विराटनगर । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज प्रहरीले सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाउँदै छ।
प्रहरीले आरोपीहरूलाई ठगी, संगठित अपराध र राज्यविरूद्धको कसुरमा मुद्दा चलाउनु पर्ने राय प्रतिवेदन तयार गरेको जनाइएको छ ।
अनुसन्धानको क्रममा राष्ट्रकै छविमाथि आँच पुर्याउने गरी काम भएको ठहर गर्दै प्रहरीले उनीहरूलाई राज्यविरूद्धको कसुरमा पनि मुद्दा चलाउनु पर्ने राय दिन लागेको हो। स्रोतका अनुसार प्रहरीले सो कसुर आकर्षित हुने केही आधारहरू मिसिलमै समावेश गरेको छ।
दोस्रो कसुरमा नेपालीलाई अनागरिक बनाउने खेल छ। नेपाली नागरिकलाई खुलेआम अनागरिक बनाएर विदेश पठाउन करोडौं रकम उठाएको देखिएको छ। यसलाई प्रहरीले दोस्रो आधार बनाएको हो।
तेस्रोमा संगठित रूपमै राष्ट्रको छविमाथि पुर्याएको असरलाई आधार बनाएको छ। उच्च राजनीतिक पृष्ठभूमिका, गृह मन्त्रालय नेतृत्व लगायतले समेत यस घटनामा संलग्न भएर राष्ट्रमाथि घात गरी छविमा आँच पुर्याएको प्रहरीको ठहर छ।
आफू ठगिएको भन्दै विभिन्न व्यक्तिहरूले दिएको उजुरका आधारमा प्रहरीले आरोपीहरूसँग २६ करोड रुपैयाँ बराबरको बिगो माग गर्नुपर्ने राय पनि दिएको छ। अहिलेसम्म करिब १२५ जनाले आफूहरूलाई भुटानी शरणार्थीका रूपमा विदेश पठाइदिने भन्दै २६ करोड बढी रुपैयाँ उठाएको उजुरी दिएका छन्।
यस प्रकरणमा प्रहरीले अहिलेसम्म १६ जनालाई पक्राउ गरेको छ। अझै १२ जनाभन्दा बढीलाई फरार प्रतिवादी बनाएर प्रतिवेदन बुझाउने तयारी छ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असुली गर्ने प्रयासमा कम्तिमा ३२ जना संलग्न रहेको निष्कर्षका साथ आज प्रतिवेदन बुझाउन लागिएको हो ।
सो प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँड, पूर्व मन्त्री टोपबहादुर रायमाझी, नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलगायतलाई पक्राउ गरी अनुसन्धानको प्रारम्भिक प्रतिवेदन बुझाउन लागेको प्रहरीले जनाएको छ । हिजै बुझाउने भनिए पनि कागजातका अपुग भएपछि आज बुझाउन लागिएको हो ।

