विराटनगर । तेह्रथुमको छथर गाउँपालिका वडा नम्बर ३ पंचकन्यामा आगलागीमा परेर आमा छोराको मृत्यु भएको छ । सोही वडाकी ५५ बर्सिया दिल कुमारी भुजेल र उनकै छोरा १६ वर्षका कुमार भुजेलको निधन भएको इलाका प्रहरी कार्यालय वसन्तपुरका प्रहरी निरीक्षक हेमराज ओलीले बताए ।
छथर गाउँपालिका वडा नम्बर ३ पंचकन्याको गढी सल्लेरी सामुदायिक बनमा बुधवार देखी नै आगो लागेको थियो । आगो गाउमा पस्न थालेपछि आमाछोरा नै आगो निभाउन खटेका थिए ।
‘आगो नियन्त्रण भन्दा बाहिर गएपछि उनीहरूले बच्नका लागि नजिकैको खोल्सीमा आमा छोरा नै हाम फालेको हुन सक्ने प्रारम्भिक अनुमान गरेका छौ,’ प्रहरी निरीक्षक ओलीले भने ‘हामीले पनि मान्छे हराएको भनेर खोजी गर्दा आमा छोरा एकै ठाउँमा जलेको अवस्थामा भेट्यौ ।’
आगलागी बाट ४ वटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । वडा नम्बर ३ मा एक घर र ४ नम्बरमा थप तिन घर जलेर नष्ट भएको तेह्रथुम प्रहरीले जनाएको छ । अगो निभाउने क्रममा ४ जना घाइत भएकोमा तिन जना उपचार पछि घर फर्केको र एक जनाको धनकुटाका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
गाउँमा पसेको आगलागी नियन्त्रणमा आए पनि बनमा आगलागी भइरहेको प्रहरीले जनाएको छ । क्षतिको विवरण भने आई नसकेको प्रहरीले जनाएको छ ।