२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको परिणामबारे काठमाडौं महानगरपालिका बाहेक सबैभन्दा धेरै चर्चामा रहयो धरान उपमहानगरपालिका । धरान उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित हर्क साम्पाङ अहिले पनि चर्चित छन् । उनले थालेको श्रम अभियान देशभरी चर्चामा छ भने खानेपानी समस्या समाधान गराउन निर्वाचित भएको दिनदेखि नै सुरु गरेको यो अभियान आजको दिनसम्म पनि जारी छ । धरानमा सँधैजस्तो खानेपानीको चरम अभाव छैन । यद्यपि अझै खानेपानीको पर्याप्तता भने छैन । धरानको नगर प्रमुख साम्पाङ चर्चामा आउनुको अर्को कारण उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्ने, फेसबुकमै गाउने र दिने अभिव्यक्ति पनि हुन् । कतिपय उनको अभिव्यक्ति विवादित हुने गरेका छन् भने कतिपय अभिव्यक्तिले वाहिवाही पाउने गरेको छ । त्यति मात्रै होइन निर्वाचित भएपछि प्रमुख हर्क साम्पाङले समयमै बजेट ल्याउन सकस भयो । वडाध्यक्षहरुसँग त्यसबेलादेखि भएको विवाद दोस्रो बजेट ल्याउने समय आउँदासम्म जीवित छ ।
नगरप्रुमखले वडाध्यक्षहरुलाई गुइँठे र झोले भन्ने र वडाध्यक्षहरुले साम्पाङलाई धक्कुले भन्नेसम्मका आरोप प्रत्यारोप चलिरहेको छ । तर, त्यो विवाद मिलाउन सँधै अग्रसर हुन्छन् उपमहानगरपालिकाका उपप्रमुख आइद्रविक्रम बेघा । समन्वय र छलफलमा रुची राख्ने उनले धरानको प्रमुख साम्पाङसँगै वडाध्यक्षहरुलाई राखेर छलफल गराउने र महत्वपूर्ण कार्यक्रमहरु सम्पन्न गराउन भूमिका खेलिरहेका छन् । एक हिसाबले भन्दा उनी वडाध्यक्षका लागि पनि र प्रमुख साम्पाङका लागि पनि मध्यस्तकर्ता जस्तै बनेका छन् । राजनीतिक हिसाबले माथिल्लो निकायसम्म जाने, साम्पाङसँग भेट गराउने र धरानका विकास निर्माणका हरेक काममा सहयोग माग्न उनै बेघा प्रमुख साम्पाङलाई लिएर जाने गर्छन् । त्यही मध्यस्तकर्ता तथा पहलकर्ता बनिरहँदा प्रमुख साम्पाङले केही दिन अगाडि उपप्रमुख बेघाप्रति पनि आक्रोशपूर्ण अभिव्यक्ति सामाजिक सञ्जालमा व्यक्त गरे । प्रमुखको यो अभिव्यक्ति पछि उनीहरुबीच सम्बन्ध बिग्रिएको हो कि भन्ने चर्चा सुरु भएको छ । निर्वाचित भएको एक वर्ष पुगेको अवसरमा यी र यस्तै विषयमा केन्द्रीत भएर उनै बेघालाई हामीले प्रश्न गरेका छौं । प्रस्तुत छ उनीसँगको कुराकानी ।
निर्वाचित भएको १ वर्ष पुगेको छ । पोहोरको र अहिलेको धरानमा के बदलाव आयो ?
– हामी निर्वाचित भएको एक वर्ष पूरा भएको छ । भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र पर्यटनको क्षेत्रमा ठूलो सुधार भएको छ । श्रम संस्कृतिको मूल्यलाई स्थापित गरिएको छ । हामी ज्यामेट्रिक होइन अंकगणितीय हिसाबले अघि बढिरहेका छौं । मलतब १ को २ होइन, १ को डेढसम्म चाहिँ सुधार भएकै छ । सुधारको अनुभूति क्रमशः हुँदै जानेछ ।
स्वतन्त्रबाट निर्वाचित प्रमुखसँग काम गर्न कत्तिको सहज छ ?
