संखुवासभा । संखुवासभाको चैनपुरमा पाइने करुवा प्रशिद्ध छ । कुनै सभा समारोह होस् या पाहुनालाई मायाको चिनो दिनुपर्दा सबैको रोजाइमा चैनपुरे करुवा पर्छ ।

मेहनतपूर्वक राम्रो काँसमा कुँदिएको चैनपुरे करुवाको सुन्दर बुट्टाले जो सुकैलाई पनि लोभ्याउँछ । तर, तर पछिल्लो समय करुवा बनाउने सिपमूलक कामको पुस्तान्तरण नहुँदा बनाउने दक्ष जनशक्ति र कच्चा पदार्थको अभावमा चैनपुरे करुवाको व्यवसाय घट्दो छ ।चैनपुरे करुवाको परिचय कायम राख्न चैनपुर नगरपालिकाले जिरोप्वाइन्टमा करुवाको प्रतिमा स्थापना गरेको छ । तर, उद्घाटन पनि हुन नपाई स्थानीय स्तरबाट चौतर्फी विरोध आएपछि नगरपालिकाले विज्ञप्ति जारी गर्दै करुवाको प्रतिमालाई त्रिपालले छोपेको छ ।

पार्कमा निर्माण भएको करुवाको आकार र बनावट चैनपुरे करुवाको जस्तो नभएको भन्दै स्थानीयले असुन्तुष्टि जनाएका छन् । बचेको एउटा पहिचान, चैनपुरको सम्पत्ति, चिनो, पुर्खाको इतिहास नै गुमाएको महसुस भएको उनीहरुको भनाइ छ ।

जिरो प्वाइन्टमा निर्माण भइसकेको करुवाले चैनपुरकै इतिहास मेट्ने काम भएको स्थानीयले चैनपुरे करुवाको अस्तित्व र मेहनती हातहरुको हात काट्ने काम भएको बताएका छन् । चैनपुर नगरपालिकाका प्रमुख कृष्णकुमार तामाङले आर्थिक वर्ष ०७९/८० को कार्यक्रमलाई कार्यान्वयन गरेको बताएका छन् ।

अघिल्लो कार्यकालमै काठमाडौं ललितपुरको इमाडोल भन्ने ठाँउमा रवि शाक्यलाई करुवाको प्रतिमा निर्माण गर्न दिएको पाइएको तामाङले बनाए । सम्झौताअनुसार काम नभएको स्वीकार गर्दै उनले परिवर्तन गर्न लगाउने बताए । सम्झौतामा काँस भनिएकोमा पित्तलको बनाइएको पाइएको छ ।

कुल २० लाख रुपैयाँको लागतमा निर्माण हुने करुवाको सम्झौता गर्दै ९ लाख रुपैँया पेस्कीस्वरुप कालिगढले लगिसकेको नगरपालिकाले जनाएको छ ।