महानगरका जनप्रतिनिधिको वर्ष दिन : ‘सबैको सहयोग सकारात्मक’

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालासहितका जनप्रतिनिधिले कार्यभार सम्हालेको १ वर्ष पूरा भएको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना भएको छ ।

मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले कर्मचारी र महानगरवासीका तर्फबाट एक वर्षको अवधिमा राम्रो सहयोग प्राप्त भएको बताए । उनले आगामी दिनमा पनि विराटनगरको विकासका लागि सम्पूर्ण कर्मचारी र महानगरवासीको सहयोग रहने विश्वास व्यक्त गरेका छन् । मेयर कोइरालाले विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानलाई सफल बनाउन कर्मचारीहरुको महत्वपूर्ण भूमिका रहने बताए ।

कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीले एक वर्षको अवधिमा कर्मचारीहरुसँगको सम्बन्ध अत्यन्तै सुमधुर रहेको सुनाइन् । कार्कीले जनताबाट गुनासो नआउने गरी काम गर्नसमेत कर्मचारीहरुलाई आग्रह गरिन् । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली र सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले जनप्रतिनिधिले अघि सारेका नीति तथा कार्यक्रम कार्यान्वयनमा कर्मचारीका तर्फबाट सधैं साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा कार्यपालिका सदस्यसहित महानगरका कर्मचारीहरुको सहभागिता रहेको थियो । महानगरमा ५ सय ७८ जना कर्मचारी कार्यरत रहेका छन् ।

बुधबार, १० जेठ, २०८०, बिहानको ०७:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर