विराटनगर । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका सचिवसमेत रहेका प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।
उनलाई काठमाडौबाटै पक्राउ गरेको गृह मन्त्रालयको उच्च स्रोतले जानकारी दिएको छ ।
रायमाझीविरुद्ध गत वैशाख २० गते पक्राउ पुर्जी जारी गरिएको थियो । अहिलेसम्म यो प्रकरणमा १२ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।
नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा काठमाडौं जिल्ला अदालतले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो। रायमाझीका छोरा सन्दीप रायमाझी यसअघि नै पक्राउ परिसकेका छन् ।
यसअघि पक्राउ परेका व्यक्तिहरूले बयान दिनेक्रममा टोपबहादुर र सन्दीपको नाम लिएका थिए। यस प्रकरणमा पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणसहित १२ जनामाथि प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
सो प्रकरणमा मुछिएका तत्कालीन गृहमन्त्री रामबहादुर थापा (बादल)का छोरा प्रतिक थापा, कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा र बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राईका छोरा निरज अझै फरार छन् ।

