विराटनगर । प्रदेशको नाम कोशी राख्ने निर्णयपछि चर्केको पहिचानवादी आन्दोलनले प्रदेशको सत्ता सन्तुलनमा फेरबदल ल्याउने सम्भावना उच्च भएको छ ।
खासगरी पहिचानको पक्षमा उभिँदै आएको जनता समाजवादी पार्टीले सरकार छाड्ने निर्णय लिएपछि अर्को पहिचान पक्षधर दल माओवादी केन्द्र पनि नैतिक संकटमा परेको छ । पहिचानका आधारमा प्रदेशको नामकरण गर्नुपर्ने पक्षमा सुरुदेखि नै ‘दृढतापूर्वक’ उभिँदै आएको जनता समाजवादी पार्टी (जसपा) कोशी प्रदेशमा भने उसैको शब्दमा ‘पहिचानविरोधी’ एमाले नेतृत्वको सरकारमा सहभागी थियो ।
फागुन १७ यता पहिचान पक्षधरहरु सडकमा पिटाई र अश्रुग्यास खाइरहने जसपा भने सरकारमा बसिरहने अवस्थासमेत देखियो । एमाले नेता हिक्मत कार्की नेतृत्वको प्रदेश सरकार पहिचान पक्षधरहरुलाई पेलेरै जाने मनस्थितिमा रहँदा जसपालाई आन्दोलनकारीबाट ठूलो दबाब आइरहेको थियो ।
एकातिर केन्द्रीय गठबन्धनमा आएको बदलाव अनि अर्कातिर पहिचान पक्षधरहरुले उठाएको आन्दोलनको दबाबले अन्ततः प्रदेशमा एक मात्र सिट संख्या भएको जसपा सरकारबाट बाहिरिएको छ । ‘राष्ट्रपति निर्वाचनताका केन्द्रीय गठबन्धनमा बद्लाव आएपछि ढिलोचाँडो हामी सरकारबाट बाहिरनुपर्ने अवस्था थियो’, जसपा कोशीका एक नेताले भने ‘अहिले प्रदेशमा चलेको आन्दोलनले हामीलाई झनै ठूलो दबाब सिर्जना गर्यो । हामीलाई मत दिएका मतदाताहरु, हाम्रै कार्यकर्ताहरु सडकमा कोशी नाम खारेजीका लागि लाठी खाइरहँदा हामी चाहिँ सरकारमा बसिरहनु नैतिक भएन।त्यसैले हामीले सरकारबाट बाहिरिने निर्णय लिएका छौं ।’
कोशी नामकरणपछि प्रदेशमा उठेको आन्दोलनमा एक जना पहिचानवादी आन्दोलनकारी पदम लिम्बूले ज्यान गुमाएर उनलाई सरकारले सहिद घोषणा गरिसकेको छ। यसबीचमा सयौं घाइते भइसकेका छन् ।
विगतदेखि नै पहिचानको पक्षमा आवाज उठाउँदै आएका माओवादी र जसपा पहिचानवादी आन्दोलनले नैतिक अफ्ठायारोमा थिए । माओवादी नेताहरुले पनि आन्दोलनले आफूहरुलाई असहज अवस्था भएको बताउँदै आएका छन् । सरकारमै सहभागी दलले सरकारको साथ छाडेपछि मुख्यमन्त्री हिक्मत कार्कीले जसपाले औपचारिक जानकारी दिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।
फागुन १७ मा प्रदेशको नाम कोशी राखिँदा जसपा एकीकृत समाजवादीसँगै विपक्षमा उभिएको थियो । तर, त्यसबेला कोशीको पक्षमा मतदान गरेको माओवादीले भने चैत तेस्रो साता उक्त निर्णय गलत भएको भन्दै आत्मालोचना गरेको थियो ।
जसपाले प्रदेश सरकार छाडेपछि केन्द्रीय गठबन्धनको अर्को दल नेकपा माओवादी केन्द्र नैतिक दबाबमा परेको छ । केन्द्रमा अर्कै गठबन्धनमा रहेर सरकारको नेतृत्व गर्ने अवसर पाएको प्रतिनिधिसभाको तेस्रो दल माओवादी कोशीमा भने एमाले नेतृत्वको सरकारमा सामेल छ । माओवादी प्रदेशका नेताहरुले केन्द्रको निर्देशन कुरेर बसेको बताइरहेका छन् । तर, माओवादी केन्द्रले भने अहिलेसम्म कुनै निर्णय दिएको छैन ।