नागेश कोइराला
विराटनगर महानगरपालिका कोशी प्रदेशको एक मात्रै महानगरपालिका हो । विराटनगर महानगरपालिका कोशी प्रदेशको राजधानी पनि हो । विराटनगर महानगरपालिका पुरानो औद्योगिक सहरको रुपमा परिचित छ । आर्थिक र औद्योगिक हिसावले पुरानो र दोस्रो ठूलो सहर मानिने विराटनगर पछिल्लो समय भने पाँचौं–छैटौं स्थानमा छ । यद्यपि विराटनगर आफ्नो पुरानै साख फर्काउन बल गरिरहेको छ । स्थानीय तहको निर्वाचन पछि महानगरले आफ्नै सरकार पनि पाएको छ । ०७४ सालको निर्वाचनबाट विजयी भएका काँग्रेसका भीम पराजुलीको नेतृत्व महानगर संचालनमा त्यति कुशलतापूर्वक प्रस्तुत हुन नसकेको धेरैको अनुभव छ । तर, ७९ सालमा भएको निर्वाचनबाट सरकारको नेतृत्व सम्हाल्न आइपुगेका छन् काँग्रेस कै नागेश कोइराला । पराजुलीको कार्यकालको तुलनामा कोइरालाले विराटनगरको सुशासन र सुधारका लागि धेरै काम गर्ने प्रयास गरेको देखिन्छ । उनको कदमले पार्किङ व्यवस्थापनमा सुधार आएको छ । महानगरको सुन्दरतामा फरकपन देखिएको छ । सरसफाइको व्यवस्थापन राम्रो देखिएको छ । कर्मचारी प्रशासन र सेवा प्रवाहमा पनि विगत भन्दा केही फरक छ । यस्तै राजस्व संकलनमा पनि उल्लेख्य सुधार गरेको छ । तथापि विराटनगर महानगरपालिकाको बजेटको सिमीतता हुँदाहुँदै पनि जथाभावि योजनाहरु स्वीकृत गरेर ठेक्का लगाउँदा बजेट सन्तुलन कायम गर्न भने सकेको छैन । अहिले कर्मचारीलाई तलब सुविधा भुक्तानीमा पनि समस्या छ । महानगरले पनि चालू खर्च घटाउन सकेको छैन । आफू निर्वाचित भएपछि आफैंले सार्वजनिक गरेको स्वेतपत्रमा उल्लेखित समस्या समाधान गर्नुको साटो कोइराला आफैं ब्याक भएका छन् । अत्याधिक कर्मचारी नियुक्ति र ओभरस्टाफिको समस्या अहिले पनि छ । यी र यस्तै विषयमा महानगरपालिकाका प्रमुख नागेश कोइरालासँग हाम्रोमतका सम्पादक अर्जुन आचार्यले कुराकानीमार्फत १ वर्षको समीक्षा गरेका छन् । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः
तपाई महानगरपालिकाको प्रमुखको रूपमा निर्वाचित हुनुभएको एक वर्ष पुगेको छ । तपाईले महानगरपालिकाको सुधारमा के–के काम गर्नुभयो ?
