विराटनगर । आजको प्रतिनिधि सभा बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूमा प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची छ।
संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक जारी छ। अपराह्न ४ बजेका लागि तय भएको बैठक केहि ढिला गरी सुरू भएको थियो ।
माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी ओलीको कार्यकालमा पशुपतिको जलहरीमा भ्रष्टाचार भएको विषय उठाएपछि
शुक्रबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवरोध गरेको थियो ।
दलका नेतामाथि विनाआधार आरोप लगाएको भन्दै एमालेले शुक्रबारको संसद बैठक अवरोध गरेको थियो ।
शनिबार प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई बालुवाटार बोलाएर संसदको अवरोध हटाउनेबारे छलफल गरेका थिए।
बालुवाटार बैठकमा सांसद दाहालको भनाइ संसदको रेकर्डबाट हटाउने शर्तमा संसदको अवरोध हटाउन एमाले सहमत भएको थियो।
आज संसदबाट नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ।

