विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–७ का ४० वर्षीय दिनेशकुमार माझी प्रसारण लाइनको टावरमा चढेको ११ घण्टा बितिसक्दा पनि उदार गरीएको छैन । शनिवार बिहानै प्रहरी र वडाका जनप्रतिनिधिलाई फोन गरेर प्रसारण लाइनको टावरमा चढेका उनलाई अहिलेसम्म पनि उदार गरीएको छैन ।
उनी शनिवार बिहानै ५ बजे १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनको टावरमा चढेका थिए । रिटेनिङ वाल निर्माणको काम गुणस्तरीय नभएकाले रोक्नु पर्ने माग राख्दै उनी बिजुलीको टावरमा उनी चढेका हुन् । दिनेश बिहानैदेखि केही नखाई टावरमा बसिरहेका छन् ।
उनले गाउँपालिकाका अध्यक्ष जित नारायण मगर, उपाध्यक्ष अमृताकुमारी थारु र प्रमुख प्रशासकीय अधिकृत गिरिराज भट्टराई आएर माग सम्बोधन गर्नुपर्ने माग राखेका छन् ।
उनलाई उतार्न स्थायी प्रशासनले पहल गरे पनि अध्यक्ष र उपाध्यक्ष आएर माग सुनुवाइ नगरेसम्म नझर्ने अडान लिएका छन् । माग बेवास्ता गरे आत्मदाह गर्ने चेतावनीसमेत दिँदै आएका छन् ।
गाउँपालिका अध्यक्ष र उपाध्यक्ष भने धनकुटामा छन् । अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत नफर्केपछि वैशाखको चर्को घाममा प्रहरीहरू कुरेर बसेका छन् ।
गाउँपालिका अध्यक्ष र उपाध्यक्षले निमार्णाधीन काम रोकेर गुणस्तरीय काम गर्ने प्रतिबद्धता जनाएमात्रै आफू पोलबाट झर्ने उनको अडान छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले गाउँपालिकाका प्रमुख, उप प्रमुख र प्रशासकीय अधिकृत धनकुटाबाट नफर्किँदा समस्या भएको बताए । ‘पटक पटक फोन सम्पर्क गरे पनि उहाँहरू फर्कनु भएको छैन,’ यादवले भने ‘माझीले उहाँहरू नआएसम्म नओर्लिने अडान राख्दै आउनुभएको छ ।’
उनी नेपाली सेनाका पूर्व जवान रहेको खुलेको छ । शान्ति सेनाबाट फर्केपछि जागिर छोडेका उनका छिमेकीहरूले जानकारी बताएका छन् ।
बुढीगंगा(७ वडा कार्यालयदेखि दक्षिण जाने सडकमा रिटेनिङ वाल (पर्खाल) निर्माणको काममा उपभोक्ता समिति बनाउँदा नक्कली हस्ताक्षर गराएर आफन्तलाई समितिमा राखेको स्थानीइ समेतको आरोप छ । यता वडाध्यक्षले आरोप अस्वीकार गर्दै आएका छन् ।