विराटनगर । जनता समाजवादी पार्टी (जसपा) कोशी प्रदेश समितिको बैठकले प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ ।
सुनसरीको इटहरीमा बुधबार सम्पन्न बैठकले प्रदेश सरकारमा सहभागी स्वास्थ्य मन्त्री निर्मला लिम्बूलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
लिम्बू एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा गत पुस २५ गते सहभागी भएकी थिइन् । केन्द्रमा सत्ता गठबन्धन दलमा रहेका दलहरु माओवादी र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्नेमा काँग्रेसले जोड दिइरहेको थियो । जसपाको यो निर्णयसँगै कार्की नेतृत्वको सरकार संकटमा पर्ने देखिएको छ ।
जसपाले सरकारबाट फिर्ता आउने विषयमा गरेको निर्णबारे आजै पत्रकार सम्मेलनमार्फत जानकारी दिने भएको छ । ‘हामीले गरेको निर्णय पत्रकार सम्मेलनमार्फत जानकारी दिन्छौं,’ जसपाका प्रदेश अध्यक्ष दिपक याख्खाले भने, ‘अहिले नै सबै कुरा भन्नु जरुरी छैन ।’
जसपाले समर्थन फिर्ता लिएसँगै माओवादी केन्द्रसँग पनि जसपाले छलफल सुरु गरेको छ । ‘सम्भवतः माओवादीले पनि छिट्टै समर्थन फिर्ता लिन्छ होला,’ जसपा स्रोतले भन्यो ।
गत पुस २४ गते माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार मुख्यमन्त्री नियुक्त भएका थिए । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ ।

