विराटनगर । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाईँले भुक्तानीमा समस्या हुने डरले योजनाको काम नरोक्न निर्माण व्यावसायीसँग आग्रह गरेका छन् । मन्त्रालयको तेस्रो चौमासिक समीक्षा बैठकमा मन्त्री चापागाईँले भुक्तानीमा समस्या हुने डरले निर्माण व्यावसायीहरूले काममा जाँगर नचलाएको भन्ने गुनासो सुन्नमा आएको भन्दै त्यस्तो अवस्था नरहेकाले तीव्र गतिका साथ काममा लाग्नका लागि आग्रह गरेका छन् ।
‘भुक्तानीका लागि मन्त्रालयले व्यवस्थापन गर्ने भएकाले भुक्तानीका कारण अप्ठ्यारो पर्दैन,’ मन्त्री चापागाईँले भने ‘समस्या नआवोस भनेर पटक– पटक आर्थिक मामिला तथा योजना मन्त्रालय तथा मुख्यमन्त्रीसँग छलफल गरेका छौ । त्यस्तो समस्या आउन नदिने मुख्यमन्त्रीले समेत बताइसक्नु भएको छ ।’
चैत्र मसान्तसम्म भौतिक पूर्वाधार विकास मन्त्रालयले ४६ प्रतिशत भौतिक प्रगति गरेको समीक्षा बैठकमा जनाइएको छ । बैशाखसम्मको भौतिक प्रगति ६० प्रतिशत पुगेको समेत मन्त्रालयले जनाएको छ ।
गत आवमा पूँजीगत खर्चतर्फ सात वटा प्रदेश मध्ये प्रदेश पहिलो भएको भन्दै कोशी प्रदेश भएपछि १ नम्बर बनाउन चुनौती रहेको मन्त्री चापागार्इँको भनाइ छ । प्रगति देखिने मन्त्रालय भौतिक नै भएकाले २ महिना भित्र लक्ष्यमा पुग्ने गरी काम गर्नसमेत मन्त्रीचापागाईँले कर्मचारीलाई निर्देशन दिएका छन । मन्त्रालयले ९५ प्रतिशत भौतिक प्रगतिको लक्ष्य लिएको छ ।

