कृष्ण पहाडी
नक्कली शरणार्थी प्रकरणमा तीन गम्भीर सवाल र विन्दू छन् । पहिलो भनेको शरणार्थीसम्बन्धी कार्यदल सरकारबाट किन गठन भयो ? २०१६ को डिसेम्बर ३१ मा शरणार्थीलाई अमेरिका लाने कुरा शरणार्थीसम्बन्धी उच्च आयोगले बन्द गरेको भनिसकेको थियो । त्यसकारण यो कार्यदल किन गठन भयो कसको आदेशमा भयो ? विन्दु यहाँबाट सुरु हुन्छ । नीतिगत भ्रष्टाचार त्यहीँबाट सुरु भयो । केही मान्छेलाई मोरङ, झापाबाट विदेश पठाउने भनेर डरलाग्दो खेल सुरु भएको छ । यहीबाट सौदाबाजी भएको छ ।
दोस्रो विन्दु भनेको कार्यदलमा कसैले चिन्दै नचिनेको मान्छे, त्यो विषयमा विज्ञता नभएको मान्छे कसरी नियुक्ति गरियो ? पुराना सचिव र मन्त्रीले नाम आयो मैले चिनेको थिइन भनेका छन् । प्रहरीको एउटा केसीको भनेर सोचेका थिएँ अर्को केसी पर्यो भन्ने आएको छ । हेर्नुहोस्, क्याबिनेटबाट नियुक्ति हुने प्रक्रियाबारे हामीलाई पनि थाहा छ । मन्त्रीपरिषद्बाट निर्णय भएको कुरा ४८ घण्टापछि मात्रै परिपक्क हुन्छ । कृष्ण पहाडी भन्ने मानिस नियुक्ति भयो भने संखुवासभा बस्ने भयो कि अमेरिकाको हो भन्ने सबै प्रक्रिया पुर्याएर गरिन्छ । बायोडाटा जान्छ । गृहमन्त्रालयले तलबाट टिप्पणी उठाउनु पर्छ । तर, यहाँ विचौलियाले भनेका मान्छेहरु कार्यदलमा नियुक्त गरिएका छन् । भलै कार्यदलको प्रतिवेदन गलत छ भन्ने कुरा होइन । अहिले सार्वजनिक भएकै छैन । त्यो थपेको मात्रै भन्ने छ । तर, नियुक्ति कसरी भयो त ? नियुक्ति प्रक्रियामा विचौलिया, दलाल र कमिसन एजेण्डहरुको पहुँच कहाँबाट पुग्यो ? प्रश्न यहाँबाट सुरु हुन्छ ।
तेस्रो विन्दु भनेको कति मानिस नक्कली शरणार्थी बनेर गइसकेका छन् ? नक्कली भुटानी शरणार्थी को–को गइसकेका छन् ? यो मूल्यको कुरा हो । राष्ट्रिय अस्मितामाथि घात भएको छ । सौदाबाजी गरेर यसलाई टुंगोमा पुग्न नदिने प्रयत्न गरिँदैछ । यसलाई टुंगोमा पुर्याउन सकिएन भने नागरिक समाज र लोकतन्त्रको अपमान हुन्छ । लोकतन्त्र एक दिनमा जाँदैन । यही भ्रष्टतन्त्रको कारणले गर्दा ०६१ सालसम्ममा देश अत्यन्तै विग्रिएर गएको थियो । अहिले त्यही अवस्थामा पुगेको छ । नामहरू प्रशस्तै आएको छ । त्यो फेक नाम हो कि सही नाम हो । त्यस विषयमा तथ्य जाँच हुनुपर्छ । अनुसन्धान गहिराइमा हुनुपर्छ । जो मानिसहरु अमेरिकातिर छिरिसकेका छन् उनीहरुले दिएको बयानको कुरालाई अहिले कसैलाई थाहा नभएको कारण रोकिएको भन्ने छ ।
