विराटनगर । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले आज भारत प्रस्थान गर्दै छन । प्रधानमन्त्री प्रचण्डसँग साँझ ६ बजे भारतका विदेश सचिव विनयमोहन क्वात्रा र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले छुट्टाछुट्टै भेटवार्ता गर्नेछन्।

त्यसपछि प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भोलि (जेठ १८ गते) बिहान ११ बजे हैदराबाद हाउसमा दुईपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। लगत्तै प्रतिनिधिमण्डल स्तरको बैठक हुनेछ। यसपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने तालिका छ। सोही दिन भारतीय प्रधानमन्त्री मोदीले आयोजना गर्ने दिवाभोजमा भ्रमण टोलीसहित प्रधानमन्त्री प्रचण्ड सहभागी हुनेछन्। त्यही दिन प्रधानमन्त्री प्रचण्डले भारतका राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

त्यसपछि नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) ले संयुक्त रूपमा आयोजना गर्ने नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नेछन् र त्यसपछि दुवै देशका व्यापारीसँग अन्तरक्रिया पनि गर्ने कार्यक्रम छ।

यसपछि भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री प्रचण्डले भारतमा रहेका नेपाली समुदायसँग भेटघाट गर्नेछन्।

भ्रमण तालिकाअनुसार तेस्रो दिन (जेठ १९ गते) प्रधानमन्त्री प्रचण्ड मध्यप्रदेशको उज्जैन र इन्दोर प्रस्थान गर्नेछन्। जेठ २० गते उनी इन्दोरमा रहेको विशेष आर्थिक क्षेत्रको भ्रमणमा जानेछन् र त्यही दिन नयाँदिल्ली फर्किएर प्रधानमन्त्री प्रचण्ड अपराह्न ४ः२० बजे स्वदेश प्रस्थान गर्ने कार्यक्रम छ।

मन्त्रिपरिषद्ले स्वीकृत गरेअनुसार भारत भ्रमण टोलीमा पाँच मन्त्री भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा.प्रकाशशरण महत र उद्योगमन्त्री रमेश रिजाल सहभागी हुनेछन्।