– सहज नै छ । संविधानले प्रदान गरेको सीमा र घेराभित्र रहेर काम गर्दा असहज हुने प्रश्नै भएन नि । संविधानले दिएको सीमा र घेरा मिचेपछि मात्रै झै–झगडा र असहज हुने हो । अर्को कुरा म अलि समन्वय गर्ने स्वभाव भएको मान्छे पनि हो ।
तपाईंको समयत त मेयरलाई र वडाध्यक्षहरूलाई मिलाउन मै बित्यो भन्छन् बाहिर, के हो कु्रा ?
– त्यस्तो होइन । मिल्ने र मिलाउने जिम्मेवारी सबैको हो । कहिलेकाहीँ एजेन्डामा भएको बहसको सहजकर्ता चाहिँ भएको सत्य हो । तर त्यहि कुरालाई लिएर प्रमुख ज्यू र वडा अध्यक्ष, कार्यपालिका सदस्य ज्यूहरुको भूमिका र जिम्मेवारीमाथि प्रश्न उठ्ने कुरा गर्नु चाहिँ गलत हुन्छ कि !
पछिल्लो समय तपाईं माथि नै नगरप्रमुख हर्क साम्पाङ खनिनु भयो । त्यति राम्रो सम्बन्ध कसरी बिग्रियो ?
– त्यो विषयमा मैले धेरै बोल्न मिल्दैन । त्यसको जवाफ उहाँले नै दिने हो । कुन विषय र प्रसङ्गमा के लेखेको हो वा भनेको हो । मेरो सम्बन्ध कोहिसँग बिग्रिदैन र बिग्रिएको पनि छैन । अर्को कुरा म प्रमुखज्यू होस् या अरु कोही सबैलाई आलोचनात्मक समर्थन गर्छु । त्यसो भन्नुको मतलव गुण र दोषको आधारमा समर्थन या विरोध गर्ने मेरो बानी छ । यसलाई तपाईं के भन्नुहुन्छ त्यो तपाईँको कुरा हो ।
निष्पक्ष भएर भन्नुपर्दा वडाध्यक्ष र प्रमुखबीचको विवादमा को बढी दोषी देख्नुहुन्छ ?
– म न्यायाधीश होइन । हो वा होइन भन्न मिल्दैन । सबैका सीमा र कमजोरी हुन्छन् । त्यसलाई सच्याएर अघि बढ्नुपर्छ । मेरो नजरमा सबै समान हुनुहुन्छ । न दोष तिम्रो, न दोष मेरो ….! भन्ने गीत जस्तै हो ।
अर्को प्रसङ्ग । धरानमा चलिरहेको श्रमदानबाट खानेपानी समस्या समाधान भयो ?
– श्रमदानबाट खानेपानी ल्याउने अभियान अहिले पनि चलिरहेको छ । जुन कामले खानेपानीको समस्या समाधान गर्ने प्रयत्न भइरहेको छ । यसले पूर्णरुपमा समाधान त हुँदैन तर, सुधार भएको छ । किनकी धरानलाई दैनिक करिब ३ करोड लिटर पानी चाहिन्छ । हाल एक करोड ५२ लाख लिटर पानी उत्पादन हुन्छ र अहिलेको श्रमदानबाट करिब दैनिक २०–२५ लाख लिटर पानी थपिने अवस्था छ । त्यसैले दीर्घकालीन समस्या समाधान चाहिँ कोशी वा तमोर नदिबाटै हुने हो । अहिलेको खानेपानी ल्याउने श्रमदानको अभियानले तत्कालीन समस्या समाधान गर्ने प्रयास हो ।
धरान उपमहानगरपालिका खानेपानीमा मात्रै फोकस भयो । सामुदायिक विद्यालयको सुधार भएन । स्वास्थ्य क्षेत्र जस्ताको तस्तै छ । सडक खाल्डाखुल्डी उस्तै रहेको गुनासो छ नि ?
