विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले १६ औ ‘गणतन्त्र’ दिवसको अवसरमा शुभकामना दिएका छन् ।उनले एक शुभकामना वक्तव्य जारी गर्दै नागरिकको सेवा र विकास निर्माणका लागि सहकार्य, समन्वय र सहअस्तित्वका आधारमा सङ्घीय संरचनाका तीनैवटै तहबीच समन्वय गर्दै अगाडि बढ्ने काम भइरहेको उल्लेख गरेका छन् ।

राज्यको पुनः संरचना र आवधिक निर्वाचन मार्फत विगतमा सिंहदरवारमा केन्द्रित अधिकार गाउँघरमा पुगेको अनुभूति आम नागरिकले गर्न थालेको पनि उनले दाबी गरेका छन् ।

सानातिना कुरालाई आधार मानेर कुनै पनि कोणबाट गणतन्त्र माथि प्रश्न उठाउने र पुरानो व्यवस्थातिर फर्कन खोज्ने प्रतिगामी प्रयासहरु अनुचित भएको उनले जनाएका छन् ।

गणतन्त्रको स्थापनासँगै मुलुकमा विकास र समृद्धिको यात्रा प्रारम्भ भएको दाबी गर्दै भौतिक विकास तर्फ भएको उल्लेख्य प्रगती, शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका नीतिगत र संरचनागत सुधारका प्रयासहरु, नीति निर्माण तहमा बढ्दो समावेशी सहभागिता, विगतमा पछाडि पारिएको जाती, वर्ग र क्षेत्रलाई राज्यको मुल प्रवाहमा ल्याउन भइरहेको प्रयासहरु गणतन्त्रकै प्रतिफल रहेको उनले बताएका छन् ।

पहाडी क्षेत्रको बढ्दो बसाँइ सराइ, शिक्षा र रोजगारीको नाममा भइरहेको पूँजी र दक्ष जनशक्तिको पलायन, बढ्दो बेरोजगारी, जनचाहाना अनुसारको शासकीय सुधार प्रमुख चुनौतिका रुपमा देखा परेको उल्लेख गर्दै उनले सिङ्गो प्रदेश, प्रदेश भित्रका सबै राजनीतिक दलहरु, नागरिक समाज र हामी सबै दाजुभाइ तथा दिदीबहिनीहरु एक जुट भएर साझा चुनौती विरुद्ध लड्न उनले आवहान पनि गरेका छन् ।