यो विषयमा अन्तराष्ट्रिय कम्युनिटीबाट पनि रिपोर्ट सार्वजनिक हुनसक्छ । स्वार्थमा लेनदेन भयो भने अर्को कुरा हो । भ्रष्ट्राचारको अहिलेको विषयलाई नागरिक समाजले निचोडमा पुर्याउन चाहन्छ भने नागरिक समाजले पनि स्वेतपत्र जारी गर्न सक्नुपर्छ । पब्लिकले त्यसैलाई मान्छ । यो विन्दुसम्म हुनुपर्छ भन्ने कुरामा । त्यसैले मैले प्रष्ट कुरा भनेको छु । एउटा सौदाबाजी भएको छ । अहिले शीर्ष नेतामा देखिएको छटपटाहटको कारण के हो त ? तपाईले विस्तारै विस्तारै सौदाबाजीका मोडलहरु देख्दै जानुहुन्छ ।अर्को लोकतान्त्रिक गणतन्त्र भनेको व्यक्तिको होइन विधिको सर्वोच्चता हो । कानूनभन्दा माथि कोही पनि छैनन् भन्ने हो । हिंजो राजा महाराजालाई कानूनभन्दा माथि थिए भनियो । अहिले नेतालाई कानूनभन्दा माथि राख्नुभयो भने यो व्यवस्था कसरी चल्छ ? यो प्रश्नको जवाफ खोज्नुपर्छ ।
हामीले खोज्नु पर्ने अर्को कुरा के हो भने एउटा दुईवटा चुनाव जित्दैमा उन्मुक्ति पाइँदैन । कानून आफ्नो ठाउँमा हुन्छ । म नामै लिन चाहन्न । तर, नेपालमा के भयो भने भ्रष्ट्राचारको विषयमा मुद्दा चलाएर सांसद पद निलम्बन भएको छ । संसारमा कहिले पनि काँही पनि पाउँदैन । तर, यहाँ त्यस्तो मान्छे काँग्रेसबाट फेरि जितेर आए । फेरि ती मानिस निलम्बनमा परे । त्यो कस्तो पार्टी हो ? भ्रष्ट्राचारको मुद्दामा मुद्दा परेर निलम्बन गरेको मान्छे फेरि निलम्बनमा पर्छ भन्ने जान्दाजान्दै फेरि टिकट किन दिइयो । यो नागरिक सर्वोच्चतामाथि चुनौति हो । मेरो पार्टी, मेरो नेताबाटै, मेरो सर्वोच्चतालाई दाश बनाएर राजतन्त्रको निरन्तरता दिन खोजियो । त्यसकारण आन्दोलनको धुवाँ आइरहेको छ । त्यो हाम्रो नियन्त्रणमा नरहन सक्छ । एउटा पार्टीको कसैलाई ७० करोडको आरोप लाग्यो । उनले फेरि टिकट पाएर फेरि जिते । त्यो भनेको उनी दोषबाट मुक्त भएको होइन । त्यसकारण कुनै पनि पार्टीहरु चोखो छैनन् ।
इन्स्योरेन्सको लाइसेन्स दिँदा १२ वटा कम्पनीबाट १०–१० करोड खाइएको कुरा आएको छ । अरबका बैंकमा पैसा छ, अस्टे«लियाको बैंकमा पैसा छ भन्ने आएको छ । हिन्दुस्तानको बैंकमा पैसा छ । सिंगापुरमा पैसा राखेको कुरा आएको छ । नेताहरुको यति ठूलो आरोप छ । जसका कारण अब कुनै पनि आन्दोलन अराजकतावादी हिसावले अगाडि बढ्छ कि भन्ने खतरा छ । नक्कली भुटानी शरणार्थी प्रकरण सुरुवात हो । यसलाई निष्कर्षमा पुर्याउन सकियो भने नागरिक समाजको आन्दोलन बढ्दै जान्छ । होइन भने भोली यो अराजकता तिर जाने अवस्था छ । त्यसकारण यो नागरिक समाजको आन्दोलनबाट नयाँ नेता जन्मिने, भोलीको राजनीतिक नेता जन्मने यो अवसर पनि हो । त्यसकारण अहिंसात्मक र शान्तिपूर्ण आन्दोलनलाई सशक्त बनाउन आवश्यक छ ।
–विराटनगरमा बिहीबार आयोजित भ्रष्टाचारविरुद्धको कार्यक्रममा पहाडीले राखेको मन्तव्यको सम्पादित अंश ।