विर्तामोड । झापाको बिर्तामोडस्थित बुधबारे हटियामा डोजर चलेको छ । ब्यवसायीको अवरोधका बाबजुत सोमबार नगरपालिकाले डोजर चलाएको हो ।

सोमबार बिहान बिर्तामोड नगरपालिकाका जनप्रतिनिधिको भेलाले सो स्थान खाली गराउने निर्णय गरेको थियो । नगरपालिकाको स्वामित्वमा रहेको १ बिगाहा १ कठ्ठा जमिनमा बहुतले भवन निर्माण गर्ने नगरको लक्ष्य रहेको छ ।

बिर्तामोड–५ स्थित सो जमिनमा घरटहरा खाली गर्न नगरपालिकाले पटक–पटक सूचना जारी गरेपनि ब्यापारीले अटेर गरेपछि नगरपालिकाले सोमबार डोजर लगाएर खाली गराएको हो । नगरपालिकाले हटिया खाली गराउन पटक–पटक सार्वजनिक सूचना जारी गरेको थियो । अन्तिम पटक शुक्रबार साँझ नगरपालिकाले माइकिङ गरेर २४ घण्टाभित्र घर टहरा र सामान हटाउन भनेको थियो ।

सोमबार बाक्लो संख्यामा सशस्त्र, जनपथ र नगर प्रहरीको उपस्थितिमा हटियामा पालिकाले डोजर चलाएको छ । केहिबेर ब्यवसायी बिरोधमा उत्रिएपनि डोजरसामु उनीहरुको निरीह बनेका थिए ।

शहरी बिकास कोषको ९० प्रतिशत लगानीमा त्यस स्थानमा १ अर्ब लागतको पार्किङसहितको बहुतले ब्यापारिक भवन बनाउने नगरपालिकाको योजना रहेको उपप्रमुख नगेन्द्र संग्रौलाले जानकारी दिए । त्यसका लागि शहरी बिकास कोषले सहमति पनि दिइसकेको बताइएको छ ।

उद्योग वाणिज्य संघ र केही दलको उक्साहटका कारण लाखौ मुल्यको समानमाथी डोजर चलेर नष्ट भएको छ । करीब ३० वटा टहरा भत्काउन १० वटा जेसीवीलाई लगभग ५ घण्टा लागेको थियो । आक्रोशित ब्यापारीले एउटा जेसीबीको सिसा फुटाइदिएका थिए ।

टहरामा डोजर चलाउन शुरु गरेपछि भने ब्यापारीले आफ्ना सामान निकाल्न शुरु गरेका थिए । सो क्षेत्रमा रहेका करिब २ सय व्यापारीमध्ये ७० ब्यापारीले मात्र अनुमति लिएर व्यापार गर्दै आएको पालिकाले जनाएको छ ।