विराटनगर । विगत १० वर्षदेखि प्राङ्गारिक (कम्पोष्ट)मल बनाउँदै आएका मोरङ बुढीगंगा २ का राजुकुमार खड्काको हातमा प्रायः गोबर नै हुन्छ । मल निर्माणका क्रममा क्यारेट उचाल्दाका उनको खुट्टामा चोट छन् । सडकमा फालिएका कुहिने फोहोर देखे बोकेर ल्याउँछन् । कुहिने प्रजातीका केराको दाम्चा, जलकुम्भीजस्ता कुहिने वस्तु जहाँ भेटेपनि सिटी रिक्सामा वा आफैं बोकेर ल्याउँछन् र कुहाउँछन् । अत्याधिक शारिरीक श्रमका कारण उनको शरिर पनि ख्याउटे छ । तर, उनको सोच र सन्तुष्टि भने अतुलनिय छ । त्यसको एउटै कारण हो आम्दानी । उनले विगत १० वर्षदेखि गोबरलाई मोहरमा परिणत गरिरहेका छन् । जसबाट झण्डै डेढ करोडको जग्गा भर्खरै खरिद गरेका छन् । ‘हिंजो म शून्यमा थिएँ । मेरो जग्गा जमिन थिएन । अहिले म दुई विगाहा जग्गाको मालिक भएँ । दूध, मल तथा कृषि उत्पादन गरेरै यतिसम्म सम्पत्ती जोडें । गत वर्ष ८० टन मलको विक्री मात्रै १६ लाखको भयो । मदरकल्चर (गड्यौला) मात्रै ५ लाखको विक्री गरें,’ उनी सुनाउँछन् ।
उनको गोठमा आधा दर्जन भैंसी छन् । मलको मुख्य स्रोत गोबर हो । त्यही गोबरलाई प्रयोग गरेर उनले गत वर्ष ८० टन प्राङ्गारिक मल उत्पादन गरे । यो वर्ष १ सय टन मल बनाउने लक्ष्य लिएका छन् । प्रतिटन २० हजार रुपैयाँमा मल विक्री हुने गरेको उनी सुुनाउँछन् ।
खड्काले भैंसी पाल्न थालेको ५० सालदेखि हो । तर मल बनाउन थालेको ७० सालदेखि हो । ७० सालमा कृषि सहकारी संस्थाबाट मदर कल्चर (गड्यौला) ल्याएका उनले त्यसपछि भने मदरकल्चर आफैं विक्री गर्न सुरु गरे । प्राङ्गारिक मल ३ महिनामा तयार हुन्छ भन्ने मान्यता छ । तर, एक महिनामै मल उत्पादन हुनसक्ने प्रयोगबाट देखिएको उनी बताउँछन् । ‘१ किलो प्राङ्गारिक मलमा १६ वटा तत्व हुन्छ । एक पाउ युरिया, पोटासिम एक पाउ, डिएपीलगायतका सबै तत्व पाउने परीक्षणले देखाएको छ,’ उनले दाबी गरे, ‘एक किलो युरियालाई ५० रुपैयाँ पर्छ । उक्त युरियामा ४६ प्रतिशत अर्थाते लगभग आधा किलोमात्रै युरिया हुन्छ । तर, हामीले उत्पादन गरिरहेको मलमा भने २० रुपैयाँ प्रतिकिलोमा पाइने र त्यसमा २५० ग्राम युरिया, डिएपीसहितका १६ वटा तत्व पाउने हुँदा पनि मार्केट लिन सकिरहेको छैन ।’
पहिले २० वर्षसम्म उनले गोबर मल २ सय ३ सयरुपैयाँ प्रतिट्याक्टर विक्री गर्थेे । तर, अहिले त्यति मलकै प्राङ्गारिक बनाउँदा ६० हजार रुपैयाँसम्ममा विक्री भएको उनले बताए । सरकारले प्राङ्गारिक मललाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ ।
कृषकहरु संगठित हुँदै
उनी मात्रै होइन मोरङ बुढीगंगा गाउँपालिका २ का पशुपालक ६ जना किसान प्राङ्गारिक मल उत्पादन गरेरै पैसा कमाउने ध्याउन्नमा छन् । पशुपालन गर्दा खेर गइरहेको गोबरलाई पैसामा रुपान्तरण गर्नेे उनीहरुको मेहनत पनि लोभलाग्दो छ ।
यो वर्ष मात्रै उनै खड्काको पहलमा मोरङ सामाजिक संगठन दर्ता भएको छ । जसमा ५१ जना संगठित किसान छन् । त्यसमा ६ जना किसानले चाहिं प्राङ्गारिक मल उत्पादन गरिरहेका छन् । मल उत्पादक किसान १० जना पुर्याउने खड्का बताउँछन् । यो समूहले आगामी वर्ष १ हजार टन मल उत्पादन गर्ने लक्ष्य राखेको छ । उक्त संगठनका कृषि संयोजक हुन् खड्का । अध्यक्ष दिनेश सापकोटा हुन् । एक किलो प्राङ्गारिक मलमा २० रुपैयाँमा विक्री गर्दा फाइदा हुन्छ र ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘यो फालिएको वस्तु हो । यसलाई हामीले पैसामा रुपान्तरण गरेर प्रतिकिलो २० रुपैयाँ बनाइयो ।’

