धरान । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) नजिकको पत्रकार हुँ भन्दै असुली धन्दा गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
सूचना तथा प्रसारण विभागको परिचयपत्रसमेत बोकेका धरान १५ का तीर्थबहादुर गुरुङलाई धरान १३ का स्थानीयले एक जनालाई पक्राउ गरेर प्रहरीको जिम्मा लगाएका हुन् ।
स्थानीयले नियन्त्रणमा लिएर गुरुङलाई प्रहरीको जिम्मा लगाएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले पुष्टि गरे । कतिपयलाई पत्रकार हुँ भन्दै र कतिपयलाई बिशेष प्रहरी तथा सिआइडी हुँ भन्दै धाकधम्की दिएको आरोप उनीमाथि छ ।
गुरुङलाई शनिबार साँझ धरान २० स्थित ओशो पार्क क्षेत्रबाट नियन्त्रणमा लिएर स्थानीयले प्रहरीलाई बुझाएका थिए । गुरुङ मेयर हर्क साम्पाङको कोकाहा खानेपानी श्रमदान अभियानमा निरन्तर खटिइरहेका व्यक्ति हुन् । नियन्त्रणमा लिदा उनी कोकाहा अभियानका मेनेजर दत्तकुमार लिम्बुसँगै थिए ।
पक्राउ परेका गुरुङविरुद्ध करिब २ महिना अघि नै प्रहरीमा ठाडो निवेदन दिएको स्थानीय मोहित पुन मगरले जानकारी दिए । गुरुङले मगरको गाडीमा ब्राउन सुगर राखेर फसाउने चेतावनी दिएका थिए ।
गुरुङले ‘म सिआइडी हो, गोली ठोक्छु’ भनेको ९ मिनेट १६ सेकेण्डको कल रेकर्ड पनि भेटिएको छ । प्रहरीले सामाजिक सञ्जालमा अनधिकृतरुपमा पोष्ट गरेको आरोपसहित निवेदन परेको आधारमा गुरुङको पक्राउ परेको जानकारी दिँदै प्रहरीले उनको साथबाट बरामद भएको सुचना विभागबाट जारी भएको प्रेस पासबारे पनि अनुसन्धान भइरहेको जनाएको छ ।
गुरुङले आफू पत्रकार भएको भन्दै ठगी गरेको पनि सुचना आएको प्रहरीले जनाएको छ ।

