एभरेष्ट बैंकबाट डेढ करोड चोरी प्रकरण

मुख्य नाइके विराटनगरका नीरज प्रधान, अनलाइन जुवामा सके रकम

पाँच महिनाको अवधिमा ३३ जना ग्राहकको खाताबाट ५९ पटक कनेक्ट आईपीएस र नक्कली चेक बुक प्रयोग गरेर १ करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएको अनुसन्धानबाट खुल्यो

विराटनगर । एभरेष्ट बैंकको इटहरी शाखाबाट बचतकर्ताले जम्मा गरेको डेढ करोड बढी रकम चोरीको मुख्य गिरोहका नाइके अपरेसन मेनेजर विराटनगर – ८ का ३४ वर्षीय नीरज प्रधान रहेको सुनसरी प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

प्रधानको योजना अनुसार ३३ जना बचतकर्ताले खातामा बचत गरेको एक करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएको पाइएको हो ।

खाताबाटै रकम चोरी भएपछि प्रधानसहित बैंकको इटहरी शाखा प्रबन्धक सिन्धुपाल्चोक बाह्रबिसे ८ घर भएका ४२ वर्षीय विश्वराज शाक्यसहित ९ जना पक्राउ परेका छन् । मेनेजर प्रधान पक्राउ परेपछि बैङ्कका अन्य सात जना कर्मचारीको पनि रकम अपचलनमा संलग्न देखिएपछि पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता डिएसपी राजकुमार राईकाले जानकारी दिए । प्रहरीले एभरेष्ट बैङ्क इटहरी शाखाका सुपरभाइजर ३७ वर्षीय धावा लामा, बैङ्कका कनिष्ठ सहायकहरू २७ वर्षीय मनोज घिमिरे, २७ वर्षीय देवराज शर्मा, २७ वर्षकै रंजित पण्डित, बैंकको इटहरी शाखाकी टेलर ३० वर्षीय पवित्रा कटुवाललाई पक्राउ गरेको डिएसपी राईले बताए । त्यस्तै धनुषाको मिथिला नगरपालिका ११ का ३४ वर्षीय शङ्कर भुजेल, भक्तपुरको सुर्यविनायक नगरपालिका २ का २७ वर्षीय अजय खिउजू पक्राउ परेका छन् ।

पाँच महिनाको अवधिमा ३३ जना ग्राहकको खाताबाट ५९ पटक कनेक्ट आईपीएस र नक्कली चेक बुक प्रयोग गरेर १ करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएको अनुसन्धानबाट खुलेको डिएसपी राईले बताए । ‘यसरी रकम अपचना गर्ने गिरोहका मुख्य नाइके एभरेष्ट बैङ्क उदयपुरका अपरेसन मेनेजर नीरज प्रधान रहेको खुलेको छ,’ डिएसपी राईले भने, ‘बैंकको अपचलन गरेको रकम अनलाइन जुवा र सट्टे बाजी खेलेको बयानको क्रममा बताएका छन् । कति रकम जुवामा सके त्यो खुलिसकेको छैन । अहिले अनुसन्धान भइरहेको छ ।’ पक्राउ परेका कुन कर्मचारीले कति बैंकको अपचलन गरे त्यो पनि नखुलिसकेकोले अहिले अनुसन्धान भइरहेको उनले बताए ।

ग्राहकको कनेक्ट आईपीएसको आइडी पासवर्ड चोरी गरी र नक्कली चेक बनाएर रकम झिक्ने गिरोहका नाइके प्रधान इटहरीबाट पछि गाई घाट शाखाका अपरेसन इन्चार्ज भएर गएका थिए । उनी उदयपुर गएपछि पनि बैंकबाट रकम अपचलन भएपछि थप कर्मचारी पक्राउ परेका हुन् ।

इटहरी शाखामा कार्यरत प्रधानको गत मार्च १२ तारिकमा गाई घाट सरुवा भएको थियो । उनको योजनामा गत १४ नोभेम्बर २०२२ देखि ३१ मार्च २०२३ सम्म पाँच महिनाको अवधिमा ५९ पटक कनेक्ट आईपीएसबाट एक करोड १४ लाख ७५ हजार २८४ रुपैयाँ निकालिएको छ । त्यस्तै नक्कली चेकमार्फत ३५ लाख ४८ हजार १५० रुपैयाँ निकालिएको प्रहरीले बताएको छ ।

कर्मचारीले ३३ जना बचतकर्ताको खाताबाट अधिकतम ७ लाखसम्म निकालेको देखिएको प्रहरीले बताएको छ । आफ्नो खाताबाट रकम हराएपछि ग्राहकले बैंकमा जानकारी गराएका थिए । बैङ्कले प्रहरीलाई अनुसन्धानका लागि निवेदन दिएको थियो ।

अनुसन्धानका क्रममा प्रहरीले २०७९ चैत १२ गते एभरेष्ट बैङ्क गाई घाट शाखाका अपरेसन इन्चार्ज प्रधानलाई पक्राउ गरेको थियो । प्रधानमाथि केरकार गर्दा बैङ्कभित्रको सङ्गठित जालो पत्ता लागेको राईले बताए ।
बैंकको शाखा कार्यालयका प्रबन्धकसहित कर्मचारीको सङ्गठित जालो देखिएपछि इटहरी शाखाका ६ जना कर्मचारीलाई शुक्रवार दिउँसो पक्राउ गरेको हो ।

धनुषाका भुजेल गत वैशाख १० गते र भक्तपुरका खिउजु वैशाख १३ गते पक्राउ परेका थिए । खिउजु र भुजेलले रकम निकाल्न सहयोग गरेको देखिएको प्रहरीले बताएको छ ।

पक्राउ परेकाहरूमाथि बैङ्किङ कसुर र सङ्गठित अपराध कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको सुनसरी प्रहरले जनाएको छ ।

शनिबार, ०६ जेठ, २०८०, दिउँसोको ०१:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page