– बजारभित्र दमकल र एम्बुलेन्सहरु छिर्न पाउनुपर्छ भनेर हामीले पार्किङको व्यवस्थापन गर्यौं । पार्किङका लागि हामीले वैकल्पिक व्यवस्था गरेका छौं । पार्किङलाई अझै व्यवस्थित र सुविधा सम्पन्न बनाउने कार्यमा महानगर पालिपरेको छ । यस्तै विराटनगरका व्यापार प्रबद्र्धमा पनि हामीले काम गरेका छौं । डुबान नहोस् भनेर वर्षा हुनु अगाडि नै विराटनगरका नाला र ढल सफ ागर्ने काम भइरहेको छ । विगतमा जब डुबान हुन्थ्यो अनि हतार हतार नाला सफा हुने गरेको थियो । यस्तै फुटपाथका पसल हटाइएको छ । उज्यालो विराटनगर अभियान मार्फत सवारी साधनको बत्ती अफ गरेर पनि रातको समयमा हिंड्न सकिने व्यवस्था गरेका छौं । विजुलीका लत्रिएका तारको व्यवस्थापन भइरहेको छ । फुटपाथमा हिंड्दा टाउको ठोकिने अवस्था अहिले छैन । आन्तरिक प्रशासनमा सुधार गरेका छौं । कर्मचारीलाई सेवाग्राहीप्रति जिम्मेवार र जवाफदेहि बनाइएको छ । १९ वटै वडामा अधिकृतस्तरका सचिवको व्यवस्था गरिएको छ । आन्तरिक आयलाई बलियो बनाउन कर संकलन अभियान चलाइएको छ । सार्वजनिकस्थलमा सूर्तिजन्य पदार्थको सेवन र बेचविखनमा रोक लगाइएको छ । खुल्ला रुपमा हुँदै आएको माछामासुको विक्रीलाई व्यवथित बनाउने अभियान जारी छ । खानेपानीका लागि जाइकाले काम अगाडि बढाएको छ । विकास निर्माणको काममा पनि महानगरले उल्लेख्य काम गरेको छ । रानीपोखरी, मण्ठापोखरी, विराट राजाको दरबार, विराटराजाको प्राचीन दरबार संग्रहालय, प्रधानमन्त्री पार्क, हृदेन्द्र पार्क, सन्ध्याकालिन आरतीस्थल, महानगरको प्रशासनिक भवन, वीरेन्द्रसभागृहको पुनःनिर्माण, सडकहरु, महानगरको बहुप्राविधिक विद्यालयलगायतका दर्जनौं विकास निर्माण करोडौं लगानीमा भइरहेको छ । यस्तै नेपाल भारत साहित्य महोत्सव पनि गर्यौं । विराटनगर प्रज्ञा प्रतिष्ठान गठनका लागि कार्यविधि र नियमावली तयार भइसकेको छ । अब विराटनर प्रज्ञा प्रतिष्ठान गठन हुनेछ । विराटनगरको १ देखि ५ कक्षासम्मको पाठ तयार भइसकेको छ । अब ६ देखि ८ सम्मको पनि तयार हुन्छ । सामुदायिक कुकुरको व्यवस्थापन भएको छ । १९ वटै वडामा स्वास्थ्य शिविर संचालन गरेर ४ हजारभन्दा बढी मासिनको निःशुल्क स्वास्थ्य जाँचसहित औषधि वितरण गरिएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।
तपाईले नगरप्रमुख भइसकेपछि स्वेत पत्र जारी गर्नुभएको थियो । त्यहाँ कर्मचारी कटौती र व्यवस्थापनको पक्षमा मुख्य समस्या रहेको विषय सार्वजनिक गर्नुभयो । तर, आफैंले त्यो समस्या समाधान गर्न त सक्नुभएन नि ?
– यो बढो कठिन हुँदो रहेछ । महानगर जनतासँग सबैभन्दा नजिकको सरकार हो । हामीले त्यो कुरा चाहेर पनि गर्न सकिएन । सबै चिने जानेका मान्छे छन् । चिनेजानेका मानिसलाई जागिरबाट निकाल्दा समाजबाट बहिष्कृत हुनेसम्मको अवस्था आयो । यद्यपि पछिल्लो पटक धेरै कर्मचारीले राजीनामा पनि दिइसक्नु भएको छ । तर, वैज्ञानिक हिसावले हामीले जसरी कटौती गर्नुपर्ने थियो । त्यो सकिएन । किनभने तपाईहामीजस्तै मान्छे छन् सबै । कसलाई निकाल्ने कसलाई राख्ने ? वृद्ध आमाबुबालाई पालेका छन् । कसैले अपाङ्गता छोराछोरी पालेका छन् । कसैको आमाबुबालाई क्यान्सर भएको छ । उनीहरु सबै रुँदै आउँछन् । उनीहरु पनि विराटनगरकै छोराछोरी हुन् । त्यसकारण कर्मचारी कटौती गर्न सकिएन । कर्मचारी कटौती गर्नै नसकिने चाहिं होइन तर, ब्याक फायर हुने अवस्था आयो । त्यसकारण हामीले कर्मचारी कटौती गर्ने योजनाबाट पछि हटेका हौं ।
महानगरपालिकामा स्वास्थकर्मी धेरै भएको तर, प्राविधिक कर्मचारीको अभाव भएको छ । त्यसलाई व्यवस्थापन गर्न पनि त सक्नुभएन ?
