सांसदलाई दिने ल्यापटप खरिद रोक्न काँग्रेसको आग्रह

विराटनगर । नेपाली काङ्ग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले ल्यापटप खरिद प्रक्रिया रोक्न प्रदेशसभा सचिवालयलाई आग्रह गरेको छ ।

प्रदेशसभा सचिवालयले सांसदका लागि डेढ करोड रुपैयाँ एक सय वटा ल्यापटप खरिदको प्रक्रिया अगाडि बढाएको काँग्रेसले त्यसलाई रोक्न औपचारिक आग्रह गरेको हो ।

बिहीबार बसेको काङ्ग्रेस संसदीय दलको बैठकले ल्यापटप खरिदका लागि छुट्याइएको १ करोड ५० लाख रूपैयाँ किसान लक्षित कार्यक्रममा खर्च गर्न सरकारलाई आग्रह गरेको संसदीय दलका नेता उद्धब थापाले जानकारी दिए । कोशी प्रदेशका विभिन्न जिल्लाका पशु चौपायामा रोग फैलिएको बेला चौपाया मरेर क्षति पुगेका किसानलाई ल्यापटप खरिदका लागि छुट्याइएको बजेट खर्च गर्न काँग्रेसले आग्रह गरेको हो । आग्रहविपरित प्रदेशसभा सचिवालयले ल्यापटप खरिद गरेमा काङ्ग्रेसले नलिने निर्णय गरेको छ ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि विकास निर्माणका आयोजनाको कामको भुक्तानी हुन नसकिरहेको बेला सांसदलाई ल्यापटप वितरण गर्नु गलत भएको बताएका थिए । उनले प्रदेशसभा सचिवालयले दिने ल्यापटप नलिनेसमेत घोषणा गरेका छन् ।

प्रदेशसभा सदस्यले एक महिनाको सुविधाले ल्यापटप खरिद गर्न सक्ने बताउँदै उनले सचिवालयले खरिद गरेर बाँड्नु बेठीक भएको आङ्बोको भनाइ छ । प्रदेश संरचना खर्चिलो भएको भन्दै विरोध भइरहेका बेला विरोधीको विचारलाई बल पुग्ने गरी खर्च बढाउन नहुने उनले बताए ।

नेकपा माओवादी केन्द्रका सांसद गणेश उप्रतीले सांसदका लागि ल्याटप खरिद गर्न छुट्याएको बजेट युवालाई रोजगारी सिर्जनाका लागि खर्च गर्न माग गरेका छन् । ‘ल्यापटप हामी आफै किन्छौ,’ उनले भने, ‘यो बजेटमा (ल्यापटप खरिदका लागि छुटयाएको) सरकारले युवालाई रोजगारी सिर्जना गर्न खर्च गरोस् ।’

प्रदेशसभाका ९३ सांसदलाई जनही करिब सवा लाख रुपैयाँ मूल्य पर्ने ल्यापटप दिने तयारीसहित खरिदको टेण्डर आह्वान गरेको छ । त्यसको लागि प्रदेश सरकारले रकामान्तर गरेर प्रदेशसभा सचिवालयलाई १ करोड ५० लाख रुपैयाँ बजेट दिएको छ ।

बजेट नभएको भन्दै प्रदेश सरकारले कतिपय विकास आयोजनामा भुक्तानी रोकेको बेला सांसदलाई ल्यापटप किन्न रकमान्तर गरेको भन्दै सरकार र प्रदेशसभा सचिवालयको चौतर्फी आलोचना भइहरेको छ । आर्थिक मामिला मन्त्रालय पनि सम्हालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेट रकमान्तर गरेर सांसदलाई ल्यापटप बाँड्ने कार्यक्रमलाई बजेट दिएका थिए ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले प्रदेश सरकारले डेढ करोड रुपैयाँ उपलब्ध गराएपछि ल्यापटप खरिद प्रक्रिया अगाडि बढाएको बताएका छन् । प्रदेशसभा सदस्यहरुले ल्यापटप पाएपछि प्रदेशसभा बैठकको जानकारी, कार्यसूची र विधेयकका बारेमा अनलाइन माध्यमबाट जानकारी दिइने उनको भनाइ छ ।

बिहिबार, ०४ जेठ, २०८०, साँझको ०६:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर