विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार गठन भएको एक सय दिन पुगेको अवसरमा गत वैशाख ५ गतेदेखि सर्वदलीय सरकारबारे आव्हान भयो । उक्त आव्हानले ठोस आकार ग्रहण गर्दै गएको काँग्रेसका केही नेताहरुले बताएका छन् । मुख्यमन्त्री कार्कीले त्यसबेला भनेका थिए, ‘मेरो प्रयास अब सर्वदलीय सरकार बनाउन हुनेछ, सबै दललाई म आव्हान गर्न चाहन्छु ।’

काँग्रेसका महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री भीष्मराज आङ्देम्बे कोशी प्रदेश सरकारबारे केहीदिनदेखि छलफलमा जुटिरहेका छन् । उनीहरुले दुई दिन अगाडि प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डसँग कोशी प्रदेशको सरकारको विषयमा छलफल गरे । उक्त छलफलमा प्रधानमन्त्री प्रचण्डले काँग्रेसले नै कोशी प्रदेश सरकारको विषयमा के गर्ने भनेर पहल लिन सुझाव दिएको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । ‘कोशी प्रदेश सरकारको विषयमा के गर्ने भनेर उहाँहरुले प्रधानमन्त्रीज्यूसँग सुझाव माग्नु भयो, प्रधानमन्त्रीले तपाईहरुले नै पहल अगाडि बढाउनु होस् भन्नुभयो,’ आचार्यले छलफलका क्रममा भएको कुराबारे जानकारी दिए । त्यसबाहेक प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशमा राप्रपाले के गर्छ भनेर चासो राखेको काँग्रेस स्रोत बताउँछ ।

आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउन प्रधानमन्त्रीले ठोस पहल गर्ने संकेत नजुटेपछि काँग्रेसका थापा, शर्मा र आङ्देम्बेले एमाले र राप्रपासँग छलफल अघि बढाएका थिए । ‘सहमतिको सरकार बनाउने विषयमा छलफल अगाडि बढेको बुझेको छु । कोशी प्रदेशमा प्रतिपक्षीबिहीन संसद बन्लाजस्तो छ,’ काँग्रेसका एक सांसदले भने, ‘एमाले र काँग्रेसको एक चरणको छलफलबाट सहमतिको सरकार बनाउने सैद्धान्तिक सहमति भइसकेको छ । अब सहमतिमा हस्ताक्षर कहिले गर्ने भन्ने विषय भने खुलिसकेको छैन ।’

काँग्रेस कोशी प्रदेश संसदीय दलका नेता उबद्ध थापाले भने नेतृत्वसँग स्पष्ट जवाफ माग गरिएको बताए । ‘प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउने समय नजिक आइरहेको बेला काँग्रेसले सत्तापक्षको भूमिका खेल्ने कि प्रतिपक्षीको भूमिका खेल्ने ? स्पष्ट त हुनुपर्यो नि ?,’ थापाले भने, ‘हामीले यस विषयमा केन्द्रबाट स्पष्ट निर्देशन दिनुपर्यो भनेका छौं ।’ सहमतिको सरकार बनाउने दिशामा कोशी प्रदेशका दलहरु लागेका हुन् भन्ने प्रश्नमा थापाले भने, ‘मुख्यमन्त्रीले आव्हान गरेको विषय सकारात्मक छ । त्यस विषयमा छलफल भइरहेको छ ।’

उता, सर्वदलीय सरकार गठन गर्ने विषयमा आफूलाई त्यस्तो जानकारी नभएको माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए । ‘मलाई अहिलेसम्म त्यस्तो कुनै जानकारी छैन,’ उनले भने । काँग्रेस संसदीय दलका नेता थापाले भने प्रदेशसभाको अंकगणित असहज प्रकृतिको रहेको कारण सहमतितर्फ दलहरु जानसक्ने पनि बताए । ‘प्रदेशको अवस्था जटितातिर गइरहेको मलाई पनि थाहा छ, यस्तै अवस्था हो भने मध्यावधिमा जाने, प्रदेश खारेज गर भन्नेहरुलाई बल पुग्ने अवस्था सिर्जना नहोला भन्न सकिन्न,’ थापाले भने, ‘दलहरुबीच छलफल गरौं र सहमतिमा जाऔं ।’

कोशी प्रदेशमा नेपाली काँग्रेसका २९, माओवादी (सभामुख सहित) १३, नेकपा एकीकृत समाजवादी ४ र जसपाका १ सांसद छन् । सरकार बनाउनका लागि ४७ सांसद चाहिन्छ । चार दलका सांसद जोड्दा ठिक्क ४७ मात्रै पुग्छ । सरकार गठनको लागि बहुमत संख्या पुगेपनि विश्वासको मत हाल्ने बेलामा सभामुखको गणना नहुँदा सरकारलाई आवश्यक बहुमत पुग्दैन । उता, एमालेको ४० र राप्रपाको ६ हुँदा पनि प्रदेशको सरकार बन्ने अवस्था रहँदैन । जसको कारण प्रदेशसभा नै विघटनतर्फ जानसक्ने काँग्रेसलाई डर देखिन्छ ।