काठमाडौँ । पूर्व प्रधानमन्त्री झलनाथ खनालले नक्कली भुटानी शरणार्थीको केस लज्जास्पद विषय भएको र यसले देशको अस्मिता लुटिएको बताएका छन ।

उनले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान बिथोलिए देशभर आन्दोलन हुने चेतावनी समेत दिएका छन् ।

शनिवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खनालले अनुसन्धानलाई अन्तिमसम्म लैजान पनि आग्रह गरे ।  खनालले अनुसन्धानलाई कुनै बहानामा रोक्ने प्रयास भए जनताले सहन नसक्ने बताए ।

पूर्व प्रधानमन्त्री खनालले गणतन्त्र आएको १५ वर्षका उपलब्धिहरूको समीक्षा हुन जरुरी रहेको समेत बताए । उनले उपलब्धिको समीक्षा गरेर अघि नबढ्ने हो भने देशमा अराजकता आउने बताए ।

पूर्व प्रधानमन्त्री खनालले नागरिकतासम्बन्धी प्रावधान होसियारीपूर्वक सोच्नुपर्ने बताए । उनले देशको सामाजिक संरचनामाथि कुनै पनि व्यवधानका कार्यहरू हुने गरी कुनै प्रावधान राखेर नागरिकता ऐन बनाउनु राष्ट्रघाती हुने भन्दै राष्ट्रिय सहमतिका साथ टुङ्ग्याउनुपर्ने र बहुमतको आधारमा जबरजस्ती गर्नु नहुने बताए ।