धरान । नेपाल पत्रकार महासंघ सुनसरीले बिहीबार प्रेस वक्तव्य जारी गर्दै नगरपालिका कसैको बयान लिने कार्यालय नभएकोले त्यहाँ गएर आरोप पुष्टि गर्नु आवश्यक नभएको जनाउँदै देशमा कानुन छ र कानुनले सबैका भूमिकालाई निर्धारित गरिदिएको जनाएको छ ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसंग माग गरिएको पत्रकारहरूको सुरक्षा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति स्थानीय सरकारको प्रतिबद्धता औपचारिक रूपमा प्राप्त नभएको जनाउँदै मेयर साम्पाङले फेसबुक पेजमा दिएको सामाग्रीप्रति उक्त टिप्पणी गरेको हो । वक्तव्यमा मेयर साम्पाङलाई ‘म नै राज्य हुँ’ भन्ने भ्रमबाट मुक्त हुन आग्रह गर्दै आदेशको शैली तत्काल बन्द गरी विधि र प्रक्रियाको पालना गर्न स्मरण गराएको छ ।

महासंघले मेयर साम्पाङलाई वैशाख २५ गते ध्यानाकर्षण पत्र बुझाउँदै उपमहानगरपालिकाको लिखित प्रतिबद्धता माग गरेको थियो । ३ दिने अल्टिमेटमको दोस्रो दिन मेयर साम्पाङले फेसबुक पेजमा सम्बोधन र शीर्षक बिनाको एक पत्र राखेका थिए । महासङ्घले त्यसलाई अधिकारीक पत्र मान्न इन्कार गर्दै अल्टिमेटम सकिएको भोलिपल्ट बिहीबार वक्तव्यमार्फत दबाबमूलक कार्यक्रम पनि सार्वजनिक गरेको छ ।
वक्तव्यमा भनिएको छ ‘सार्वजनिक कार्यक्रममा आफ्ना धारणा राखेकै कारण नगर प्रमुख साम्पाङले महासंघका सुनसरी पूर्व अध्यक्ष केशव घिमिरेलाई नगरपालिकामा उपस्थित हुन सामाजिक सञ्जाल मार्फत आदेश दिने गर्नुभएको छ । फेसबुक मार्फत सार्वजनिक सामग्रीमा पनि उहाँले ‘घिमिरेलाई महासंघ मार्फत नै नगरपालिकामा झिकाई लगाएको आरोप पुष्टि गराउन भन्नुभएको छ । उहाँले बुझ्नुपर्छ – नगरपालिका कसैको बयान लिने कार्यालय होइन । त्यहाँ गएर आरोप पुष्टि गर्नु आवश्यक छैन । देशमा कानुन छ र कानुनले सबैका भूमिकालाई निर्धारित गरिदिएको छ । ‘म नै राज्य हुँ’ भन्ने भ्रमबाट मुक्त हुन आग्रह गर्दै आदेशको शैली तत्काल बन्द गर्न र कानुनको पालना गर्न हामी नगर प्रमुखलाई स्मरण गराउँछौ ।’

मेयर साम्पाङबाट उपमहानगरपालिकाको प्रतिबद्धता प्राप्त हुन नसकेको भन्दै शाखाले दबाबमूलक कार्यक्रम पनि वक्तव्यमै सार्वजनिक गरेको छ । पहिलो चरणको कार्यक्रम अनुसार बिहीबार वैशाख २८ गते प्रेस विज्ञप्ति जारी गर्ने, शुक्रवार वैशाख २९ गते जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रालय समक्ष ज्ञापन पत्र बुझाउने कार्यक्रम छ ।

यस्तै वैशाख ३० गते शनिवार सुनसरीबाट प्रकाशित पत्रपत्रिका र अनलाइन पोर्टलहरूमा एउटै नारा प्रकाशन÷प्रसारण गर्न आग्रह गरिने छ । वैशाख ३१ गते आइतबार सुनसरीका पत्रकारहरूले एउटै नारा फेसबुक स्ट्याटसमा लेख्ने छन् । जेठ १ गते धरानमा मौन जुलुस प्रदर्शन गरिने छ । जेठ २ गते धरानमै पूर्व नगर प्रमुखहरूसँग अन्तरक्रिया गरिने छ ।

यसैबीच नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिले पनि बिहीबार विज्ञप्ति जारी गर्दै नगर प्रमुखको प्रेस र पत्रकारविरोधी गतिविधिको निन्दा गरेको छ । महासचिव विवेक गौतमद्वारा जारी विज्ञप्तिमा आफ्ना प्रेस विरोधी हर्कत तत्काल सच्याउन माग गरिएको छ ।

यसैबीच धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले पटक पटक फोन गरेर आफूलाई हैरान गरेपछि असुरक्षित महसुस गरी आफूले मानव अधिकार आयोगको कोशी प्रदेश कार्यालयमा उजुरी दिएको पत्रकार महासंघ सुनसरीको पूर्व सभापति केशव घिमिरेले बताएका छन् ।उनको उजुरीको विषयमा आयोगले सुरु गरेको अनुसन्धान कार्यमा सहयोग गर्न नेपाल पत्रकार महासंघ सुनसरीलाई पत्राचार गरेको छ । विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने क्रममा वैशाख २० गते पूर्व अध्यक्ष घिमिरेले व्यक्त गरेको विचारलाई लिएर मेयर साम्पाङले पहिलो पटक नगर प्रहरीलाई फोन गर्न लगाई ‘तपाईँले बोल्नु भएको बारेमा स्पष्टीकरण दिन मेयर साब समक्ष उपस्थित हुन’ खबर गरेका थिए ।