विराटनगर । सुनसरी देवानगञ्जका किसान कपुरी पाल उनलाई थाहा भएदेखि अहिलेसम्म भेडा नै चराइरहेका छन् । उनलाई थाहा छ आफ्ना बुबा र हजुरबा पनि भेडा नै पाल्थे । उनको गोठमा ७ सय भेडा छन् । ‘पढाइलेखाइ छैन । मलाई याद भएदेखि म भेडीगोठमै छु । अहिले ७ सय भेडा छ,’ पाल भन्छन् ।
तर, पाललाई ऊन विक्री नहुँदा घाटा भइरहेको छ । ‘ऊन यहाँ विक्री हुँदैन । पहिले राडी बनाउँथ्यौं । अहिले बनाउँदैनौं । पहिले घरमा आमाले राडी बनाउनु हुन्थ्यो । तर, अहिले कसैले बनाउँदैन,’ उनले भने । ऊनबाट राडी विक्री हुँदा धेरै फाइदा हुन्थ्यो । ऊन १ नम्बर राम्रो रहेको उनको दाबी छ । ‘यहाँ यसको व्यवस्थापन कसरी गर्नु रु ऊन त काटेर फाल्छौं,’ उनी भन्छन् । राडी बनाउँदा महँगो पर्ने तर, सस्तोमा ब्लाङ्केटहरु आउने हुँदा ऊन फाल्नु परेको उनी सुनाउँछन् । ‘एउटा राडी बनाउन ८ जना मान्छे लाग्छ । अब सस्तोमा ब्लाङ्केट आएको छ । २ हजार ३ हजारमा ब्लाङ्केट आउँछ । तर, राडीलाई ५ हजार भन्दा माथि पर्छ,’ उनी भन्छन् ।
भेडा विक्रीमा भने उनलाई समस्या छैन । भारतबाट १० हजार १२ हजार प्रतिगोटा किन्ने मानिस आउँछन् । ‘एकै दिनमा पनि ५ सय वटासम्म भेडा लिन भारतबाट आउँछन् । भर्खरै ७५ वटा भेडा बिक्री गरें,’ उनले सुनाए, ‘नेपालमा भने भेडा खासै विक्री हुँदैन ।’ उनलाई भेडाको लागि चरण क्षेत्रको अभाव छ । ‘नेपालमा धेरै चराउन ठाउँ छैन । भारतमै लानुपर्छ चराउनका लागि पनि । भारतमै अहिले ५ सय बढी भेडा चराइरहेका छौं,’ उनले भने ।
सुनसरीको देवानगञ्जमा मात्रै ८० जना किसानहरुले भेडापालन गरेका छन् । उनीहरुसँग ५ हजारबढी भेडा रहेको गाउँपालिकाका पशुसेवा शाखाका अधिकृत हरिनारायण मेहता बताउँछन् ।
तर, पालको जस्तै सबै किसानलाई एउटै समस्या छ । भेडाको ऊन र दूध विक्री हुँदैन । भेडी गोठ जहाँ पुग्यो त्यहाँ दूध दुहुन्छन् र आफैं खान्छन् । ऊन जहाँ काट्यो त्यही फालेर उनीहरु हिंड्छन् । ‘देवानगञ्जको १, ३ र ५ नम्बर वडामा ७० देखि ८० जना किसानले ५ हजार बराबरको संख्यामा भेडा पालन गरेका छन्,’ मेहता भन्छन्, ‘ऊन र भेडाको दूधको उचित व्यवस्थापन छैन । मासु काटेर बेच्ने व्यवस्थापन पनि हुन सकेको छैन । भेडाको विक्री वितरण हुने अवस्था पनि छैन । भेडा पालन किसानको विकासको लागि पालिकाले पनि ध्यान दिन सकेको छैन । प्रदेशबाट पनि उचित व्यवस्थापन भएको छैन ।’