– हामीसँग ओभरस्टाफिङ चाहि हो स्वास्थ्य क्षेत्रमा । तर, हामीले १९ नम्बर वडालाई ५ बेडको अस्पताल बर्थिङ सेन्टर बनाउने, १५ नम्बर वडामा रहेको पिएचसीलाई १५ बेडको अस्पताल बनाउन लागेका छौं । विराटनगरमा तीनवटा ल्याब राखेर १९, १५ नम्बर र ९ नम्बर वडामा सेवा दिने तयारी गरेका छौं । त्यसमध्ये एउटा सेन्टर ल्याब हुनेछ । त्यहाँ सबैखालका इक्वीपमेन्ट हुनेछन् । त्यो कोशी अस्पतालमा भएको दररेटअनुसार सेवा प्रवाह हुनेछ । यति गरिसकेपछि हाम्रो स्वास्थ्यका कर्मचारीलाई व्यवस्थापन गर्छौं । हामीले जुटमिलभित्र रहेको होल्डिङ सेन्टर खण्डहर भएर गइरहेको छ । त्यसलाई हामीले चलाउने गरी गृहमन्त्रालयमा हामीले निर्णय गरेर महानगरलाई दिनुपर्यो भनेर माग गरेका छौं । त्यहाँ अस्पताल संचालन गर्ने हाम्रो तयारी छ ।
सुशासनको पक्षमा गर्ने गरी धेरै काम भएका छन् । तर, एकैपटक धेरैतिर काममा हात हालेको कारण समस्या सिर्जना भयो कि भन्ने पनि छ नि ?
– हामीले नियम त लगायौं । तर, रेगुलर फलोअप भएन भने समस्या हुन्छ । विगतमा पनि यस्ता कामको सुरुवात भएको थियो होला । तर नियमित अनुगमन नहुँदा समस्या भएको हो । त्यस्तो हामी गर्न चाहँदैनौं । हामीले जसरी जुन काम अगाडि बढाएका छौं । त्यस्ता कामलाई निरन्तरता दिन चाहन्छौं । म अझै सुर्तिजन्य पदार्थ सार्वजनिक स्थलमा बन्द गराउने भनेका छौं । म आफू त गुट्खामुक्त विराटनगर नै बनाउन चाहन्छु । त्यो कार्यपालिकामा निर्णय गराएर लागू गराउने मेरो इच्छा छ ।
आन्तरिक कर्मचारी सुशासनको काममा कर्मचारीको उलटफेर धेरै गर्नुभयो । त्यसले परिणाम पनि दियो कि उस्तै छ ?
– म हिंजोसम्म जनप्रतिनिधि भएर महानगरपालिकामा पस्दा महानगरपालिकाको गेटबाहिर जसले पनि भन्ने गर्थे । तपाईको फलानो फाँटमा मसँग ५ सय मागेर मात्रै काम गरे । तर, म आएसँगै त्यो रोकिएको छ । एकखालको परिवर्तन आयो । त्यसपछि फाँटमा नयाँ मान्छे जाँदा काममा केही ढिलासुस्ती भएको देखिन्छ । त्यो पनि अब विस्तारै हट्दै गएको छ । नयाँले काम सिकिसकेका छन् । तर, पैसा खाने अवस्थाको पुरै अन्त्य भयो ।
अब बजेटको विषयमा जाऔं । चालू आर्थिक वर्षमा आन्तरिक राजस्वको लक्ष्य ८३ करोड थियो । त्यसलाई संशोधन गरेर महानगरले १ अर्ब ३ करोड उठाउने अनुमानित लक्ष्य बनाउनु भयो । त्यो हासिल नहुने देख्दादेख्दै किन लक्ष्य बढाउनु भयो ?
– यो मैले चाहेको होइन । तर, आएको डिमाण्डलाई पुरा गर्नका लागि भएको हो । हामीले रानीपोखरी, मण्ठापोखरी, विराट राजाको दरबार, विराटराजाको प्राचीन दरबार संग्रहालय, प्रधानमन्त्री पार्क, हृदेन्द्र पार्क, सन्ध्याकालिन आरतीस्थल, महानगरको प्रशासनिक भवन, वीरेन्द्रसभागृहको पुनःनिर्माण, सडकहरु, महानगरको बहुप्राविधिक विद्यालयलगायतका दर्जनौं विकास निर्माण करोडौं लगानीमा योजना बढाएका छौं । त्यसबाहेक विराटनगर महानगरपालिकाभित्रबाट जनताकोस्तरबाट आएका अनेकौं मागहरु छन् । यि सबै कुरालाई योजनामा राख्दाराख्दै हामीले राजस्वको अनुमान पनि बढाउन बाध्य भयौं ।
आन्तरिक राजस्वको लक्ष्य पनि पुरा नहुने । स्रोत सुनिश्चित नगरी १५० भन्दा बढी बहुवर्षे आयोजनाहरू ठेक्कामा पनि लगाउने । संघ सरकारबाट आउने अनुदान पनि घट्दैछ । अब बजेटको सन्तुलन कसरी मिलाउनु हुन्छ ?