– कामहरू सबै क्षेत्रका भइरहेकै छन् । प्रचार खानेपानीको बढी भएको हो । तर, तपार्इँंले भनेको जस्तो मात्रै होइन । विद्यालय सुधारका कुराहरु, स्वास्थ्य क्षेत्र सुधारका कुराहरु, पर्यटन प्रबद्र्धन र अन्य भौतिक पूर्वाधार निर्माणका कुराहरु तीब्र गतिमा भइरहेका छन् ।
वडाध्यक्षसँग विवाद छँदैथियो । त्यसमा केही दिनदेखि उपमहानगर प्रमुखज्यू र पत्रकारबीच पनि विवाद सुरू भएको छ । यो कसरी समाधान हुन्छ ? वडाध्यक्षसँगको मिलनविन्दु के हुन सक्छ ?
– वडाध्यक्षहरुसँगको विवाद समाधान भइसकेको छ । अब नयाँ ढंगले अगाडि बढ्ने कुरा भइसकेको छ । कार्यपालिकाको बैठकसमेत आव्हान भइसकेको छ । पत्रकार साथीहरुसँग भएको विवादको विषय पनि हामी समाधान गर्नेछौं ।
बजेट निर्माणको तयारी के हुँदैछ ?
– तीब्रताका साथ बजेट निर्माण प्रक्रिया अगाडि बढिरहेको छ । राजश्व परामर्श समितिले सरोकारवालाहरूसँग प्रतिनिधिमूलक ढङ्गले १६ वटा बैठक र अन्तरक्रिया राखेर सुझाव तथा राय संकलन गरि करिब एक अर्ब ५३ करोडको बजेट प्रक्षेपण प्रतिवेदन नगर प्रमुख ज्यूलाई वैशाख २८ गते बुझाइसकेको छ । हाम्रो बजेट निर्माण कार्य निरन्तर अघि बढिरहेको छ ।
धरानको विकास र समृद्धिको बाधक चाहिँ के रहेछ ?
– बजेटको अपर्याप्तता नै विकासको बाधक हो । हामीसँग भएको आय र बजेटको सीमाले मात्रै विकास र समृद्धि पूर्णरुपमा सम्भव छैन । बाँकी कसलाई दोष देखाउनु ? अरूलाई दोष देखाउनु राम्रो पनि होइन ।
अबको बजेटले मूल लक्ष्य केलाई मानेको छ ? मुख्यमुख्य योजनाहरू के हुन्छन् ?
– मुलतः खानेपानी नै हुनेछ । बाँकी खेलकुद, शिक्षा, स्वास्थ साथै भौतिक पूर्वाधार निर्माणहरु प्राथमिकतामा हुनेछन् ।
धरानको खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि संघ सरकार र प्रदेशसँग के कस्तो पहल गरिरहनु भएको छ ?
– छलफल चलिराखेको छ । हामीले आग्रह गरिरहेका छौं । हेरौं अब के हुन्छ । संघीय सरकारले पानीका लागि योगदान गर्नेछ भन्ने पूर्ण विश्वास छ । यो बीचमा हामीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि छलफल गरेका छौं । प्रदेश सरकारका मन्त्रीहरुसँग पनि छलफल गरेका छौं । खानेपानीको समस्या समाधान गर्न धरान उपमहानगरपालिकाले मात्रै सक्दैन । माथिल्ला दुई तहको सरकारको पनि धरानको विषयमा चासो हुनुु आवश्यक छ भन्ने विषयमा उहाँहरुलाई अनुभूत गराएका छौं । उहाँहरुले यस पटकको बजेटमा धरानको खानेपानी समस्या समाधान गर्ने गरी उल्लेख गर्ने बताउनु भएको छ । आशा छ त्यो विषय बजेटमा आउने छ र धरानको खानेपानी समस्या सधंैका लागि समाधान हुनेछ ।

