विराटनगर । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गम्भीर काण्ड सार्वजनिक भएसँगै त्यसको विरुद्धमा विराटनगरमा सुरु भएको भ्रष्टाचार विरुद्धको वृहत नागरिक अभियान ११ औं दिनमा पुगेको छ ।

‘साझा मञ्च साझा सवाल, भ्रष्टाचार सबैको सरोकार वृहत नागरिक कआन्दोलन, भ्रष्टाचार विरुद्धको अभियान’ नामक अभियानका क्रममा युवा, विद्यार्थी तथा नागरिक अगुवाहरु सहभागी छन् । अरु बेला १ दिन २ दिनसम्म हुने यसखालका आन्दोलन र प्रदर्शन यस पटक विराटनगरमा ११ दिनसम्म चल्नु यहाँका लागि नयाँ हो । यही प्रदर्शनमार्फत विराटनगरले दिनदैनिक सन्देश दिइरहेको छ ‘भ्रष्टाचारी नछुटुन्, दोषिलाई हदैसम्मको कारबाही होस् ।’

यो अभियानको सुरुवात गर्ने व्यक्ति हुन् निवर्तमान प्रदेशसभा सांसद सूयर्माराज राई । अघिल्लो प्रदेशसभा नेपाली काँग्रेस संसदीय दल कोशी प्रदेशको प्रमुख सचेतकसमेत भएका राई स्पष्ट वक्ता र निष्कलंक व्यक्ति हुन् । उनै राईले त्यसबेला पनि प्रदेशसभामा सुशासन र प्राकृतिक स्रोत साधनमाथिको दोहनको विषय खरो ढंगले उठाउँदै आएका थिए । आफ्नो कार्यकाल सकिएसँगै राजनीतिक गतिविधिमा नदेखिएका राई अहिले भ्रष्टाचारको विषयमा भने आफैं अगुवा भएर लागिरहेका छन् । मोरङ कानेपोखरीका स्थायी बासिन्दा उनी नेपालमा भ्रष्टाचारको जरो नउखेलेसम्म देश समृद्ध बन्न नसक्ने र जनताले सुख नपाउने बताउँछन् ।

‘यो साझा चासोको विषय हो । यो दलभन्दा माथिको विषय हो । त्यसकारण म सडकमा आएको हुँ,’ उनी भन्छन्, ‘पार्टीभित्रै यो विषयमा संघर्ष गरेको भए पनि हुन्थ्यो । तर, पार्टी तिनै भ्रष्टहरुले कब्जा गरेका छन् । त्यसकारण त्यहाँ बहस नै हुन दिँदैनन् । बहस भयो भने पनि त्यतिधेरै महत्व दिँदैनन् । त्यसकारण मेरो विचारमा जनता अन्तिम सत्य हो त्यही कारण म सडकमा आएँ । यहाँ जनता र देश नै विक्री गर्ने अवस्था आएपछि हेरिरहन सकिन्छ त ?।’

विगतमा सुशासन र भ्रष्टाचारको विषयलाई लिएर ठूलाठूला आन्दोलन भएपनि दलहरुले प्रवृत्ती उस्तै दोहोर्याएको उनले बताए । ‘हिंजो व्यवस्था परिवर्तनको विभिन्न आन्दोलनमा सुशासन पनि प्रमुख एजेण्डा थियो । पुरानो व्यवस्थामा भ्रष्टाचार थियो । परिवारवाद थियो । चाकडीबाज थियो, कुशासन थियो । त्यही कारणले हामी पछि पर्यौं । अब नयाँ ढंगले शासन व्यवस्था चलाउनु पर्छ । त्यसपछि सुशासन आउँछ । समृद्धि आउँछ भनेर नै आन्दोलन भएका थिए,’ उनी भन्छन्, ‘अहिले ती विषय उठाएर नयाँ व्यवस्था ल्याइए पनि प्रवृत्ती उस्तै दोहोर्याएको अवस्था छ ।’

उनी अभियानमा विराटनगरका स्वच्छ छवि भएका मानिसहरुले साथ दिएको दाबी गर्छन् । ‘भ्रष्टाचारको विषयमा अज्ञानता, उदासिनता सँगसँगै कोही खान पल्केकाहरुलाई भ्रष्टाचार विरुद्धको आन्दोलनप्रति रिस र आक्रोश होला । तर, विवेक भएका स्वच्छ छविका मानिसहरु अभियानमा जोडिनु भएको छ,’ उनले भने ।

आफू संसदमा हुँदा पनि प्राकृति स्रोत सम्पदा, ढुंगा गिट्टी अवैध तरिकाले उत्खनन् गर्ने विषय उठाएको उनी स्मरण गर्छन् । त्यसमा सफल भएको ठान्ने उनी भ्रष्टाचारविरुद्धको अभियानमा पनि सफल हुने दाबी गर्छन् । पार्टी नै भ्रष्टको कब्जामा रहेको बताउँदा तपाईलाई कारबाही हुँदैन भन्ने प्रश्नमा उनी भन्छन्, ‘म पार्टीले के भन्छ भन्ने विषयमा कुनै चिन्ता गर्दिन । अहिले पार्टी भ्रष्टाचारीले कब्जा गरेका छन् । त्यसकारण मैले उठाएका इस्युले भ्रष्टको कब्जाबाट पार्टीलाई बाहिर ल्याउनेछ । काँग्रेसको विचारको रक्षा पनि हुन्छ नि । त्यही भएर म कसैसँग डराउने कुरा हुँदैन ।’

उनले भ्रष्टाचार विरुद्धको अभियान सुरु गर्नुभन्दा अगाडि यो विषयमा तीन जना युवासँग बसेर छलफल गरे । स्वतन्त्र सामाजिक अभियान्तासँग पनि कुराकानी गरे । त्यसपछि अभिायन सुरु भयो । ‘पहिलो दिनमा २०–२५ जना मानिसले प्रदर्शन गर्ने भन्ने योजना बनाएका थियौं । तर, पहिलो दिनमै १ सय भन्दा बढी मानिसहरु सहभागी भए । काठमाडौं बाहिर भएको यो धेरै ठूलो कार्यक्रम थियो,’ उनले सुनाए, ‘त्यसले हामीलाई साहस दियो, उर्जा दियो । नागरिक आन्दोलनमा धेरै जनमास उतार्ने भन्दा त्यसले दिने सन्देश प्रमुख हुन्छ ।’

निरन्तरको आन्दोलनमा मानिसहरु कुनै दिन कम र कुनै दिन उत्साहजनक उपस्थिति हुने गरेको उनको अनुभव छ । ‘सामाजिक मुभमेन्टमा मानिस कम आउनु नौलो कुरा होइन । यो पार्टीले जस्तो उर्दी जारी गर्ने विषय पनि होइन । स्वेच्छाले हुने कुरा हो,’ उनी भन्छन्, ‘अहिले पनि कतिपय मानिसहरुमा दुविधा जस्तो र अन्यौलजस्तो अवस्था पनि छ । तर, पनि ११ औं दिनसम्म आइपुग्दा मानिसको निरन्तर सहभागीताले धेरै उत्साह थपेको छ ।’

उनको अभियानलाई समर्थन गर्ने छुट्टै टिम पनि छ । कतिपय खर्चहरु आफैंले व्यहोरेको उनी सुनाउँछन् । कतिपय मानिसहरुले स्वस्फूर्त सहयोग पनि गरिरहेका छन् । मानिस आउने र प्रचारको काममा युवाहरु आफैं पनि लागेका छन् ।

अभियान चलिरहँदा उनलाई पार्टीभित्रैबाट दबाब र अरु बाहिरि व्यक्तिहरुले खिसिट्यूरी पनि गरिरहेकै छन् । डरत्रासको वातावरण सिर्जना गर्ने कोशीसहरु पनि भइरहेकै छन् । तर, आफ्नो अभियान निरन्तर चलिरहने उनको दाबी छ । नक्कली शरणार्थी प्रकरणबारे अदालतमा मुद्दा दर्ता नगरेसम्म अभियान जारी रहने उनले बताए । ‘हाम्रो जस्तो समाजमा त्यस्ता धम्की र प्रतिक्रिया नआउने कुरै भएन नि । कसैले प्रकट भएरै गरेका छन् । कोही मानिसले अप्रत्यक्ष ढंगले पनि असहयोग गर्ने खालका काम भएका छन् । अहिलेको आन्दोलनको नेतृत्व गरेको कारणले मेरो आलोचना गर्नेहरु पनि धेरै छन् । सबै ढंगले हतोत्साहित बनाउने, कमजोर बनाउन खोज्ने, डरत्रासको वातावरण सिर्जना खोज्ने कामहरू पनि भइरहेका छन्,’ उनी सुनाउँछन् ।

अबका दिनमा राजनीतिक दल रुपान्तरण हुनुपर्ने उनको धारणा छ । अहिलेको आफ्नो अभियान पनि नैतिक तागत सिर्जना गर्नका लागि भएको उनी बताउँछन् । अब पुराना र परम्परागत पार्टी तथा नेताहरुले नयाँ ढंगले एजेण्डाहरुको विकास गर्ने र अगाडि बढ्ने कोशीस नगरे जनताले अस्वीकार गर्ने र पार्टीको, नेताको अस्तित्व समाप्त हुनसक्ने उनको दाबी छ । ‘म काँग्रेसमै रहँदा पनि त्यहाँभित्र सुशासन र भ्रष्टाचार विरुद्धको आवाज उठि नै रहनेछ । जनताको एजेण्डा उठाएर नैतिक तागत सिर्जना गर्ने र पार्टीलाई रुपान्तरण गर्ने कोशीसमा म हुनेछु,’ उनले भने ।