– अर्को वर्षसम्म यतिकै जान्छ यो । जति पनि योजना आएका छन् । अर्कोवर्षपछि मात्रै हामीले नयाँ योजना राख्छौं । आउने आर्थिक वर्षमा नयाँ योजना थपिँदैन । संघ सरकारले पनि अनुदान ५० प्रतिशत कटौति गर्यो । संघ सरकारलाई अप्ठ्यारो परेको हो ठिक छ । गल्ती कहाँ भयो भने पैसा हालिदिएको भनेर कागजमा लेखेर दियो । टेण्डर निकाल भनेर टेण्डर निकालियो । संघकै निर्देशन अनुसार आधा काम भएको छ । पैसा निकासा भएन भने संघ सरकारबाट वैमानि भएको होइन र यो । त्यो त राम्रो भएन । कि त सुरुमै योजना सम्झौता नगर भनेको भए हुन्थ्यो ।
यही कारणले महानगरको पूँजीगत खर्च गर्ने कुरामा पनि स्रोतको अभाव । अर्को कुरा चालू खर्च कर्मचारीको तलबमा पनि समस्या परेको छ । यो संकटको सामना कसरी गर्नुहुन्छ ?
– अब जस्तो आउँछ त्यस्तै टर्छ । बजेटको अवस्था जे हुन्छ त्यही अनुसार चल्नुपर्छ । अनावश्यक खर्च कटौती गर्ने हो । हामीले कित्ताकाट खुलेपछि ६०–७० करोड उठ्छ भन्ने लागेको थियो । त्यहाँ पनि १५–२० करोड मात्रै उठेको छ । त्यो पनि बैंकिङ कारोबार नखुलेको कारण बन्द छ । हामीसँग नेचुरल रिसोर्स अरु छैन । हामीसँग ढुंगा गिट्टी पनि छैन । दुईपट्टी दुईवटा खोला छन् । बाढीले सताउँछ मात्रै आम्दानी दिएको छैन ।
तपाई आफ्नै अगुवाईमा राजस्व संकलन गर्न भन्दै घुम्ति शिविरहरु संचालन गर्नुभएको थियो । त्यो अहिले पनि कायमै छ ?
– हो अहिले पनि त्यो काम भइरहेको छ । यो शिविरबाट राम्रो फिटब्याक आएको छ । अघिल्लो वर्षभन्दा २० करोडभन्दा बढी राजस्व संकलन भएको छ । तर, त्यतिले मात्रै पुगेन । हामीलाई अघिल्लै आर्थिक वर्षदेखि २ अर्ब रकम दायित्व थियो । त्यसलाई पनि हामीले ४०–५० करोड तिर्यौं । त्यसैगरी बेरुजू ७३ प्रतिशत घटाएका छौं । गरिराखेका छौं । यसलाई हामीले अर्को वर्षसम्म मेकअप गर्छौं ।
तपाई प्रमुखमा निर्वाचित भएपछि खाल्डाखुल्डी पुर्ने भनेर दुई पटक सडकमा ढुंगा गिट्टी हाल्नुभयो । एक पटक वर्षाको समयमा हाल्नु भयो । त्यो ठिक छ । तर, संघ र प्रदेशको निर्वाचनलाई प्रभावित गर्नै गरी प्रक्रिया पुरा नगरी झण्डै ८० लाखभन्दा बढीको काम गराउनु भयो । यो किन गर्नुभएको ?
– त्यो प्रक्रिया पुरा गरेरै गरेको हो । प्रक्रिया नपुगि काम गर्न मिल्छ र ? त्यो त गैरकानूनी काम भयो नि ।
तपाईले ८० लाखभन्दा बढीको गर्नुभएको भनियो । यो कुरा बाहिरिएपछि भुक्तानी रोकिएको त हो नि ?
