विराटनगर । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषि देखिएका राजनीतिक नेताहरुलाई जोगाउने खेल सुरु भएको नागरिक समाजका अगुवाहरुले दाबी गरेका छन् । विराटनगरमा बिहीबार एलिट क्लबले आयोजना गरेको एक कार्यक्रममा नागरिक अगुवा तथा मानवअधिकारवादी नेता कृष्ण पहाडी, राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेललगायतले यस्तो दाबी गरेका हुन् ।

प्राध्यापक पोखरेलले सुडान घोटालामा केही कर्मचारी वा केही प्रहरी अधिकारीलाई दोषि देखाएर नेता उम्किएको तर कमिसन भने नेताले खाएर चुनाव खर्च जोहो गरेको दाबी गरे । त्यस्तै अहिले पनि नेतालाई उन्मुक्ति दिने र कर्मचारी फसाउन सक्ने आशंका रहेको उनले बताए ।

‘सुडान घोटालामा जस्तो ढाकछोप गर्न खोजिँदैछ । सुडान घोटालामा प्रहरी कर्मचारीहरु फसे, फसाइए नेता चोखिए । उनीहरुले त्यही कमिसनबाट चुनाव लडे । त्यस्तै होला कि भन्ने अहिले पनि डर लागिरहेको छ । त्यसकारण यहाँ नागरिकहरु सचेत हुनुपर्छ । नागरिकको दबाबले त्यसलाई रोक्न सक्छ,’ पोखरेलले भने ।

उनले अब संसदभित्र भ्रष्टाचारको विरुद्धमा उभिने सांसदहरुले कित्ताकाट गर्नुपर्नेमा जोड दिए । ‘त्यस्तो अवस्था भयो भने पार्टीलाई पनि दबाब पर्छ, संसद भित्र पनि दबाब हुन्छ र सरकारलाई पनि सहयोग हुन्छ । अहिलेको गठबन्धन सरकार बा मेरो पद नै धरापमा पर्छ कि भन्ने भयको अवस्थामा रहेको छ । त्यसले यो अनुसन्धान प्रक्रियालाई ढुक्कका साथ कसरी अगाडि बढाउन सक्ला,’ उनले प्रश्न गर्दै भने, ‘संसदमा साँच्चै भ्रष्टाचारको विरुद्धमा हुने सांसदहरु एउटा कित्तामा उभिन सक्नुपर्छ । त्यसो भयो भने मात्रै यस्ता ठूलाठूला केशको किनारा लाग्न सक्छ ।’

नागरिक अगुवा तथा मानवअधिकारवादी नेता कृष्ण पहाडीले अहिलेको भुटानी शरणार्थी प्रकरणलाई टुंगोमा पुर्याउन नसके गम्भीर परिणाम आउने दाबी गरे । ‘यो नक्कली शरणार्थीको देश भनेर ठूलो बद्नामी हुने खतरा छ । यो विषय राष्ट्रियता अस्मितासँग जोडिएको विषय हो,’ उनले भने, ‘पार्टी भ्रष्ट हुँदैन । नेता भ्रष्ट हुन्छ । तर, ती नेतालाई फाल्न सक्नु भएन भने पार्टी भ्रष्ट भन्ने मान्यता स्थापित हुन्छ ।’

उनले अहिलेको प्रकरणमा सबै नेताको छोराछोरी संलग्न देखिएको भन्दै यसको संश्लेषण गर्नुपर्नेमा जोड दिए । ‘अहिलेको प्रकरणमा सबै नेताको छोराछोरी देखिन्छ । एक जना पूर्व गृहमन्त्रीको छोरो फरार, एक जना पूर्व उपप्रधानमन्त्री र उनको छोरो पक्राउ, एक जना पूर्वगृहमन्त्रीको सल्लाहकार र उनका छोरा पक्राउ परेका छन् । एक जना भाउजु अर्थात् एउटा ठूलो दलको सांसदको नाम कुख्यातीको रुपमा आएको छ । यो के हो ? यसलाई संश्लेषण गरौं,’ उनले भने, ‘सम्पत्तीको कुरा छ । दाजु कम्बल ओडेर बस्नुहुन्छ । भाउजुले सम्पत्ती व्यवस्थापन गर्नुहुन्छ । त्यहाँ भाउजु दोषि देखिए पनि दाजुकै कारण हो । यत्रा परिवारमा कसैको छोरी, कसैका श्रीमती भएपनि यो व्यवस्थापन बाउ वा श्रीमान्ले गरेका छन् । त्यसैले भ्रष्टाचारको विषय महिला र पुरुष भन्ने हुँदैन ।’

नागरिक अगुवा तथा एलिट क्लवका पूर्व अध्यक्ष माधव रिजालले भ्रष्टाचार विरुद्ध संस्कृति निर्माण गर्न विद्यालयस्तरबाटै पठनपाठन हुनुपर्नेमा जोड दिए । ‘मानिसको कल्चर नै छ । त्यो कल्चरले गर्दा त्यस्तो अवस्था सिर्जना हुन्छ । त्यस्तो अवस्थालाई समाधान गर्नका लागि हामीलाई आफूले आफैंलाई बदल्नु पर्यो । हाम्रीले स्कुलदेखि नै भ्रष्टाचार विरुद्धको संकृतिको शिक्षा दिनुपर्छ,’ उनले भने ।

प्राध्यापक डाक्टर मेदनी शर्माले भ्रष्टाचार अन्त्य गर्नका लागि अर्थतन्त्रको सुधार अनिवार्य रहेको बताए । उनले भने, ‘यो सबै आर्थिक अवस्था कमजोर हुँदा हुने हो, हामीले पहिले अर्थतन्त्र सुधार गर्नुपर्छ, त्यो कसरी भन्नेतिर पनि नागरिक समाजले मन्थन गर्नु आवश्यक छ ।’