एक दशक अगाडिसम्म देवानगञ्जमा दशौंहजार भेडा पालन हुन्थ्यो । अहिले घट्दै गएको पालिकाले जनाएको छ । भेडापालक किसानलाई प्रोत्साहित गर्न स्थानीय सरकारले आवश्यक नीति र चरन क्षेत्रको व्यवस्था गर्नुपर्ने किसानहरूको माग छ । तर स्थानीय, प्रदेश र संघ कुनै सरकारले पनि यसतर्फ चासो नदेखाएको उनीहरु बताउँछन् ।
ओखलढुंगा रुम्जाटारकी पदमकुमारी गुरुङले १३ वर्षको उमेरदेखि राडी बुन्न थालेकी हुन् । उनले २०७१ सालमा पदमउमा नाममा राडीपाखी उद्योग दर्ता गरेर संचालन गर्दै आएकी छिन् । जब युवा पुस्ता वैदेशिक रोजगारीका लागि जाने चलन बढ्यो, राडी बुन्नेको संख्या झनै घट्यो । तब, पदमकुमारीको नेतृत्वमा ‘भेडा विकास समिति’ गठन भयो । यो समितिले भेडापालनको संख्या बढाउनेदेखि ऊन वितरणसमेत गर्दै आएको छ । भेडीगोठबाट वर्षको दुईपटक समितिमा ऊन ल्याइन्छ । व्यवसायीले आफ्नो क्षमता अनुसार ऊन लगेर राडी बुन्ने गर्छन् । विगतमा राडीपाखी बनाउनेको संख्या धेरै थियो । विस्तारै यो संख्या घट्दै गएको छ । तर विगतमा ४ देखि ५ धार्नी मात्रै ऊनको राडीपाखी बनाउँदै आएकाले अहिले एक सय भन्दा बढी धार्नी ऊन खपत गर्न थालेकाले राडीपाखीको उत्पादनमा भने बृद्धि भइरहेको गुरुङको दाबी छ ।
त्यसयता ओखलढुंगामा विस्तारै भेडाको संख्यामापनि बृद्धि भइरहेको छ । भेडा विकास समितिमा आवद्ध भएका उद्यमीहरुको ९ हजार भेडा छन् । पदमकुमारीकै गोठमा एक हजार भेडा छन् । उनको गोठबाट वार्षिक एक हजार धार्नी ऊन उत्पादन हुन्छ । वार्षिक तीन सय थान राडिपाखी बनाएर बिक्रि गर्दै आएको उनले बताइन् । उनको उद्योगमा बनेका राडी प्रतिगोटा आकार र गुण अनुसार २५ सय देखि ३० हजार सम्ममा बिक्री हुने गरेको छ । ऊन प्रतिधार्नी ५ सय रुपैयाँमा खरिद बिक्रि हुने गरेको छ । ऊनबाट डबल राडी, चारपाटे राडी, सिंगल राडी, घुमराडी, चकटी, अबरा उत्पादन हुन्छ ।
ओखलढुंगामा भेडाको संख्यामा वृद्धि भएपनि समग्र प्रदेशको तथ्याङ्कलाई हेर्ने हो भने भेडाको संख्या वर्षेनी ५ देखि ७ प्रतिशतसम्म घट्दै गइरहेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय कोशी प्रदेशले जनाएको छ । निर्देशनालयको तथ्याङ्क अनुसार प्रदेशमा भेडाको संख्या ६० हजार छ । यसको प्रमुख कारण चरन क्षेत्रको अभाव हो । अधिकांश वन सामुदायिक वनमा रूपान्तरित भएपछि भेडा चराउन नदिने समस्या छ । जसले गर्दा भेडीगोठहरू घट्दै गएको उदयपुर गाइघाटका भेडापालक किसान धनबहादुर मगरले बताए । यहाँका भेडीगोठ वर्षामा सोलुखुम्बुको दूधकुण्डदेखि हिउँदमा उदयपुर र सिन्धुलीको माथ्लो भेगसम्म लाने गरिन्छ ।