– होइन । यो काम भनेको हामीले सामान झारेपछि सम्बन्धीत वडाध्यक्षले प्रमाणित गरेर पठाउनु हुन्छ । त्यसपछि हाम्रो टेक्निसियन गएर सामानको यकिन गरेको रिपोर्ट र वडाध्यक्षको सिफारिसमा मात्रै भुक्तानी गर्ने हो नि । त्यसले गर्दा विवाद भएको केही होइन । चुनावको मुखमा झरेको कारणले अथाहा झर्यो भन्ने भयो होला । यो प्रक्रिया सबै पुरा गरेर, सबै मिलाएर जति दिनुपर्ने थियो । त्यति दिएका छौं । त्यसबेला हामीले ४० लाख जति मात्रै भुक्तानी गरेका छौं ।
प्रदेश सरकार र संघीय सरकारबाट महानगरपालिकाले सहयोग गरेको छ कि छैन ?
पछिल्लो समय हामीलाई राम्रो सहयोग भएको छ । मलाई अहिले सहज पनि छ । अर्थमन्त्रीलाई पनि भेटेर आएँ । खेलकुदमन्त्री मोरङ काँग्रेसको हाम्रो सभापति नै हुनुहुन्छ । यही क्षेत्रबाट जित्नुभएका अमनलाल मोदी सामान्य प्रशासनमन्त्री हुनुहुन्छ । मैले उहाँहरुलाई विराटनगर रिङ रोडको कुरा र तटबन्धको कुरा गरेको छु । खेलकुदमन्त्रीसँग १९ नम्बरको स्टेडियम बनाउने कुरा पनि भएको छु । विराटनगरको सहिद रंगशालाको प्याराफिट पनि नयाँ बनाउने कुरा भएको छ । अब आउने बजेटमा विराटनगरमा राम्रो सम्बोधन हुन्छ जस्तो मलाई लाग्छ ।
नीतिगत त्यस्तो कुनै समस्या छन् । प्रदेश र संघ सरकारबाट फुकाउनु पर्ने ?
– त्यस्तो केही छैन । प्रदेश सरकारले ल्याएको कर्मचारी अध्यादेशले केही समस्या पारेको छ । त्यो कर्मचारी अध्यादेश आएपछि हाम्रा झण्डै दुई दर्जन जति कर्मचारीले राजीनामा दिएका छन् । प्रदेश सरकारले यस्तो अध्यादेश ल्याउँदा हामीसँग पनि सल्लाह हुनुपर्छ । हामीसँग सरसल्लाह नगरी ल्याएको अध्यादेश हामी मान्दैनौं भनेर मुख्यमन्त्रीलाई भनेका छौं । उहाँले सच्याउने भन्नुभएको छ । सच्याउनु भएन भने हामी अदालत जान्छौं । महानगर पनि सरकार हो नि । संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकारको फरकफरक नीति किन गर्नुपर्यो । मिलेर बनाउँदा हुँदैन ।
महानगरको अरू आगामि योजना नयाँ के छ ?
– मेरो धेरै ठूलो गर्छु भन्ने छैन । सुकुमबासी समस्या समाधान गर्ने । खानेपानीको व्यवस्था राम्रो गर्न पाउँ । स्वास्थ्य सेवामा राम्रो गर्न पाउँ । आम जनताले पैसा नहुँदा पनि उपचार गर्न सक्ने व्यवस्था गरौं । स्वस्थ खानेकुरा खान पाउन् । हरियाली बजार देख्न पाउँ भन्ने मेरो इच्छा हो । राती १२ बजे हिंड्दा पनि सुरक्षित विराटनगर भन्ने अनुभूति होस् भन्ने मेरो इच्छा हो र काम पनि त्यही अनुसार अगाडि बढाउँछु । त्यसबाहेक महानगरले आफ्नै लोगो बनाउने तयारी छ । छिट्टै लगानी सम्मेलन गर्नेछौं । राधाकृष्ण रथयात्रामा देशका ६ वटै महानगरका प्रमुख–उपप्रमुख, अमेरिकाको न्यूयोर्क महानगरका मेयर र महाभारत सर्किटमा पर्ने भारतका विभिन्न सहरका प्रमुखलाई आमन्त्रण गर्ने, अन्तराष्ट्रिय विमानस्थल बनाउन लविङ गर्ने, औद्योगिक तथा कृषि प्रदर्शनीस्थल निर्माण गर्ने, सुनसरीको अमडुवामा रहेको सुगरमिलको साढे ६ सय विघामा विशेष आर्थिक क्षेत्र (सेज) निर्माण गर्ने लक्ष्य राखेका छौं ।
Excellent