विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीले प्रदेशको नाम प्रति असहमति जनाउँदै आन्दोलनमा उत्रिएका पहिचान पक्षधरलाई वार्तामा आउन आव्हान गरेका छन् ।

१६ औँ गणतन्त्र दिवसको अवसरमा मुख्यमन्त्री कार्यालय आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संवादका लागि आउन आग्रह गरेका हुन ।

‘संविधान र कानुनले प्रत्याभूत गरेका अधिकारसहित गरिएको नामकरणको बारेमा केही विमतिहरू भए आगामी निर्वाचन मार्फत कानुन र संवैधानिक प्रक्रिया अगाडि बढाउन अनुरोध गर्दछु’, उनले भने, ‘तपाईंहरुलाई आफ्ना हिंसात्मक गतिविधिहरू छाडेर सरकारसँग संवाद र छलफल गर्न आह्वान गर्दछु । हामी संवाद र छलफलबाट नै निष्कर्षमा पुग्न सक्छौँ ।’

आइतबार प्रदेशसभा बैठकमा बोल्ने सांसदहरूले आन्दोलनरत पक्षलाई वार्तामा बोलाउन सरकार समक्ष माग गरेका थिए ।
गत फागुन १७ गते प्रदेशसभा बैठकबाट प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर आन्दोलनमा छन् । आन्दोलनका क्रममा आइतबार प्रदेशसभा भवन अगाडि प्रदर्शनकारी र प्रहरीबिच दिनभर झडप भएको थियो ।

ठुला समस्या पनि वार्ताका माध्यमबाट समाधान भएको बताउँदै मुख्यमन्त्री कार्कीले वार्तामा आउन आग्रह गरेका हुन् । पहिलो प्रदेशसभा बैठकले नाम राख्न नसकेको बताउँदै उनले दोस्रो प्रदेशसभाबाट नाम राखिएको बताए ।