विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई प्रदेश सरकारले बर्खास्त गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले वाग्लेलाई बर्खास्त गर्ने निर्णय गरेको सामाजिक विकासमन्त्री बुद्धिकुमार राजधण्डारीले जानकारी दिए ।

गत वैशाख १४ गतेदेखि १६ गतेसम्म झापामा आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको बोर्डले व्यानरमा कोशी प्रदेश नलेको भन्दै सामाजिक विकास मन्त्रालयले उनलाई बर्खास्त गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पेश गरेको थियो । उनलाई मन्त्रालयले बर्खास्त गर्ने प्रयोजनकै लागि दुई पटक स्पष्टीकरण सोधेको थियो ।

सामाजिक विकास मन्त्रालयले पहिलो पटक वैशाख १७ गते पनि वाग्लेलाई पत्र लेख्दै ७ दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण पेश गर्न भनेको थियो । वाग्लेले स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नदिएको भन्दै मन्त्रालयले कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेस गर्न वैशाख २८ गते पुनः अर्को पत्र पठाएको थियो ।

तोकिएको समयभित्र वाग्लेले स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएकाले बर्खास्त गरिएको मन्त्री राजभण्डारीले जानकारी दिएका छन् । राजेन्द्रकुमार राई नेतृत्वको सरकारले तत्कालिन सदस्यसचिव पर्शुराम बस्नेतलाई बर्खास्त गरेर वाग्लेलाई नियुक्त गरेको थियो ।

मन्त्रालयले यसअघि नै प्रभु बैंकमा पत्र लेख्दै खेलकुद विकास बोर्डको बैंक खाता रोक्का गरेको थियो । फ्लेक्स ब्यानरजस्तो महत्त्वपूर्ण कुरामा कोशी प्रदेश उल्लेख नभएपछि प्रतियोगितासम्बद्ध पत्राचार, चेक, प्रमाणपत्र लगायतमा कोशी प्रदेश लेखिने कार्य नियतवश भएको भन्दै वाग्लेलाई बर्खास्त गरिएको छ ।

प्रदेशको नाम कोशी राखेपछि प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री र सांसदहरु पनि पहिचानवादीको प्रभाव भएको क्षेत्रमा जान सकेका छैनन् । पहाडी क्षेत्रका गाउँपालिकाले पनि आफ्नो बोर्डमा कोशी लेख्न नसकेको बेला प्रदेश सरकारले भने सोही बहानामा खेलकुदका सदस्यसचिवलाई बर्खासत गर्नुलाई धेरैले अनौठो मानेका छन् ।

राजनीतिक नियुक्ति भएकोले सरकारले हटाउन सक्ने भएपनि हटाउनुको कारण आफैंमा अनौठो देखिएको खेलक्षेत्रका जानकारहरु बताउँछन् । ‘वाग्लेलाई कोशी नलेखेकोमा बर्खास्त गर्ने मुख्यमन्त्री र मन्त्रीले पहाडी जिल्लामा गएर कोशीको ब्यानरमा कार्यक्रम गरेर देखाउन सक्छन् ?’ एक खेलाडीले प्रश्न गरे, ‘आफैं विराटनगरमा खुम्चिएर बसेकाहरुले कोशी नलेखेको बहानामा बर्खास्त गर्न लाजमर्दो हो ।’

यता बर्खास्तीमा परेका सदस्यसचिव वाग्लेले आफ्नौ कुनै गल्ती र कमजोरी नभई सरकारले बर्खास्त गरेको भन्दै न्याय खोज्ने प्रतिक्रिया दिएका छन् । ‘राजनीतिक प्रतिशोध राखेर मलाई हटाइएको छ’ उनले भने, ‘हटाउन सोधिएको स्पष्टिकरण र त्यसको कारण हाँस्यास्पद रहेकोले त्यसविरुद्ध अदालत जानेछु ।’