विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका– ७ कानेपोखरीमा रहेको जनजागृति सामुदायिक वनको जग्गा अतिक्रमण गरेर गाउँपालिकाले कृषि बजारको लागि पक्की संरचना बनाएको छ ।
वनको करिब ४ कठ्ठा जग्गा अतिक्रमण गरी कानेपोखरी गाउँपालिकाले कृषि बजारको लागि दोस्रो चरणको संरचना बनाउन सुरू गरेको हो ।
गाउँपालिकाले तराई मधेश समृद्धि कार्यक्रम अन्र्तगतको बजेटबाट ४९ लाख ८४ हजार रुपैयाँ लागतमा कृषि बजारको लागि संरचना निमार्ण थालेको हो । पहिलो चरणमा आर्थिक वर्ष २०७८÷०७९ मा एसएनए निमार्ण सेवा दुहबी सुनसरीले २५ लाख ३ हजार ६३ रुपैयाँमा ४३.५ वर्गमिटरको दुई वटा टहरा निमार्ण गरेको छ । युपिभिसीको छानासहित ट्रस्ट २०७९ असार मसान्तसमा सम्पन्न भएको छ ।
क्रमागत बजेट आएपछि २०७९÷०८० मा पनि कृषि बजारको अधुरो संरचना निमार्णको लागि २४ लाख ८४ हजार २३८ रुपैयाँ एसएनए निमार्ण सेवा दुहबीले पुनः ठेक्का पाएको छ । वैशाख २६ गते सम्झौता भएपछि निमार्णको काम सुरु गरेको थियो ।
जंगल अतिक्रमण गरेर गाउँपालिकाले संरचना बनाउन थालेपछि सब डिभिज वन कार्यालय कानेपोखरीले निमार्ण कार्य रोकिदिएको छ । सब डिभिजन वन कार्यालय कानेपोखरीका प्रमुख महमद अलाउदिनले सामुदायिक वनको जग्गा अतिक्रमण गरेर संरचनाहरु निमार्ण गर्न थालेपछि शुक्रबारदेखि काम रोकिएको बताए । ‘हामीलाई जानकारी नदिकन सामुदायिक वन अतिक्रमण गरेर कृषि बजारको नाममा टहरा बनाउन थालेको पाइएपछि हामीले निमार्ण कार्य रोकेका छौं,’ उनले भने, ‘यस विषयमा माथिल्लो निकाय डिभिजन वन कार्यालय मोरङमा पनि जाहेर गरेको छु ।’
गाउँपालिकाले कृषि बजार भनेर निमार्ण गरिएको स्थान जंगलमा पर्दछ । कानेपोखरीका कृषकहरुको लागि यो पायक पर्ने स्थान पनि होइन । निवर्तमान गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेको कार्यकालमा कृषि बजार निर्माण गर्ने भन्दै जंगल अक्रिमण गरेर संरचना बनाउना लाग्दा स्थानीयले विरोध र आलोचना पनि गरेका थिए । तर, नेतृत्वले स्थानीयको कुरा नसुनी संरचना बनाउन सुरु गरेका थिए ।
गाउँपालिकाले जुन ठाउँमा संरचना निर्माण गर्दैछ त्यो कसैका लागि पनि पायक नपर्ने र त्यहाँ बजार स्थापित हुनै नसक्ने स्थानीयहरुले बताएका छन् । ‘मुख्य सडकबाट उत्तरपट्टी जंगलको बिचमा कृषि बजार बनाएको छ । यो कृषि बजारको लागि पायक पर्ने ठाउँ पनि होइन्,’ स्थानीय जनक तामाङ्गले भने, ‘विकासको नाममा यो विनास हो । बजेट सक्न गाउँपालिकाले जंगलबीचमा कृषि बजार बनाउने भनेको छ । यो बन्यो भने यहाँ कृषीजन्य उपात्पादन बिक्री वितरणको लागि न किसान पुग्छन् न ब्यापारी नै आउने सम्भावना छ ।’
वन अतिक्रमण गरेर गाउँपालिकाले संरचना बनाउँदा पनि जनजागृती सामुदायिक वनका पदाधिकारीहरु चुप लागेर बसेका छन् । सामुदायिक वनको सीमा मिच्दै अतिक्रमण गर्नेहरूलाई राजनीतिक दल र जनप्रतिनिधिकोे संरक्षण रहेको स्थानीयले आरोप लगाएका छन् ।राजनीतिक दल, सामुदायिक वनका पदाधिकारीकोे मिलेमतोमा नै वन अतिक्रमण भइरहेको स्थानीयको आरोप छ । जनजागृती सामुदायिक वनका अध्यक्ष भोजराज श्रेष्ठले उपभोक्तालाई हित होस् भनेर मौन बसेको प्रतिक्रिया दिएका छन् । ‘हामीले स्थानीय सरकारलाई समन्वय गरेको हो । दोस्रो पटक बनाउँदा जानकारी छैन । हामीले जानकारी गराउनु भनेका छौं,’ तर, हामीलाई अहिलेसम्म कुनै जानकारी गराइएको छैन,’ उनले भने ।
कानेपोखरी गाउँपालिकाकी अध्यक्ष राजमती इङ्गनामले स्थानीयको माग अनुसार कृषि बजारको लागि संरचना निमार्ण गरिएको बताइन् । ‘संघीय सरकारबाट आएको बजेटले यहाँका कृषकहरुले उत्पादन गरेको कृषीजन्य वस्तुको बिक्री वितरणको लागि कृषि बजारको लागि संरचना त्यसबेला स्थानीयसँगको सल्लाह अनुसार कानेपोखरी छनौट गरिएको हो,’ अध्यक्ष इङनामले भनिन्, ‘पहिलो पटक काम भएर संरचनाहरु पनि बनेको थियो । अहिले आएर किन निमार्ण रोकियो ? म पनि यो विषय बुझ्ने छु ।’

