एमाले उपनेता मगरमाथि पहिचानवादीद्वारा आक्रमण, बैठक छाडेर झापा फर्किए

विराटनगर । कोशी प्रदेश प्रदेशसभा सदस्य तथा नेकपा एमाले संसदीय दलका उपनेता रामबहादुर मगरमाथि गृहजिल्ला इलाममा पहिचानवादीले आक्रमणको प्रयास गरेका छन् ।

बुधबार इलामको माङसेबुङ गाउँपालिकाको एउटा कार्यक्रममा सहभागी हुन पुगेका मगरमाथि पहिचानसहित प्रदेशको नामकरण गर्न माग गर्दै आएको समूहले आक्रमणको प्रयास गरेको हो ।

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले एक विज्ञप्ती जारी गर्दै केही उच्छृङ्खल र अराजक व्यक्तिहरुले मगरमाथि सांघातिक आक्रमण गर्ने प्रयास गरेको बताएका छन् । आक्रमणको उक्त प्रयासप्रति एमाले संसदीय दलको कार्यालयले निन्दा र भर्त्सना गर्दै संलग्नलाई कारबाहीको माग गरेको छ ।

‘मुलकुमा सबैले शान्तिपूर्ण र कानून सम्मत ढंगले आफ्ना विचार व्यक्त गर्ने, नागरिकको स्वतन्त्रपूर्वक आवतजावत गर्न पाउने र सोही अनुसारको व्यवहार प्रदर्शन गर्न पाउने संवैधानिक अधिकारको घोर उल्लंघन गर्दै कानून हातमा लिने, हिंसात्मक गतिविधि गर्ने जस्ता कार्यबाट समाज र देशलाई उचित ढंगले अगाडि बढाउन सकिंदैन’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो दल मुलुकको विकास, समृद्धि, जातीय, भाषिक तथा साँस्कृतिक एकता र सदभावको पक्षमा दृढतापूर्वक उभिंदै आएको छ। तसर्थ, माननीय रामबहादुर राना मगरप्रति गैरकानूनी हर्कत र उच्छृङ्खल गतिविधि प्रदर्शन गरी आक्रमण गर्ने त्यस्ता व्यक्तिहरुलाई तत्काल कानूनको दायरामा ल्याई कार्वाही गर्न सरकारसँग जोडदार माग गर्दछ’ ।

नेकपा एमालेका केन्द्रिय सदस्यसमेत रहेका मगर एमाले जिल्ला कमिटि इलामको बैठकका लागि जाने क्रममा माङ्सेबुङ्ग गाउँपालिका ३ स्थित पुरानो गाविस भवन क्षेत्रमा आक्रमण भएको प्रहरीले जनाएको छ । प्रदेश १ को नामाकरण राख्दा प्रदेशसभामा कोशी नामको प्रस्तावक रहेका उनलाई ढुङ्गा प्रहार भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख दिलिप घिमिरेले बताए ।

आक्रमणबाट मगर सवार गाडिको सिसा फुटेको छ । आक्रमणबाट राना सवार बा २ झ ३७३७ नम्बरको गाडीको अगाडि र पछाडीको सिसा फुटेको प्रहरीले जनाएको छ । घटनामा संलग्नको खोजी भइरहेको र सासंद राना सकुसल रहेको प्रहरीले जनाएको छ । आक्रमणपछि मगर जिल्ला कमिटिको बैठकमा सहभागी नभइ दमक फर्किएका छन् ।

कोशी प्रदेशसभाले पहिचानलाई उपेक्षा गरेर प्रदेशको नाम कोशी राखेको भन्दै पहिचान पक्षधरहरु आन्दोलित छन् । उनीहरुले प्रदेशको पुनः नामकरण गर्नुपर्ने माग गर्दै आएका छन् ।

बुधबार, ०३ जेठ, २०८०, साँझको ०६:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर