कोशी प्रदेश नामकरण विवाद :

२ बजेको बैठकका लागि सांसदहरु बिहानै टिफिन लिएर प्रदेशसभा प्रवेश गर्दै

विराटनगर । पहिचान पक्षधरको आन्दोलनका कारण कोशी प्रदेशका सांसदहरू टिफिनकारीमा खाना बोकेर संसद सिचवालय प्रवेश गर्न थालेका छन् ।

प्रदेशसभाको बैठक दिउँसो २ बजेका लागि तोकिएको छ । दिउँसो संसद सचिवालयमा प्रवेश गर्न पहिचानवादीको आन्दोलनका कारण समस्या हुनसक्ने देखेर सांसदहरु बिहानै टिफिन बोकेर प्रदेशसभा आएका हुन् ।

प्रहरीले गरेको खवर अनुसार नै आफूहरु प्रदेशसभामा खाना लिएर छिर्न थालेको केही सांसदले बताएका छन् । नेपाली काग्रेस संसदीय दलका नेता उद्वव थापा लगायतका प्रदेशसभा सदस्यहरू प्रबेश गरिसकेका छन । एमालेले भने संसदीय दलको बैठक ८ बजेका लागि बोलाएको थियो । सबै सांसद आइनसकेको कारण बैठक सुरू नभएको एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।

उता, कोशी प्रदेशसभाको बजेट अधिवेशन सुरु हुनुअघि आन्दोलनमा उत्रिएका एलभी फोर्सका १६ भन्दा बढी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेशसभा घेराउ गर्ने उद्देश्यले उनीहरु विराटनगरको देवकोटा चोकमा जम्मा हुने क्रममा थिए । पक्राउ पर्नेमा संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष थाङसाङ लावती, उपमहासचिव दिपा आङ्दाङ्वालगायत छन् । १६ जना बढीलाई एलभी लेखिएको हेल्मेट र टिसर्ट लगाएका समूहलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख दीपक पोखरेलले जानकारी दिए ।

गत फागुन १७ गते प्रदेशको नामाकरणपछि प्रदेशसभाको बैठक स्थगित गरिएको थियो । त्यसपछि पहिचानवादीको प्रदर्शन र आन्दोलनका कारण प्रदेशसभाको बैठक नै नबसी हिउँदे अधिवेशन अन्त्य भएको थियो ।

उता, पहिचानवादीहरूले पनि प्रदेशसभाको बजेट अधिवेशनलाई लक्षित गर्दै आन्दोलनकोे घोषणा गरेका छन् । शुक्रबार विराटनगरमा युवा दस्ता निर्माणको घोषणा गरेका पहिचानवादीहरुले कोशी नाम खारेजको माग गर्दै शनिबार महेन्द्र चोकमा प्रदर्शन गरेका थिए । आज उनीहरुले वृहत र फरक तरिकाले आन्दोलन गर्ने जनाएका छन् ।

आइतबार, १४ जेठ, २०८०, बिहानको ०९:०५ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर