भ्रष्टाचारको गन्ध आए कारवाही हुन्छ : मन्त्री मोदी

विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले भ्रष्टाचारको गन्ध मात्रै आए पनि कार्बाही गर्ने चेतावनी दिएका छन् । प्रेस सेन्टर, नेपाल काठमाडौंको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री मोदीले भने, ‘थुप्रै मन्त्रालयमा हाम्रै मन्त्रालय मातहतका कर्मचारीहरु हुनुहुन्छ, मैले सबैलाई भनेको छु, भ्रष्टचारको गन्ध मात्रै आएमा पनि कारबाही हुन्छ ।’

भ्रष्टाचारलाई निर्मूल पारी सुशासन कायम गर्नेगरी कार्यसम्पादन गर्न आफूले सबैलाई निर्देशन दिएको बताउँदै उनले भने, ‘प्रधानमन्त्रीज्युको पहिलो अभियान भनेको सुशासन हो । सामाजिक न्याय, सुशासन र विकास र समृद्धि अहिलेको सरकारको मुख्य अभियान हो । यसबाहेक अन्य कुरामा ध्यान दिएको खण्डमा सबैलाई जुनसुकै हदसम्मको कार्बाही हुन्छ । संघीय निजामती सेवा ऐन ल्याउने र सुशासन कायम गर्ने विषय नै मेरो पहिलो प्राथमिकताको विषय हो, अहिले हामी निमित्तको शासन हटाउने काममा लागेका छौँ ।’

मन्त्री मोदीले अगाडि भने, ‘मैले मन्त्रालयको नेतृत्व सम्हालेपछि हामीले स्थानीय तहमा निमित्त नदिने, जसको जहाँ दरबन्दी छ त्यहाँ फर्किनेगरी नीतिगत निर्णय गरेका छौँ । अहिले झण्डै एक सयको हाराहारीमा निमित्त हटाएका छौँ, यो क्रम जारी रहन्छ ।’

उनले कसैको सोर्सफोर्स नसुनेर बढुवा भएका उपसचिवहरुलाई स्थानीय तहमा खटाएको समेत बताए । हामीले स्थानीय तहमा पदस्थापना गरेका छौँ । सोर्सफोर्स लगाएर काठमाडौंको वरिपरी मात्रै केन्द्र बनाएर बसेका र विकट क्षेत्रमा खटाएको ठाउँमा जान रमाना नलिएकाहरुको सेवा अवधि रोक्ने समेत उनले बताए ।

आफूले दुई महिनामा सबै सरोकारवालासँग छलफल गरेर संघीय निजामती सेवा ऐन कानुन र अर्थ मन्त्रालयमा रायका लागि पठाएको बताउँदै उनले भने, ‘कुनै पनि हालतमा संघीय निजामती ऐन ल्याई छाड्ने अहिलेको सरकारको संकल्प हो, हामीले सबै पक्षसँग छलफल गरेर यो ऐन रायका लागि कानुन र अर्थ मन्त्रालयमा पठाएका छौँ, यो ऐन हामी कुनै पनि हालतमा ल्याउँछौँ ।’

मन्त्री मोदीले समाजको खराब मनोविज्ञान चिर्नका लागि प्रेस सेन्टरले अग्रमोर्चामा रहेर भूमिका निर्वाह गर्नुपर्ने बताउँदै सरकारको काम कारबाहीलाई सकारात्मक रुपमा प्रचारप्रसार गर्नका लागि यो क्षेत्रको भूमिका महत्वपूर्ण रहेको समेत बताए ।

कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्काले श्रमजीवि पत्रकारहरुको पक्षमा लागेको बताए । यस्तै, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य कुमार पौडेलले जनता र देशको पक्षमा कलम चलाउन आग्रह गरे । सोही कार्यक्रममा प्रेस सेन्टर, नेपालका अध्यक्ष विष्णुप्रसाद सापकोटाले संघीयताको मर्म अनुसार देशभर पत्रकारहरूको सगंठन निर्माण गरेको बताए । कार्यक्रममा काठमाडौँ जिल्लामा सो संगठनले एक दर्जनभन्दा बढी नगरपालिकास्तरीय समिति निर्माण गरेको काठमाडौं अध्यक्ष अजित अधिकारीले जानकारी दिए ।

शनिबार, ३० बैशाख, २०८०, दिउँसोको ०४:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर