छ । त्यस्ता व्यक्तिहरूका नाममा राखेका पुरस्कारहरूले पुरस्कारको गरिमा नै घटाइरहेको हुन्छ । पुरस्कार निमार्ण गर्ने र दिने प्रक्रियाका विषयमा पनि अब मापदण्ड बनाउनु पर्ने अवस्था छ । यहाँ त बेलुका चाकरी ग¥यो भने बिहान पुरस्कार पाउने अवस्था छ । यो ढंगको पुरस्कारहरूले न दिनेको गरिमा बढाइरहेको छ न लिनेको गरिमा बढाइरहेको छ ।
पुरस्कारका ओजहरू बढाउनका लागि अब हरेक क्षेत्रमा आ–आफ्नो तर्फबाट पहल र प्रत्यत्न हुनु जरुरी छ ।चाहिँ साहित्यक क्षेत्रमा होस् । चाहे सामाजिक क्षेत्रमा । यसका मापदण्ड र यसको ओजलाई बढाउन प्रत्यत्न हुन जरुरी छ । केही–केही पुरस्कारका बारेमा यस्तो पनि सुनिन्छ ‘मलाई पुरस्कार दिनु आधा फिर्ता गर्छु वा अरु व्यवस्था मिलाउँछु !’कहिले काहीँ सार्वजानिक सूचनाहरू जारी हुन्छन् । तर, ती सूचना अनुसारका आवेदकहरूले पुरस्कार समेत नपाउने अवस्था हुन्छ । विस्तारै समाजमा हुर्किदै गरेको पुरस्कार संस्कृति कतै बिकृतीको रूपमा मौलाउने त होइन भन्ने चिन्ता छाउन थालेको छ । यसतर्फ हामी सबैले आ–आफ्नो ठाउँबाट पहल र प्रयत्न गर्नु जरुरी छ ।
पुरस्कारका मापदण्ड र वर्गीकरण नै गर्नुपर्ने अवस्थामा हामी पुगिसकेका छौं । मलाई अझै एउटा याद आइरहेको छ । २०५७ सालतिर जिल्ला विकास समितिले मलाई लामो समयदेखि पत्रकारीता गरेको भनेर सम्मान गरेको थियो । भर्खरै पत्रकारीतमा लाग्दै गरेको मलाई कसले र किन सिफारिस ग¥यो थाहा भएन । तर, मैले त्यसबेला नै लामो समयदेखि मोरङको लागि योगदान गरेको भनेर पुरस्कार पाए ।पुरस्कार कसरी र किन पाइन्छ । यस्ता यावत प्रश्नले कहिले काहीँ आफैंलाई नै घोचीरहेको हुन्छ ।