सोही ठाउँका नवराज काफ्ले उमेरले रिटायर्ड भइसके । तर, भर्खरै उनले पनि उनै खड्काको प्रेरणाले मल उत्पादन सुरु गरेका छन् । ‘मल उत्पादन गर्न थालेपछि गोबरले नै पुग्न छोड्यो नि । पहिले गोबर कहाँ फाल्ने समस्या थियो । बसिरहँदा गोबर मल बनाएर बेचौं न भनेर सुरु गरियो,’ उनी भन्छन्, ‘नेपालमा मलको अभाव सँधै हुन्छ । यसरी मल उत्पादन हुनथालेपछि त अभाव नहोला नि त ।’ उनले पनि एक सय १५ वटा क्यारेटमा झण्डै २३ टन मल उत्पादन गर्ने तयारी गरेका छन् । उमेरले रिटायर भइसकेका उनी अहिले आएर मलबाट आम्दानी गर्ने लक्ष्य राखेका छन् ।
बुढीगंगा २ नेमुवाका टिका कुमार साह पनि यही वर्षदेखि प्राङ्गारिक मल उत्पादन गर्ने तयारीमा छन् । उनको गोठमा भैंसी र गाई गरेर १५ वटा छन् । २०७४ सालदेखि साह कृषि फर्म दर्ता गरेर पशुपालन गरिरहेका उनको गोठमा हरियाणाका मुर्रा जातका भैंसी छन् ।
उनी ०६८ सालमा कतार गएका थिए । ‘कतारमा मासिक २५–३० हजार रुपैयाँ कमाइ भएन, अहिले त्यसको तीन गुणा बढी आम्दानी गरिरहेको छु, अब मल उत्पादन गरेर आम्दानी ५ गुणा बनाउने मेरो लक्ष्य छ,’ उनी सुनाउँछन् । अहिले उनले दैनिक ४५ देखि ५० लिटर दूध उत्पादन गर्छन् । ‘मल खेर गइरहेको छ । अहिले ट्याक्टरको हिसावले बेच्दा २ हजारमा पनि विक्री हुँदैन, तर प्राङ्गारिक मल बनाउँदा प्रति टन २० हजार भन्दा बढीमा विक्री हुन्छ,’ उनले भने, ‘प्राङ्गारिक मल बनाउने तालिम पनि राजुकुमार खड्काले दिनुभएको छ ।’
मल बर्बाद नगर भनेर उनै खड्काले साहलाई सिकाइरहेका छन् । उनको लक्ष्य प्रति महिनामा ५ टन मल उत्पादन गर्ने छ । टनको २० हजारले विक्री हुँदा मासिक एक लाख मलबाटै आम्दानी हुने उनी बताउँछन् । ‘देशमा कृषि क्रान्ति गर्नका लाग युवाहरु जागरुक हुनुपर्छ,’ उनको भनाइ छ, ‘तर, यहाँ दुःख गर्न र टिक्न चाहिं सक्नुपर्छ ।’
रासायनिक मल र प्राङ्गारिकको फरक के ?
रासायानिक मल र यो मलमा धेरै फरक नभएको उनी दाबी गर्छन् । रासायनिक मलले खेतबारी विग्रीएको कारण प्राङ्गारिक मल एक कठ्ठामा ५०–६० किलोले पुग्दैन । २–३ बालिसम्म प्रति कठ्ठा १ सय किलोसम्म प्रयोग गर्नुपर्ने र त्यसपछि ५०–६० किलोले नै पर्याप्त मल पुग्ने उनको भनाइ छ । कृषि विज्ञहरुको प्राङ्गारिक मल हालेको बालिमा धेरै विषादी प्रयोग गर्नुपर्दैन भन्छन् । प्राङ्गारिक मलबाट उत्पादित बालिमा धेरै रोग पनि नआउने उनको दाबी छ । गाउँघरका ठूला किसानले मल खरिद गरेका छैनन् । फर्मवाला र कौशी खेती गर्नेहरू, कागती खेती, चिया खेती गर्नेहरुले मल खरिद गरिरहेका छन् ।

प्रदेश कृषि मन्त्रालयसँग छैन तथ्यांक
कोशी प्रदेश कृषि मन्त्रालयसँग भने प्रदेशभरीमा कति प्राङ्गारिक मल उत्पादन भइरहेको छ भन्ने तथ्याङ्कै छैन । कति किसानले मल उत्पादन गरिरहेका छन् भन्ने विषय पनि जानकारी नभएको मन्त्रालयका प्रवक्ता पशुपति पोखरेलले बताए ।
प्राङ्गारिक मल उत्पादक किसानलाई प्रोत्साहनको लागि प्रदेश सरकारले ठूला कार्यक्रम पनि बनाउन प्रदेश सरकारले सकेको छैन । ‘तपाईले भनेपछि हामीले यो पनि तथ्याङ्क राख्नुपर्ने रहेछ भन्ने लागेको छ, प्रत्येक किसानलाई सम्पर्क गरेर उत्पादनको तथ्यांक लिन सकिन्छ । तर, अहिलेसम्म त्यसरी तथ्यांक राखेको चाहिं छैन,’ पोखरेलले भने, ‘आगामी वर्षदेखि प्राङ्गारिक मल उत्पादन गर्ने किसानको तथ्याङ्क राख्छौं ।’

