झापा ।भ्रष्टाचारका विषयमा सामाजिक सञ्जालमा लेखेका एक युवक तीन दिनदेखि बेपत्ता भएका छन् । झापाको बुद्धशान्ति गाउँपालिका– ४ का ३३ वर्षीय शेरबहादुर सुहाङ्ग बैशाख ३१ गते रातिदेखि बेपत्ता भएका हुन् ।

उनका बुबा खम्बबहादुरले छोराको खोजी गरिदिन भन्दै इलाका प्रहरी कार्यालय धुलाबारीमा निवेदन दिएका छन् । तीन दिनसम्म प्रहरीले उनलाई भेटेको छैन । बुद्धशान्ति गाउँपालिकाको बुधबारेमा नेपाल विद्यार्थी संघ र तरुण दलले भ्रष्टाचारको विरोधमा र्याली निकालेको थियो । सोही र्याली समर्थनमा उनले फेसबुकमा स्टाटस लेखेका थिए ।

स्टाटस लेखेको विरोधमा बैशाख ३१ गते राति ८–९ जनाको समूह हत्या गर्ने धम्कीसहित उनको घर पुगेको थियो । स्थानीय दिलकुमार लावाङ(करण), नवराज लिम्बू, शुक्रराज लिम्बु र सुमन लिम्बूसहित ८–९ जनाको टोलीले राति साढे ११ बजे उनको घर घेरेर ढुंगामुढा गरेको थियो । उनका बुबालाई ‘छोरा निकाल मार्छु’ भन्दै ८–९ जनाको समूहले धम्की पनि दिएको थियो ।

आफ्नो घर घेराउ हुँदा शेरबहादुर भने साथी कुलबहादुर गौतमसँग बाहिर थिए । खोजी गर्दै घरमा पुगेको टोलीले उनलाई नभेटेपछि घर तोडफोड गरी फर्किएको खम्बबहादुरले प्रहरीलाई दिएको निवेदनमा उल्लेख गरेका छन् । सोही रातदेखि बेपत्ता भएका सुहाङ्ग अझै नभेटिएका हुन् । उनले प्रयोग गर्ने मोटरसाइकल घरदेखि केही पर खानीगौडा झोलुङ्गे पुलमा चावीसहित वेवारिसे अवस्थामा भेटिएको छ । प्रहरीले बाइक भेटिएको स्थान नजिकै उनले लगाएको टि–सर्ट र घडी पनि भेटेको छ ।

प्रहरीले आक्रमणका लागि उनको घरमा पुगेको समूह र राति उनीसँग गएका गौतमसँग सोधपुछ गरिरहेको छ । मोटरसाइकल, घडी र लगाएको कपडा भेटेका कारण आक्रमण गरी उनलाई बेपत्ता पारेको हुनसक्ने आशंकामा खोजी तिब्र बनाइएको प्रहरीले बताएकोे छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बेपत्ता भएका व्यक्तिको खोजी भइरहेको बताए । प्रहरीको टोली शेरबहादुरको खोजीमा जुटेको बताउँदै उनले भने, ‘शंकास्पद व्यक्तिलाई ल्याएर अनुसन्धान गरिरहेका छौं ।’